प्रधानमन्त्री केपी शर्मा ओलीले देशको लागि काम गरिरहेका व्यक्तिहरुलाई अपमान गर्न संगठित प्रयास भइरहेको बताउनुभएको छ । पार्टी निकट खेलकुद महासंघको केन्द्रीय कमिटिको बैठकलाई ललितपुरमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देश विकासमा योगदान नै नभएका केही व्यक्तिहरुले देशको लागि काम गरिरहेका व्यक्तिहरुलाई अपमान गर्न संगठित प्रयास गरिरहेको बताउनुभएको हो ।
समाजलाई अनुशासित र गतिशील बनाउन खेलकुद महासंघले यस प्रकारका गतिविधिलाई चनाखो भएर हेर्न आवश्यक रहेको प्रधानमन्त्रीले बताउनुभयो। कार्यक्रममा प्रधानमन्त्री ओलीले आफू नेतृत्वको सरकार भ्रष्टाचार नियन्त्रणको लागि गठन भएको दाबी गर्नुभयो । भ्रष्टाचार नियन्त्रणको नाममा सरकारले कुनै स्टन्टबाजी नगर्ने उल्लेख गर्दै उहाँले विगतको सरकारको जस्तो स्टन्टबाजी गरेर भ्रष्टाचार छोप्ने काम आफूले नगर्ने बताउनुभयो । सरकारको प्राथमिकता भ्रष्टाचार नियन्त्रण गर्न खोजबिन गर्ने र कारबाही गर्ने रहेको ओलीले बताउनुभयो । भ्रष्टाचारविरुद्धको शून्य सहनशीलताको आफ्नो नीति समय क्रमसँगै देखिने उल्लेख गर्दै उहाँले शून्य सहनशीलताको नीति अवलम्वन गर्दा कसैलाई जोगाउने र कसैलाई फसाउने नीति नलिने स्पष्ट पार्नुभयो ।
प्रधानमन्त्री ओलीले सरकार कसैको विरुद्धमा नभएको र कानुनविरुद्ध कसैले काम गरे सरकारले कदम चाल्ने प्रतिवद्धता जनाउनुभयो । लोकतन्त्र अनियन्त्रित नहुने भन्दै प्रधानमन्त्री ओलीले अनुशासित समाजको लागि कानुन चाहिनेमा जोड दिनुभएको छ । प्रधानमन्त्री ओलीले सरकारले खेल क्षेत्रलाई महत्वको साथ हेरेको पनि बताउनुभयो। सरकारले खेल क्षेत्रलाई आवश्यक सहयोग सबै उपलब्ध गराउने उहाँको भनाई छ ।