अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:३९ | Colorodo: 14:54

प्रतिकूल माैसमका कारण पाेखरामा उडान स्थगित, एअर चाइनाकाे विमान ‘डाइभर्ट’

बिआरटीनेपाल २०८१ भदौ ५ गते ४:४६ मा प्रकाशित

प्रतिकूल मौसमका कारण देशभरका विमानस्थलमा उडान प्रभावित भएको छ । खराब मौसम तथा कम ‘भिजिबिलिटी’ का कारण आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार निरन्तरको वर्षाले केही उडान प्रभावित भएका छन् । मौसम खराब रहेकाले भिजिबिलिटी कमजोर हुँदा पोखरामा उडान स्थगित गरिएको छ भने जनकपुर र सिमरा विमानस्थलमा समयमा उडान हुन सकेका छैनन् ।

अन्तर्राष्ट्रियतर्फ एअर चाइनाको विमान ‘डाइभर्ट’ भएको छ । बिहान १० बजेर ५५ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने तालिका रहेको याे विमान खराब मौसमका कारण डाइभर्ट भएको हो । अन्तर्राष्ट्रिय उडानका अन्य विमान केहीबेर ‘होल्ड’ भए पनि अहिले अवतरण हुन थालेका विमानस्थलका महाप्रबन्धक निरौलाले जानकारी दिनुभयो ।

बुद्ध एअरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णका अनुसार खराब मौसमका कारण पोखरा विमानस्थलमा उडान स्थगित गरिएको छ । भरतपुर विमानस्थलमा भिजिबिलिटी कम हुँदा उडान हुन सकेको छैन । सुर्खेत विमानस्थलमा खराब मौसमका कारण बुद्ध एअरको विमान आज बिहान नेपालगञ्ज डाइभर्ट भएको थियो । मौसमकै कारण हिजाे पनि पोखरा विमानस्थलको उडान प्रभावित भएको थियो । अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा सरदर ठाउँकाे केही उत्तर दिशातर्फ रहेकाले देशभर आंशिकदेखि साधारणतया बदली रहेको जनाएको छ ।

कोशी, गण्डकी, लुम्बिनी र सूदुरपश्चिम प्रदेशका केही ठाउँ तथा बाँकी प्रदेशका थोरै ठाउँमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा ठूलाे वर्षाको सम्भावना रहेको महाशाखाले पूर्वानुमान गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू