अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:३८ | Colorodo: 06:53

२० वर्षमुनिको साफ च्याम्पियनसिप : शुरु हुन तीन दिन बाँकी रहँदा पनि मैदानको टुङ्गो लागेन

बिआरटीनेपाल २०८१ साउन ३१ गते ६:५४ मा प्रकाशित

साफ २० वर्षमुनिको च्याम्पियनसिप प्रतियोगिता हुन तीन दिनमात्रै बाँकी हुँदा पनि खेल हुने मैदानबारे अझै टुङ्गो लागेको छैन । खेल भदौ २ अर्थात् आउँदो आइतवारदेखि दशरथ रङ्गशालामा हुने तय थियो । आयोजक अखिल नेपाल फुटबल संघ एन्फाले प्रतियोगिताको तयारी पूरा भए पनि मैदानको टुङ्गो नलागेको बताएको हो ।एन्फाले आज गरेको पत्रकार सम्मेलनमा प्रवक्ता सुरेश शाहले म्याच कमिसनर आएर निरीक्षण गरेपछि मात्रै प्रतियोगिता हुने स्थानको टुङ्गो लाग्ने बताउनुभएको छ । एएफसी च्यालेन्ज लिगको प्लेअफअन्तर्गत चर्च ब्वाइज युनाइटेड र पारो एफसीबीच गएको मंगलवार दशरथ रङ्गशालामा भएको खेल भइरहँदा मैदान हिलाम्मे भएपछि चौतर्फी आलोचना भइरहेको छ ।

प्रवक्ता शाहले मैदान हिलाम्मे भएसँगै रङ्गशालामा साफ २० वर्षमुनिको च्याम्पियनसिपका खेल पनि अन्योल बनेको बताउनुभयो । दशरथ रङ्गशालामा खेल भएन भनि विकल्पमा एन्फा कम्प्लेक्स राखिएको प्रवक्ता शाहले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । साफ २० वर्षमुनिको च्याम्पियनसिपमा नेपालले बङ्गलादेशसँग भदौ ६ गते खेल्ने छ । च्याम्पियनसिपमा पाकिस्तान बाहेक दक्षिण एशियाका छ टोली सहभागी छन् ।एएफसी च्यालेन्ज लिगको खेल हेरेपछि म्याच कमिस्नरले वैकल्पिक मैदान खोज्न भनेको र दशरथ रङ्गशालाको विकल्पमा सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्स रहेको उहाँको भनाइ छ । गत शुक्रवार दशरथ रङ्गशालामा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता आयोजना गर्न एशियाली फुटबल महासङ्घ (एएफसी) ले अनुमति दिएको थियो ।

एएफसीले रङ्गशालालाई अन्तर्राष्ट्रिय प्रतियोगितािका लागि अयोग्य भने पछि गएको चैतदेखि अन्तर्राष्ट्रिय प्रतियोगिता सञ्चालन हुन सकेको थिएन । टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । दुवै समूहको शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् । समूह ‘ए’ मा नेपाल, श्रीलङ्का र बङ्गलादेश समूहमा छन् । समूह ‘बी’ मा भारत, माल्दिभ्स र भुटान छन् । एन्फाले साफ २० वर्षमुनिको खेलमा सहभागी टिमलाई अभ्यासका लागि भद्रकालीमा रहेको आर्मीको मैदान र लगनखेलको मैदान प्रदान गर्ने प्रवक्ता शाहले जानकारी दिनुभयो । प्रतियोगिताका लागि आज माल्दिभ्सको टोली आइसकेको र बाँकि टिम भोलि नेपाल आउने उहाँले बताउनुभयो ।

प्रतिक्रिया