अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:०४ | Colorodo: 13:19

विम्बचेतका बौद्धिक कवि कणाद महर्षि

गोपी मैनाली २०८१ साउन ३१ गते ९:३० मा प्रकाशित

तीसको दशकदेखि नेपाली काव्य क्षेत्रमा प्रकाशित हुँदै आएका कवि कणाद महर्षि भीडभाड र प्रचार प्रायोजनबाट अलि परै रहेका स्रष्टा हुन् । ‘खै हाम्रो दौरा सुरुवाल’ (२०२२ तिर) बाट कविता यात्रामा प्रवेश गरेका कणाद कृतिका रुपमा गुफा (२०३१), पग्लेका लाभाहरु (२०३४), आजको मान्छेको कविता (संयुक्त लेखन, २०४५), भतेर र आँखाहरु (२०५०), घाउमा हरिभक्त कटुवाल (२०५८), दृष्टिको यात्रा (२०७२) र कोखास्था (२०८०) मा प्रकाशित भएका छन् । मूलतः कवि भूमिका बनाएका, कविकै रुपमा चिनिएका उनका ‘कणादका कथाहरु’ (२०७९) कथा सङ्ग्रह र फुटकर कथा र कविताहरु पनि प्रकाशित छन् ।

तिसको दशक नेपाली काव्यका लागि उर्वर समय थियो । त्यो समय निर्देशित व्यवस्थाले राज गरिरहेकोले निजी स्वतन्त्रता कैद थियो । सर्जक एउटा वौद्धिकचेत भएको प्राणी भएकोले यस समयमा कविहरु विद्रोह, व्यङ्ग्य र अमूर्त अभिव्यक्तिमा थिए । सार्वजनिक वौद्धिक व्यक्तिको मस्तिष्कबाट जागरणको शुरु हुन्छ । उनिहरुको सोच, शब्द र अभिव्यक्ति जागरणका ऊर्जाका रुपमा सर्वसाधारणसम्म पुुग्छन् । केही कविहरु वर्गीय चेतलाई अभिव्यक्तिका माध्यममा रहे भने केही चाँहि बौद्धिक अभिव्यक्तिमा रहे । कणाद महर्षि दोस्रो प्रवृत्तिबाट तीसको दशकमा उदाएका थिए ।

तीसको दशक छापा माध्यमको सीमितताको समय, प्रसारणका माध्यमहरु बहुत कम भएको र आमसञ्चारका माध्यमहरु सर्वसाधारणमा पुुगिनसकेको समय थियो । कवि, कलाकार, बौद्धिक व्यक्तित्वहरु आफ्ना माध्यममा सर्बसाधारणसम्म पुुगेर चेतनाको विउ रोप्थे । कणाद महर्षि यही समयमा शब्दको जागरण मार्फत काव्ययात्रामा लागेका कवि हुन् । अघिल्लो पुस्ताका कवि–स्रष्टाहरु कि भावनाका स्वेरकल्पनामा बग्थे कि शब्द लालित्यमा रमाउथे । केही त सत्ता र सम्भ्रान्तताका स्वरमा स्वर मिलाएर पनि रमाएका थिए । समाज र सर्वसाधारणसम्म थोरैमात्र पुुग्थे, युवाहरु पुुग्थे । त्यसो त युुवाहरु मात्र समयचेतमा पुुगेर लेख्न तम्सिए भन्न खोजिएको होइन । कति कविहरु युवाबयका भावना, प्रेम–प्रणय, मनका कोमलता र उहापोहलाई बौद्धिक रुपमा अभिव्यक्त गर्दछन्, कतिपय भने बौद्धिकताका साथ विद्रोह र समयचेतलाई बोकेर शब्दमा पोखिन्छन् । स्रष्टा समयसँगै आफ्नो जीवनको यात्रा गर्छ । सयमक्रममा चेत वैशिष्ट्य विकास गर्दै जान्छन् । यसका केही अपवाद थिए कणाद महर्षि ।

तिसको दशक नेपाली कवितामा प्रवृत्ति र प्रयोगका दृष्टिमा पनि संख्या र गुुणवत्ता दुवै भित्रिन पुुग्यो । जगराण् र प्रणयमध्ये एक स्वरसन्धानमा ठूलो हूल कविता लेख्न तम्सियो । कति समयक्रममा उतै हराए, कति खारिएर जाजल्व कविमा स्थापित भए । विमल निभा, विमल कोइराला, लव गाउले, धीरेन्द्र मल्ल, कृष्णभूूषण बल, विधान आचार्य, अशेष मल्ल, श्रीहरि फुुयाल, श्यामल, पूर्ण विराम, महेस प्रसाई, विजय बजिमय, उषा शेरचन, दिनेश अधिकारी, विनोद गौचन, विधान आचार्य, गिरिराज आचार्य, ईश्वरचन्द्र ज्ञवाली, अग्निशिखा, कुन्ता शर्मा, विनोद अश्रुमाली, सरुभक्त, गगन विरही, बानिरा गिरी, लक्ष्मी माली, नवराज कार्की, उपेन्द्र श्रेष्ठ, स्नेह सायमी, भूपाल राई, विनोद गौचन, पवन आलोक, कलानिधि दाहाल, कणाद महर्षिहरु यस समयका प्रतिनिधि कविहरु थिए ।

कणाद महर्षिको कविता प्रवृत्तिलाई उनको पहिलो किवता ‘खै हाम्रो दौरा सुरुवाल कविता’ ले नै सङ्केत गरेको थियो कि उनी भावना भन्दा बौद्धिकता र विरोध र व्यङ्ग्यमा लेख्ने कवि हुन् । पहिलो कविताको समय कवि किशोरवावस्थामा थिए, जव कृतिमा प्रकाशित हुन थाले युवा वयमा थिए । तिसको दशकको काव्य प्रवृत्तिमा उनी प्रवृत्त हुन थाले । पहिलो कविताको प्रवृत्तिले गाढा रुप पाउन थाल्यो । तिसको दशकमा प्रकाशित ‘गुफा’ र ‘पग्लिएका लाभाहरु’ भित्र समेटिएका कविताहरु विरोध र विचारका कविता थिए । संरचनामा छोटा तर विचार र विरोधमा गहिरा थिए । उनको समग्र काव्ययात्रामा यही प्रवृत्तिले निरन्तरता पाइरहेको छ ।

पहिला कणाद महर्षिको व्यङ्ग्य वृत्तिको थोरै चर्चा गरौं । हुनतः धेरै स्रष्टाहरु व्यङ्ग्य गर्न रुचाउछन् । स्रष्टाहरु सत्ता र शासनको स्थायी विरोधी हो भन्ने गरिन्छ । विधागत रुपमा व्यङ्ग्यको अभिव्यक्ति संरचना भिन्न हुन्छ तर व्यङ्ग्यसार उस्तै हुन्छ । व्यङ्ग्यले समाजलाई, व्यक्तिलाई, अधिकारीलाई, जिम्मेवारी भएकालाई त्यहाका विसङ्गतिलाई घोेच्ने गर्छ । छुपे छिपाइएको र व्यवहारमा गढेर रहेका विसङ्गति–विकारलाई उदिनिदिन्छ र सुधारको मार्ग द्योतन गर्छ । कणादका कविता शुरुदेखिनै व्यङ्ग्यवाण हान्न उद्यत छन् । तर त्यो व्यङ्ग्य व्यक्ति, समाज र समग्रहलाई छ । कहिले त त्यो व्यङ्ग्य आफैप्रति पनि लक्षित हुन्छ । जस्तो कि उनले ‘एउटा परिधि अलिखित शब्दहरु’ मा समग्र तहको व्यङ्ग्य गरेका छन् ः

‘दिनहरु, महिनाहरु, गतेहरु वुुझ्छौ
पहाडहरु, शहरहरु, मैदानहरु वुुभ्mछौ
वुुझ्दा–वुुझ्दै अनेकहरु वुुझ्छौ
वुुझेर सम्झदा एक पनि वुुझ्दैनौं’ । (पग्लेका लाभाहरु÷४८)

‘पग्लेका लाभाहरु’ व्यङ्ग्य विरोधका लाभा हुन् । त्यो युवा वयको कवि दृष्टि, सङ्क्षेत्र र प्रवृत्ति पनि हो, जुन शुरुका दिनका कवितामा द¥िहला छन्, दुुई दशकपछि छापिएका ‘भतेर र आँखाहरु’ झण्डै तिन दशकपछिको ‘घाउमा कवि हरिभक्त कटुवाल’ र चार दशक पछिको ‘दृष्टिको यात्रा’ मा उही घनत्वमा रहन्छन् । कवि ‘वेश्या हड्ताल’ मा भन्छन् ः

‘मुख –१
नारीभित्र न्याना अँगाला छिपेका
वान्ता आउने घृणा
जसलाई चिनेर

मुख –२
त्यो उसको आकृति होइन
रुप होइन, फेसन होइन
श्रृङ्गार पनि हुँदै होइन
हो भने त्यो ‘कवि शब्द’ जस्तै हो
अनुहार त्यसमा भेटिदैन ।’ (भतेर र आँखाहरु÷७१)

र कवि अझै कडा व्यङ्ग्य प्रहार गर्छन् जुन समग्र मानवसत्ता प्रति लक्षित छ ः
‘…
मान्छेहरु सोच्दा हुन्, वेश्याहरुको मन मुुटुु हुँदैन
मान्छेहरु सोच्दा हुन् वेश्याहरु मान्छे होइनन्,
र मान्छेहरु यो पनि सोच्दा हुन्–वेश्याहरु केवल
मासुका थुप्रा हुन्
त्यो मासुको प्राण हुँदैन, त्यसैले चिमोट्दा पनि ऊ ऐया भन्दैन …।’ ऐ ७०)

वेश्या, कवि शब्द, मुख–१, मुख–२ भनिएका अभिव्यक्तिभित्रको भावमा पस्दा त्यहा मानवताप्रति खिल्ली उडाउने समाजलाई चिथोरिएको छ, मूल्यसंस्कृति परिवर्तन गर्न तिखो वाण हानिएको छ । समालोचक कुुमारबहाुदर जोशीले त्यसै भनेका होइनन्, कणाद महर्षिका कवितामा भावना भन्दा विचारको प्रवाह छ । उनले विचार नै दिइरहेका छन् । सचेत कृविले हृदयको स्पन्दनलाई मस्तिष्कमा मथेर नयाँ मानक निर्माण गर्न खोन्छ भन्ने कुरा ृनका कविताले पुष्टि गर्छ ।

समयको घाउ, पीडा र पीपहरु कवि कणादका कविताका विषय हुुने गर्दछन् । तरुण वय र सिर्जना आरम्भका सयम प्रेम–प्रणय, माया–प्रीति, वैराग्य–विग्रहका कुराहरुमा प्राय कविहरु रमाउने गर्छन् । त्यो परम्परालाई कणाद महर्षिले भत्काएका छन् । के सँधै परम्पराको डोवमा कविहरु हिड्नुपर्छ र भन्ने प्रश्न उनका सिर्जनाले छाडेको छ । यो परम्पराप्रतिको समय र शास्त्रीयताप्रतिको मौन असहमति हो । यो पृथकधार नै उनको प्रवृत्ति पनि हो । प्रेम र प्रणयका विषयमा धेरैले लेखेकै छन्, प्रकृति र प्रवत्र्तनका विषयमा पनि केहीले लेख्दै आएका छन् । विषयवस्तुप्रति पनि कविको विद्रोह छ । ‘घाउमा हरिभक्त कटुवाल’ समयको घाउ हो, कवि बाँचेको समयको पीडा र पीप हो । ‘घाउमा हरिभक्त कटुवाल’ ले समाजको घाउ निचोरेको छ । घाउ÷रात, अपराध आयो, कविताले कपाल दुखाउनेलाई, एकाकीमा रहनुरहेछ, चश्मा फुकालेर हेर, निषेध छैन कत्र्तव्य छैन, रगतहरु उम्रिएर …, स्थितिको बलात्कार हामी केहीलाई पर्खेका छौ, घाउमा हरिभक्त कटुवाल, चन्द्रग्रहणको आवगमनमा मनको ग्रहण बल्झियो, मसान नाटक प्रलर्शन भैरहेछ, खडेरी आफै आगो बल्छ सबैमा सयमको घाउ र घाउभित्र टन्किएको पीप छ । कवि हरिभक्त कटुवाललाई विम्बमा राखेर कणाद कवि हुनु पनि घाउ सम्झिन्छन्, न फुटेर निख्रिन सक्छ न निको भएर समाजमा उदात्त हाँस्न सक्छ ः

‘घाउ जसको पनि हुन्छ –
मानिसको पनि
कविको पनि
देशको पनि
र प्रवासको पनि
यसमध्ये कवि भनिने घाउ नै पर्याप्त हुन्छ भने
उसमा यो घाउ प्रवल थियो
र थियो घाउ
मानिसको पनि
प्रवासको पनि
र देशको पनि …।’ (घाउमा हरिभक्त कुटुवाल÷३७÷३८)

‘भतेर र आँखाहरु’ का सबै कविताहरु घाउ बोल्छन् । घाउ, घाउः एव्स्ट्र्यक्ट पेन्ट, घाउ मलाई किन ?, मात्र होइनन्, आँखाभित्रका आवेगहरु, आवाजको आक्रमण, पीडाका रौंहरु, फूलको मन मरेको छ, मनको काँढाले, मानिस ?, भतेर र आँखाहरु, बेश्या हड्ताल, पापको पानीको खोजीमा पनि मानिस र समयका घाउहरु हुन् । ‘पग्लेका लाभाहरु’ मा फुटेका घाउ र फुट्न नसकेका घाउहरु छन् । लाभा घाउकै प्रतीक हुन्, फुटे पछि न ती लाभा हुन् । फुटेपछि बरु मन शान्त हुन्छ, फुुट्न नसकेसम्म त्यसले मानिस र समजालाई दुखाइ रहन्छ । ‘दृष्टिको यात्रा’ मनभित्रको, घर परिवारभित्रको बह वा घाउ हो । त्यो घाउ पनि समाज र संस्कृतिको उपज हो ।

पाठक कवितामा कविको घाउ देख्छ । कविको मात्र होइन, समय नै दुुखेको देख्छ, समाज नै घाउ बनेको देख्छ । कणादका किशोरमा लेखिएका हुन कि जवानीमा वा परिपक्वमा लेखिएका सबै कवितामा घाउ छ । व्यङ्ग्य र विद्रोको स्वर त्यही घाउ निको पार्न हो भन्ने पाठक विचरण गर्न पुुग्छन् । पग्लेका लाभाहरुमा केही मात्रामा भएपनि विद्रोहको लाभा फुटेको थियो, घाउमा हरिभक्त कटुवाल मा लाभा मनभित्र गुम्फिएको छ । त्यो गुम्फाई अँध्यारोमा छ, चन्द्रग्रहणमा धेरै अझै प्रगाढ छ, मसान नाटक..मा सहमतिको द्विविधा, चिसो भूमि मा अरु गहिरिएको छ । सम्भवतः त्यै गुम्फाई घाउको पीडा निचोर्न कवि कविता गरिरहेका छन् । उनको समयका प्रिय कविका नाउ, उनको निधन र स्मृतिचित्र भनाइको विम्ब मात्र हो ।

कवि ईश्वर बल्लभ भन्छन् ‘भिड र जुलुसबाट स्पष्ट चिनिने अनुहार कणादको आफ्नो रचनाकारको छ । ….उनको कवि भित्रभित्रे अभिव्यक्तिका विधानसित प्रशस्त युद्ध गर्छ ।’ कणादका कविता पढ्दा जोकुनैलाई यही अनुुभूति हुन्छ । उनी नितान्त बेग्ला लाग्छन्, असजिला लाग्छन्, आफूूभित्र अभिब्यञ्जानका लागि युद्ध गरेका लाग्छन् । अभिव्यक्ति गर्न अक्षर र शब्दका विधानले उनीसँग असहमति देखाउन खोज्छ तर उनी जवर्दस्त गर्छन् । शब्द खेलाउन भन्दा शब्दभित्र सकेजति विचार हुल्न खोज्छन् । त्यसैले कवि ईश्वर बल्लभले अभिव्यक्तिका विधानसँग प्रशस्त युद्ध गर्ने कवि भनेका हुन् । शब्द सन्धानमा, बाक्य विन्यासमा र अर्थवत्तामा जतासुकै त्यो युद्ध देखिन्छ । मन उघार्न कति शब्दले त सम्मति नै दिदैनन्, त्यसपछि कविले शब्दलाई निमोठ्छन् पनि । जसरी पनि कवि बेग्ला छन्, परम्परा भत्काएका छन् । जस्तो कि बहिनीको मृत्युुबाट पीडामा रहेका भाइलाई सम्झाउने दृष्टिको यात्रा शोक काव्य बनेको छैन, सम्वाद काव्य बनेको छ, चेतकाव्य बनेको छ । बौद्धिकता पाँजिएको छ र जीवनको दर्शन दिइरहेको छ । त्यसैले दष्टिको यात्रा जीवनको अलग दृष्टि दिएर सम्वाद यात्रा वा स्मृति यात्रा गरेको छ । काव्यको अन्त्य प्रस्थानबाट गर्नु अर्को भिन्नता हो । संरचना प्रतिको पनि विद्रोह हो । प्रस्थानमा प्रयोग भएका प्रतीकले पनि फरकपन दिएको छ । उनी भन्छन् :

‘सडकले बोकेकोआकाशमा

आकाशले हिडेको सडकमा
दृष्टिले यात्रा गर्‍यो
काँधमा केही बोझ
मनमा केही झोझ

आँखामा केही दृश्य कैद गर्दै
….. …… ……..
केही सोच्दै
…. ….. ….
मौन मौन हुँदै
कता हो कता
–ग¥यो प्रस्थान ।’ (दृष्टिको यात्रा)

दृष्टिको यात्रामा माया, करुणा, रिस, दया, निर्दया, मुक्ति बन्धन, सबै कुरा छन् । बरिष्ठ साहित्यकार बाजुराम पौडेलको शब्द सापटी लिदा काव्यले मृत्यु र जीवनको परिभाषा लेखिरहेका विद्वत वर्गमा यसले नयाँ ध्वनि थप्छ । अभिव्यञ्जनाको एउटा वाक्यमा सिङ्गो ब्रह्माण्ड डोरिएर आउछ । यो नै कवि कणाद भित्रको आफ्नो कवित्व हो ।

उनको पछिल्लो काव्यकृति ‘कोखास्था’ मातृभूमिको प्रेममा लेखिएको काव्य भन्ने शीर्षकले बताइरहेको छ । तर यसमा पनि मानवीय पीडा वा घाउको अभिव्यक्ति छ । स्वपीडा, मातृभूमिको पीडा, नारी अस्मिताको पीडा, भूूईमान्छेका पीडा, जैविक जाति–प्रजातिका पीडालाई ‘कोखास्था’ ले लाक्ष्यणिक रुपमा उठाएको छ । बञ्चिती बन्धनमा परेको, सीमान्तकृतहरुको स्वर, स्वर थिचिएकाहरुको कथा कवितामा छन् तर ती बैद्धिक र विम्बात्मक रहेकाले कविताका पात्रहरुले सजिलै ग्रहण हम्मे पर्छ । कविता जटिल छन् । कवि मानवताका भावनाहरु व्यक्त गर्छन, भत्कोष र विकृतिप्रति छेडखान गर्दछन् तर यसले निमग्न पाठकको माग गर्दछ । ‘गुुफा’, ‘पग्लेका लाभाहरु’, ‘भतेर र आँखाहरु’ को प्रवृत्ति ‘कोखास्था’ मा निरन्तर छ । कवि विरोधका लागि विम्बात्मक अभिव्यक्ति दिन्छन् ः

‘मेरो रगतमा रगत छ १ सबैलाई थाहा छ
मेरो रगतमा पसिना छ कसले भन्छ
पसिना पनि त रगतको सख्खे सन्तान हो नि
किन नबुुझेको कसैले
त्यसैले भन्छ–
–रगत भनेको संस्कार हो
–संस्कार भनेको पसिना हो
पसिना भनेको म
अर्थात मान्छे हो ।’ (कोखास्था-७१)
….. ……. ……
‘कसैले मल बनाए
कसैले कुुल्चिए
सबैकोलागि भारपात भएँ ।’ (कोखास्था-१०८)

जति बौद्धिकता र विम्ब छ, त्यही घनत्वमा मानवता छ । मानवताको स्वर ‘कोखास्था’ मा गढिलो भएको छ । त्यो मानवता विस्तार भएर रुख, बोट विरुवासम्म विस्तार भएको छ । अभावले जन्माएको स्वभाव, देउराली टोलाइरह्यो, स्व–पीडा, कोखास्था, बाडुली वेदना कहा छ, थाकेका सुुस्केरामा मानवता छचल्किएको छ ।

कवि आफैले स्वीकारेका छन् उनी भिन्न शैलीका मात्र होइनन्, जटिल कविताका कवि हुन् । उनका साहित्य पारखीहरुका अनुसार उनका कविता ‘नबुझिने, दुरुह र अष्पष्ट हुन्छन् र हाडे ओखरजस्तो फुटाउनै गार्‍हो, फुटाएपछि पनि गुदी थोरै भएजस्तै हुन्छन्’ । हो कणादका कविता जटिल छन् तर हाडेओखर जस्तो थोरै गुदी भएका भने होइनन् । कविताभित्र पस्न गार्‍हो, पसेपछि त्यहाभित्र भावको पौल पाइन्छ । आफ्ना समयमा ख्याति कमाएका कविहरु मोहन कोइराला, ईश्वर बल्लभ, बानिरा गिरी जस्तै प्रवृत्ति र भाववृत्तिमा कणाद देखिएका छन् । कविताले दिमागमा बबण्डरर ल्याउनु पर्छ, एउटा तहल्का ल्याउनुपर्छ तर विचारले निथ्रुुक्क भिजाउनु पर्छ भन्ने मान्यतामा बौद्धिक कविहरु रहन्छन् । त्यसैले कणादका कवितामा बौद्धिकता छ, बिचारको गुदी धेरै छ । व्यङ्ग्य विरोध गर्न कवितालाई हाडेओखर जस्तै बनाएका छन् । जटिल प्रस्तुुतिले विचार–दर्शनलाई द¥िहलो संरक्षण गरेर राखेको छ । प्रशोधन नगरेको नरिवलजस्तै ।

कवि कति सरल वा जटिल हुने भन्ने कविको स्वायत्तताको विषय हो । सरलता भित्रको बौद्धिकता, सरलता भित्रको व्यङ्ग्य र विद्रोह भैदिएको भए अरु वैशिष्ट्य दिने थियो । तर त्यस अवस्थामा कणादको मौलिक वैशिष्ट्य भने कामय हुने थिएन । बल्लभ जटिल छन् तैपनि प्रिय छन्, मोहन कोइराला अझै जटिल छन् तर उनका कविताभित्रको कवित्वप्रति कवितानुरागी नतमस्तक छन् । सरल अभिव्यक्तिले जनस्तरमा सजिलो प्रवेश पाउछ तर बौद्धिकस्तरले गुणस्तरीय पाठकको ध्यान खिच्छ । कविताले एकपटक मस्तिस्क मथोस, दिमाग उथुलपुुथल बनाओस र छुट्टै निष्कर्षमा पुु¥याओस भन्ने पाठकका लागि कविताले सामान्यताको नेटो काट्नु पर्छ । यसरी दिमाग रन्थनाउने कविता दिएर अर्को ईश्वर बल्लभको अनुुभूति दिन्छन्:

‘अध्यारोबाट हिँड ।
अध्यारोमा हिड ।
अँध्यारै अँध्यारोमा हिड्नुपर्छ
तर खोल मनका आँखा
बज्र बनाउ आफ्ना हात पाखुरा
पिडुला, छाती र तिघ्राहरु
लात हान ।
अँध्यारामा भित्ताहरुमा
… ….. ….
हात हत्केलामा औलाहरुले
चकमक ढुङ्गा घोटेर आगो बाल ।’ (उज्यालो देखिएन त ?)

कुन परिवेशमा, कुन कारणले कवित्व प्रस्फुरण हुन्छ भन्ने कुराले पनि कविताको प्रस्तुुति र प्रवृत्ति निर्धारित हुन्छ । रहरले लेखिएका कविताहरु सँधै कविताको स्तरमा पुुग्दैनन् । साधना र अध्ययनले खारिएर लेखिएका कविताहरु ज्ञानका सुक्ति बन्ने गर्दछन् । तर परिवेशले, अवस्थाले स्वतः स्फूर्त भएको कविताहरु सरल भएपनि बौद्धिक भएपनि पाठकका आफ्ना अनुुभूति बन्न पुुग्दछन् । पाठक सर्जकको समानुभूूतिमा पुुग्ने क्षमताले सिर्जनालाई जीवनस्तरमा पुुयाउछ । हृदयलाई स्पर्श गरेर लेखिएका, स्वाभाविक प्रस्फुटन भएका कविता यसकोटिमा पर्दछन् । अभिव्यक्ति जटिलतामा पनि कविताभित्र पसेपछि यो स्वाभाविकता कणादको कवितामा पाइन्छ । उनले भनेका छन्–‘खुसीले उचाल्दा, अन्यायले आक्रमण गर्दा, मनका घाउहरु घोच्चिदा, घोत्लिदा, वेदनमा भिज्दा, सामाजिक चेतनाले चेताउदा…यस्तै विविध भावनाले लतपताएपछि, स्पर्श दिएपछि त्यही स्पर्शले सकसकाएको करुणा, क्रोध, व्यङ्ग्य, विरोध आदिलाई कविताको माध्यमबाट लयात्मक अभिव्यक्ति दिने प्रउत्न गरेको छु ।’ उनले ठिकै भने, उनका कविताले भनाईको पुष्टि गरेको छ, तर लयको स्थानलाई ध्वनिले साथ दिएको छ । उनलाई स्पर्श गरेका घटनाको विचार, व्यङ्ग्य र प्रतीक विम्बका माध्यमबाट अभिब्यञ्जन भएको छ ।

कणाद महर्षिका कविताको भुल्नै नसकिने प्रवृत्ति अमूर्तता हो । अमूर्त कविहरु शब्दका सहारा मात्र लिदैनन्, ध्वनि, सङ्केत र अन्य सन्धानहरुबाट अभिव्यक्त हुने गर्दछन् । कणादका कविताका हरफ मात्र होइनन्, शीर्षक समेत अमूर्त छन् । अमूर्त कविताको एउटा विशेषता के हो भने ती अनन्त भावका पुुञ्ज बन्छन् र कविका अनुुभूतिलाई घनत्वपूर्ण प्रस्तुुति गर्दछन् । यस्ता कविताबाट पाठकलाई भावग्रहणमा निजी स्वायत्तता सुरक्षित हुन्छ । कविले पाठकलाई विषयबस्तु र भाव ग्रहणमा आग्रह राख्दैन । कणादका कविताले अमूर्त भावाभिब्यक्तिलाई धेरै नै महत्व दिएको पाइन्छ । ‘गुुफा’ देखि ‘दृष्टिको यात्रा’ सम्म कविले अमूर्तताको यात्रा गरेका छन् । जस्तो कि नयाँ बर्षको सन्दर्भमा लेखिएको कविता ‘अपराध आयो’ मा देखिन्छ ः

‘पत्रै–पत्र धमिलो षड्यन्त्र बोकेर
फेरि एउटा लामो अपराध आयो
यसको जीवनमा बा¥हवटा झोलाहरु छन्
र त्यसभित्र तीनसय पैसट्ठी गुण पापहरु छन् ।’ (घाउमा हरिभक्त कटुवाल-५)

खडेरी आफै आगो बल्छ, स्थितिको बलात्कार, चिसो भूमिका, भतेर र आँखाहरु, भोलि पनि छर्लङ्ग हुन्छ, यहाँ कुनै क्यालेण्डर छैन जस्ता कविताहरु अमूर्त अभिव्यक्तिमा छन्, विम्बात्मक अभिव्यक्ति दिन्छन् । पाठकहरु एकथोक पाइएला भनेर कविताभित्र पस्छन्, अर्कै भाव÷सन्देश ग्रहण गरेर फर्किन्छन् । समालोचक कुमारबाहुदर जोशीले ठीकै भनेका छन्, उनका कविताहरुमा प्रतीकात्मक र व्यङ्ग्यात्मक एवम् विद्रोहात्मक स्वर निकै चर्किएको फेला पर्छ । त्यसैले अमूर्त बन्ने अवस्थामा पुुगेका होलान भन्ने अनुुमान गर्न सकिन्छ । ईश्वर बल्लभको ‘आगोका फूलहरु हुन, आगाका फूलहरु होइनन्’ र ‘मेरी आमाले आत्महत्या गरेको देश’ जस्तै कणादका ‘घाउमा हरिभक्त कटुुवाल’ र ‘भतेर र आखाँहरु’ भित्रका कविताहरु विम्बात्मकतामा, अमूर्ततामा छन् ।

कणादका लघुकथामा पनि अमूर्त कविताको प्रभाव छ । त्यो प्रभाव यतिसम्म देखिन्छ कि कवित्वले कथा पनि अमूर्त र दिमाग रन्थाउनाउने सूत्र कथा बन्ने गर्दछ । उनको ‘कथा बाँकी छ’ लघुकथा त्यसैले कथा–कविता बनेको छ ।

‘कुनै समय….
भन्दै थिए….
….उ आँउदै छ ।
कसले भन्यो….
….उ आँउदैन ।
सोधेँ…..
…. किन र ?
भन्यो ….
….कारण छैन ।
मैल् जोड दिएर भने…
….ऊ आउँछ अवश्य ।
उसले सोध्यो….
….कसरी ?
भने ….
…. कारण छैन
तर
….समय ।’ साहित्य पोष्ट)

कथा–कविता (उनले लघुकथा र कतिले सूत्रकथा भनेपनि) ले बौद्धिक र निमग्न पाठक खोज्छ । अझ भन्दा कविस्तरको पाठक खोज्छ । कवि नै भएर विचरण गर्न खोज्छ र भनिएको र ग्रहण गरिएको विषयमा समानता पाइदैन पनि । त्यसैले एउटा प्रश्न हामीलाई छाडिदिन्छ –सिर्जना सबैको कि बौद्धिक पाठकको ? कवि सबैका कि बौद्धिक चेतसामथ्र्य भएकाहरुको मात्र ? समय सन्दर्भ लगायत अन्य लघुकथामा पनि कथाकारभित्र कवि व्यक्तित्वले प्रवेश गरी कथालाई नै कविता बनाइदिन्छ, अभिव्यक्तिलाई अमूर्त बनाइ दिन्छ । विम्बवादीहरु अमूर्त अभिव्यञ्जनमा कथा, कविता, चित्र, नाटक सबैमा समान स्वरुपमा देखिने गर्छन् ।

कविहरु सयमसँग हिड्छन्, समयसँगै परिस्कृत र परिवर्तित हुँदै जान्छन् । समय आफैमा परिवर्तन हो । समयमा यात्रा गर्ने जीवन समयसँगै प्रवृत्ति फेर्छ । धेरैजसो कविहरु किशोरबाट युवावस्थामा, युवावयबाट मध्यावस्थामा र त्यसपछि प्रौढतामा पुुगेपछि परिवर्तनमा देखिन्छन् । परिवर्तन विचार, विषय, दृष्टिकोण र सङ्क्षेत्रमा देखिन्छ । धेरै कविहरु प्रेम–प्रणयबाट प्रवेश गर्दै प्रकृति र परिवेशमा रमाउदै परिपक्वतामा फराकिलो जीवनदृष्टि दिन पुुग्छन् । यो प्रवृत्तिको झण्डै अपवाद हुन् कणाद महर्षि । ‘गुुफा’ देखि ‘कोखास्था’ सम्म एउटा पथ र प्रवृत्तिमा हिड्छन्, एकै सङ्क्षेत्र देख्छन्, त्यो हो विद्रोह–व्यङ्ग्य र विम्ब । त्यहाँभित्रको अभिगट छ विचार, विद्रोह र मानता । यसर्थ उनी भिन्न बाटोका यात्री हुन्, त्यो यात्रा अलि जटिल छ । (@mainaligopi)

***********

मैनाली निवास, क्षितिज मार्ग,
शङ्खमूल ।