अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:५२ | Colorodo: 15:07

बचपन-अनुभूतिको एकादेश भयो !

रमा दुलाल २०८१ भदौ ४ गते २२:५८ मा प्रकाशित

भन्छन्, बचपन स्वर्णिम हुन्छ,
भन्छन्, बचपन मूल्यवान् हुन्छ,
म भन्छु, बचपन सम्झनामा हुन्छ,
यसैले त,
आज बचपन स्मृतिमा हाँस्छ ।

ती साँगुरा गल्ली अनि ती वृक्षहरू
ती लहरा अनि ती कलकल झरनाहरू
डन्डी-बियो र तेल-कासाका खेलहरू
बचपन- मुटुको पन्ना पन्नामा लुक्छन्
बचपन- अबोधको बोधमा खेल्छन्!!

थिएनन्- अग्ला घर अनि पर्खालहरू,
थिएनन्- इच्छा अनि आकाङ्क्षाहरू,
यादहरूको साङ्लोमा बेरिँदै जाँदा
थिएनन्- भविष्यका कुनै कल्पनाहरू!!

बचपन- हाँसो र रुवाइको संगम थियो
बचपन- लुकी-लुकी गट्टा खेल्नुको आनन्द थियो
बचपन- खुल्ला आकाश र फराकिलो फाँट थियो
बचपन- आज अनुभूतिको एकादेश भयो!!