अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:४६ | Colorodo: 17:01

कानूनका छिद्र हेरेर समृद्धिलाई टाढा पुर्‍याउने काम क्षम्य हुँदैन : मन्त्री खड्का

बिआरटीनेपाल २०८१ भदौ ३ गते ५:२९ मा प्रकाशित

उर्जा, जलश्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले कानूनका छिद्र हेरेर दुःख दिने, खेद्ने र समृद्धिलाई टाढा पुर्‍याउने काम क्षम्य नहुने बताउनुभएको छ ।आइतवार काठमाडौंमा नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको दिगो आर्थिक विकासका लागि नीतिगत सुधार विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री खड्काले यस्तो बताउनुभएको हो । उहाँले राजश्व चुहावट, ठगी, नोक्शानी हुनेकुरामा ध्यान दिन जरुरी रहेको बताउनुभयो ।

उर्जामन्त्री खड्काले अहिले दुई ठूला राजनीतिक दल मिलेकाले निजी क्षेत्रका समस्याहरु समाधान गर्ने र मुलकमा समृद्धि कायम हुनसक्ने बताउनुभयो । उहाँले अहिले देश विकासका लागि ठूलो अवसर रहेको भन्दै यसलाई पूर्ण रुपमा सदुपयोग गर्नुपर्ने बताउनुभयो । उहाँले जलश्रोत विधेयक फिर्ता लिन माग गरिएको भन्दै अब विधेयक फिर्ता लिने भन्दा पनि आवश्यक नीतिगत सुधार गरेर पास गर्ने बताउनुभयो ।

मन्त्री खड्काले भन्नुभयो, ‘म उर्जा मन्त्रालय सम्हाल्दै गर्दा विद्युत विधेयक, जलश्रोत विधेयक पनि आइरहेको छ । यसलाई पनि रोकेर केही व्यवसायी, निजी क्षेत्रका साथीहरुले यो विधेयक फिर्ता लिनुप¥यो भन्नुभएको छ । फिर्ता लिने होइन । यसमा आवश्यक, चाहिँदो नीतिगत सुधार गरेर चाँडो पास गर्नुपर्छ । फिर्ता लिँदा के हुँदो रहेछ भने अर्को एक दुई वर्ष नहुने रहेछ । कानूनका छिद्र हेरेर दुःख दिने, खेद्ने र समृद्धिलाई टाढा पुर्‍याउने काम हुन सक्दैन । त्यो क्षम्य हुँदैन । चुहावट, ठगी, नोक्सानी हुनेकुरामा ध्यान दिनुपर्छ । त्यो नोक्सानी तपाईंहरुलाई पनि हो, मुलुकलाई पनि हो ।’

मन्त्री खड्काले निजी क्षेत्रको सहयोग बिना मुलुकको समृद्धि सम्भव नरहेको बताउनुभयो । उहाँले सरकारले नीतिको सुधार गर्ने र व्यवसायीहरुले आफ्ना कमजोरी हटाएर मुलुक निर्माणमा लाग्नुपर्ने बताउनुभयो । उहाँले सरकारले खोलैपिच्छेका निजी कम्पनी दर्ता गरेको तर वर्षौंदेखि अलपत्र रहेको बताउनुभयो । सरकारले कम्पनी बनाएर व्यापार गर्ने भए निजी क्षेत्र किन चाहियो ? भन्दै प्रश्न गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू