सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारबाट बाहिरिनुपरेपछि नेकपा(माओवादी केन्द्र)ले प्रतिगमनको हल्ला चलाएको बताउनुभएको छ । शनिबार काठमाडौंमा तमु सञ्चारकर्मी संघ नेपालले आयोजना गरेको कार्यक्रममा उहाँले नेपाली कांग्रेस र नेकपा (एमाले) मिल्दा प्रतिगमन हुन्छ भन्ने हल्ला चलाएर माओवादीले सरकारबाट हट्नुपर्दाको पीडा पोखेको बताउनुभएको हो । पटक–पटक सरकार परिवर्तनको प्रयोग भएपछि मुलुकमा स्थिरता कायम गर्न ठूला दुई दल मिल्नुपरेको उहाँले जिकिर गर्नुभयो । उहाँले मुलुकको परिवर्तनमा सबै दलको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभयो । उपलब्धि मास्ने काम कसैले नगर्ने गुरुङले स्पष्ट पार्नुभयो ।
गुरुङले कुनै दलको स्पष्ट बहुमत नआउँदा मुलुकमा देखिएको अस्थिरता अन्त्य गर्न निर्वाचन प्रणाली परिवर्तनको बहस चल्नु स्वाभाविक भएको तर्क गर्नुभयो । यसैका कारण कोही आत्तिनुपर्ने अवस्था नरहेको उहाँले बताउनुभयो । आवश्यकताअनुसार संविधान संशोधन गर्नुपर्दा सबैको सहमतिका साथ अघि बढ्ने उहाँले उल्लेख गर्नुभयो । मन्त्री गुरुङले संविधानमा सबैको अधिकारका विषय रहेता पनि यसलाई व्यवहारमा लागु गर्न नीति, कानुन आवश्यक रहेको बताउनुभयो । यसतर्फ सबैले ध्यान दिनुपर्ने उहाँको भनाइ थियो ।