अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:१० | Colorodo: 21:25

जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास केन्द्रलाई ३ सय शय्याकाे बनाउने प्रक्रिया शुरू

बिआरटीनेपाल २०८१ साउन ३२ गते ५:३५ मा प्रकाशित

तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा रहेको जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रलाई तीन सय शय्याकाे बनाउने प्रक्रिया शुरू भएको छ ।गएको साउन २७ गते स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले अस्पतालमा शय्या थप गर्ने घोषणा गर्नुभएको थियो । अस्पतालका प्रमुख डा. रामकुमार श्रेष्ठले शहरी आवास तथा भवन निर्माण विभागबाट प्राप्त अस्पतालमा श्वासप्रश्वाससम्बन्धी उपचार सेवाका लागि तीन सय शय्याको विस्तृत परियाेजना प्रतिवेदन (डीपीआर) स्वास्थ्यमन्त्री पौडेललाई हस्तान्तरण गरिसक्नुभएको छ । डीपीआरमा साढे पाँच अर्ब रुपैयाँ लागतमा निर्माण सम्पन्न हुने उल्लेख छ ।

मन्त्री पौडेलले डीपीआरअनुसारको निर्माण कार्य अघि बढाउन भारतीय दूतावाससमक्ष अनुरोध गर्नुभएको छ । अनुरोधपछि भारतीय दूतावासको तर्फबाट सकारात्मक जवाफ प्राप्त भएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ ।पूर्वप्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालाको स्मृतिमा जीपी कोइराला श्वासप्रश्वास उपचार केन्द्र स्थापना भएको हो । यो श्वासप्रश्वाससम्बन्धी देशकै एकमात्र विशिष्टीकृत अस्पताल हो । अस्पतालमा अहिले ५० जनरल वार्ड छन् ।

केन्द्रमा तनहुँ, कास्की, गोरखा, लमजुङ, नवलपुरलगायत जिल्लाबाट दैनिक तीन सय जनाको हाराहारीमा बिरामी उपचारका लागि पुग्ने गरेका छन् । तर शय्या अभावमा श्वासप्रश्वासका बिरामीको उपचार सहजरूपमा हुन नसकिरहेको गुनासो छ । अस्पतालले थप सात सय शय्यासहित एक हजार शय्या बनाउने दीर्घकालीन लक्ष्य राखेको छ । साविक सेतीगङ्गा सामुदायिक अस्पतालका रूपमा सञ्चालन हुँदै आएकोमा आर्थिक अभावले निरन्तरता दिन नसकेपछि २०७३ सालमा अस्पताल सरकारलाई हस्तान्तरण गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू