उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्टार्टअप बिजनेसलाई अघि बढाउन सबै प्रकारको सहयोग उपलब्ध गराउन सरकार तत्पर रहेको बताउनुभएको छ ।बुधबार काठमाडौंमा स्टार्टअप नेसन, २०३० कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले सबै सिर्जनशिल युवालाई स्टार्टअप बिजनेसका माध्यमबाट राष्ट्रिय अर्थतन्त्रमा योगदान दिन आग्रह गर्नुभयो । उहाँले युवाहरुलाई देशभित्र भविष्य खोज्न, राष्ट्र निर्माणको वाहक बनेर देशभित्रै रहेर योगदान गर्नका लागि सबैसँग आग्रह गर्नुभयो ।
अर्थमन्त्री पौडेलले विनियोजित बजेटलाई अधिकतम मात्रामा सही सदुपयोग गर्नका निम्ति अग्रसर हुनका निम्ति आग्रह गर्नुभयो । उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नेतृत्व सम्हालेको छोटो समयमै जनतामा केही हुन्छ भन्ने आशा जागृत भएको जिकिर गर्नुभयो । अर्थमन्त्री पौडेलले अर्थतन्त्रका क्षेत्रमा रहेका समस्याहरु एक/एक गरेर केलाउँदै, समाधान गर्दै, उत्पादन वृद्धि, रोजगारी सिर्जना र समग्र मागको बिस्तार, व्यापार घाटाको अन्त्य लगायतका गतिविधिद्वारा अर्थतन्त्रलाई सबल बनाउने बताउनुभयो । उपप्रधानमन्त्री पौडेलले अर्थतन्त्रका केही सूचकहरु सकारात्मक बन्दै गएको पनि बताउनुभयो ।
अर्थमन्त्री पौडेलले स्टार्टअप उद्यममा शुरुमा सफलता भन्दा असफलता बढी हुने बताउनुभयो । उहाँले स्टार्टअपका लागि आवश्यक कानूनी, संरचनागत प्रवन्ध समन्वयात्मक रुपमा अघि बढाए सफल बनाउने बताउनुभयो । उहाँले सिर्जनाशिल युवालाई उत्पादन, रोजगारीमा आवद्ध गर्नसके मात्रै देश समृद्ध बन्ने बताउनुभयो ।