अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:०४ | Colorodo: 13:19

भदौ ७ गते गेहेन्द्र धिमाल फाउन्डेसनको ‘अ नाइट टु रिमेम्बर’

बिआरटीनेपाल २०८१ भदौ ४ गते ९:०५ मा प्रकाशित

काठमाडौँ– गेहेन्द्र धिमाल फाउण्डसेनको एउटा महत्त्वाकाङ्क्षी कार्यक्रम ‘अ नाइट टु रिमेम्बर’ (A Night to Remember) आगामी भदौ ७ गते (अगस्ट २३, २०२४) का दिन आयोजना हुने भएको छ । काठमाडौँका ठमेलस्थित क्लब टेन एक्समा यो कार्यक्रम आयोजना हुने फाउण्डेसनले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

आमन्त्रित पाहुनाहरूले मात्र सहभागिता जनाउने यो विशेष कार्यक्रममा साङ्गीतिक कविता वाचनका प्रस्तुतिहरु रहने छन्, जहाँ कला र साहित्यका अनुरागीहरूसहित विभिन्न क्षेत्रका सेलिब्रेटीदेखि कुटनीटिक नियोगका वरिष्ठ व्यक्तित्वहरूको सहभागिता रहने छ । कार्यक्रममा कलाकार, खेलाडी, चित्रकार, साहित्यकार, सङ्गीतकर्मी, टेलिभिजनकर्मी आदि व्यक्तित्वहरूको सहभागिता रहने छ ।

यो विशेष कार्यक्रम क्लियर समुदायका मानिसहरूप्रति समर्पित हुनेछ, जसले आफ्ना भावनाहरू व्यक्त गर्न असहज महसुस गर्दै आइरहेको पृष्ठभूमिमा ती इच्छाहरू र भावनाहरूलाई व्यक्त गर्नका लागि ‘अ नाइट टु रिमेम्बर’ एउटा उत्कृष्ट प्लेटफर्मको रूपमा रहने छ । यो कार्यक्रमले एलजिबिटिक्यूआईए प्लस समुदायका लागि मानव अधिकार तथा क्लियर अधिकारलाई प्राथमिकता दिएको छ ।

कार्यक्रमका लागि आयोजक संस्थाले झन्डै एक महिनाको समय निर्धारण गरेर कविताहरू आह्वान गरेको थियो । त्यस क्रममा ठुलो सङ्ख्यामा कविताहरू प्राप्त भएको आयोजकको भनाइ छ । कार्यक्रमका लागि निर्धारित निर्णायक मण्डलले त्यसरी प्राप्त कविताहरूमध्ये सर्वोत्कृष्ट १० वटा कविताहरू छनोट गरिएका छन् । त्यसरी छनौट भएका कविताहरू अ नाइट टू रिमेम्बर कार्यक्रममा साङ्गीतिक रूपमा सम्बन्धित कविताका कविहरूले नै वाचन गर्नेछन् ।

यो विशेष समारोहका लागि आयोजक संस्थाले वरिष्ठ अभिनेत्री गौरी मल्ल तथा कवि विप्लव प्रतीकलाई निर्णायकको रूपमा प्रस्तुत गरेको छ । निर्णायक मण्डलले अत्यधिक प्रस्तुतिहरूमध्ये बाट उत्कृष्ट १० वटा कविताहरू छनोट गरेको छ । अ नाइट टू रिमेम्बरमा प्रस्तुत हुने कविहरूमा अनु शाही ठकुरी, रुपेश भट्टराई, स्यामी, वर्षा भण्डारी, सन्दीप श्रेष्ठ, नवीन कार्की, सुदिप वाग्ले, आर्य खरेल, अच्युत पौडेल तथा विराट विजय ओझा रहेका छन् । समारोहमा गौरी मल्ल तथा विप्लव प्रतिकले पनि आफ्नो प्रस्तुति दिनेछन् ।

काठमाडौँस्थित अमेरिकी राजदूतावास तथा आईएम स्वेडिस डेभ्लपमेन्ट पार्टनरको सहयोगमा आयोजना हुने यो कार्यक्रममा द पोइट आइडल क्रिएटिभली पार्टनरको रूपमा रहेको छ । यो कार्यक्रमले क्लियर कलाकारहरू तथा अन्य सहभागीलाई उनीहरूका कविता वाचन गर्ने अवसर प्रदान गर्नेछ, त्यस क्रममा उनीहरूले अभूतपूर्व रूपमा आफ्ना भावनाहरूसमेत व्यक्त गर्नेछन् ।

यो कार्यक्रममा फोटोग्राफीमा आधारित कला पत्रिका मोर्फ म्यागेजिन तथा कलाकर्मी डटकम मिडिया पार्टनरको रूपमा रहेका छन् । लोकेसन नेपाल प्रालि, ट्रेक्मिन मिडिया तथा प्रजेन्टर्स एसोसिएसन नेपालले यो कार्यक्रममा प्रोडक्सन पार्टनरको रूपमा सहभागिता जनाएका छन् ।

आयोजक गेहेन्द्र धिमाल फाउन्डेसनका अध्यक्ष गौतम धिमाल भन्छन्– ‘हरेकलाई आफ्नो कथा व्यक्त गर्ने तथा कलामार्फत जोडिने स्थान उपलब्ध गराउन पाउँदा हामी खुसी छौँ । अ नाइट टु रिमेम्बर भनेको सृजनात्मकता तथा समावेशीकरणका विविध आवाजहरूलाई अर्थपूर्ण तरिकाले सँगै ल्याउने एउटा माध्यमको रूपमा लिएका छौँ ।’ आयोजक संस्थाका प्रमुख गौतम धिमाल अवार्ड विजेता फोटोग्राफरका साथै सफल फिल्म निर्मातासमेत हुन् । परोपकारी व्यक्तित्वको समेत छवि बनाएका धिमालले विश्वका प्रतिष्ठित स्टुडियो तथा क्लाइन्टका लागि काम गर्दै आइरहेका छन् ।

‘अ नाइट टु रिमेम्बर’ मा सहकार्य गरिरहेको काठमाडौँस्थित अमेरिकी राजदूतावासका सार्वजनिक मामिला प्रमुख (Public Affairs Chief) गेरेट ई.विल्कसर्न भन्छन्– ‘अमेरिकी दूतावासले यो कार्यक्रममा सहकार्य गर्न पाउँदा गौरवान्वित महसुस गरिरहेको छ, जसले अभिव्यक्ति स्वतन्त्रता तथा समावेशीकरणलाई महत्त्व दिने हाम्रो प्रतिविद्धतालाई थप उजागर गर्छ । एलजिबिटिक्यू प्लस मानव अधिकारी हो । त्यसैले उनीहरूको मानवता तथा वास्तविक आवाजलाई पहिचान गर्ने अवसरहरू सिर्जना गर्ने यस्ता कार्यक्रमको महत्त्व अत्यधिक छ ।’

गेहन्द्र धिमाल फाउन्डेसनका सचिव सबिन बस्नेत भन्छन्– ‘यो कार्यक्रमले नेपालको कला तथा साहित्यको प्रवर्द्धनमा हाम्रो समर्पणलाई प्रतिविम्ब गर्दछ । हामी यो रातलाई यसमा आबद्ध सबै जनाका लागि वास्तवमै अविस्मरणीय बनाउन उत्साहित छौँ ।’

कार्यक्रममा सहभागिता जनाउने दर्शकले कविताहरूको लाइभ प्रस्तुतिबाट मनोरञ्जन लिनुका साथै आयोजक संस्थाले निर्धारण गरेको थिम तथा भावनाहरूलाई पनि नजिकबाट नियाल्ने अवसर पाउने छन् । कार्यक्रमका बारेमा थप जानकारीका लागि कृपया https://www.dhimal.org/ भ्रमण गर्न सकिने छ अथवा गेहेन्द्र धिमाल फाउण्डेनसको इमेल ठेगाना mail@dhimal.org अथवा फोन नम्बर 9851025835 मा सम्पर्क गर्न सकिने छ ।

प्रतिक्रिया