अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:४८ | Colorodo: 20:03

डेङ्गी नियन्त्रण र रोकथामका लागि स्वास्थ्य मन्त्रालयले शुरू गर्‍याे कार्यालय सरसफाइ अभियान

बिआरटीनेपाल २०८१ साउन ३२ गते ५:३८ मा प्रकाशित

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेङ्गी सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि कार्यालय सरसफाइ अभियान शुरू गरेको छ ।मन्त्रालयले ‘स्वस्थ नेपाल र निरोगी नेपाली’ का लागि हप्ताको एक दिन कार्यालय÷घर सरसफाइ अभियान शुरू गरेको हो । निरोगी नेपाल बनाउने सङ्कल्प पूरा गर्नका लागि मन्त्रालयले हरेक हप्ताको एक दिन शुक्रवार घर/कार्यालय सरसफाइ गर्न एक घण्टाको समय छुट्याउन पनि आमनागरिकसँग आग्रह गरेको छ ।

अभियानअन्तर्गत आज बिहान १० बजेदेखि ११ बजेसम्म एक घण्टाको समय स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलसहित मन्त्रालयका कर्मचारीहरू मिलेर मन्त्रालय परिसरमा सरसफाइ गरेका छन् । मन्त्रालयबाट शुरू गरिएको अभियान शहर हुँदै गाउँसम्म नै पुग्ने र यसले भविष्यका लागि समेत स्वस्थ रहन मद्दत पुर्‍याउने लक्ष्य मन्त्रालयको छ ।

अभियानका बारेमा जानकारी दिँदै मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले विगतका वर्षहरूलाई हेर्दा यस वर्ष सङ्ख्यात्मक रूपमा डेङ्गी सङ्क्रमणको सङ्ख्या कम देखिए पनि भदौ र असोज महिनामा जोखिम बढी हुने भएकाले सरसफाइ अभियान शुरू गरेको बताउनुभयो । उहाँले पानी जम्मा हुने भाँडा घोप्ट्याउन, ओसिलो ठाउँ हुन नदिन सुझाव दिनुभयो । भदौ ६ गते सम्बन्धित समिति र सात प्रदेशकै स्वास्थ्यमन्त्रीसँग बैठक राखेर सातै प्रदेशमा अभियान सञ्चालन गर्नका लागि आह्वान गर्ने पनि प्रवक्ता बुढाथोकीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू