अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:०४ | Colorodo: 04:19

शान्ति प्रक्रिया निष्कर्षमा पुर्‍याउने विषयलाई नजिकबाट नियालिरहेका छौंस् रवि लामिछाने

बिआरटीनेपाल २०८१ साउन ३० गते ६:३२ मा प्रकाशित

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने विषयमा भएका कामहरूलाई नजिकबाट नियालिरहेको बताउनुभएको छ । बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोगको छलफल गर्नेक्रममा यस प्रक्रियालाई आफूहरूले नजिकबाट नियालिरहेको बताउनुभएको हो । ‘हामी संसदमा २१ जना छौं। हाम्रो दायित्व र जिम्मेवारी के हो भनेर राम्रैसँग थाहा छ। शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउन भइरहेका कामहरूलाई नजिकबाट नियालेका छौं। यसका पीडितहरूले न्याय पाउनुपर्छ भन्ने स्थापित हुनुपर्छ,’ उहाँले भन्नुभयो।

त्यस सन्दर्भमा गठन हुने आयोगले स्वतन्त्र र निष्पक्ष भएर काम गर्नुपर्ने लामिछानेले बताउनुभयो । संक्रमणकालिन न्याय निरूपणको गाँठा फुकाउने गरी कानून बनेपनि न्याय प्रदान गर्न संरचनाको आवश्यक रहेको उहाँको भनाई छ । ‘संक्रमणकालिन न्याय निरुपणका गाँठा फुकाउने गरी कानून त बन्ने भयो। तर कानून आफैले न्याय दिने चाहीँ होइन,’ उहाँले भन्नुभयो, ‘संरचना यसका लागि चाहिन्छ। र ती संरचनामा रहने व्यक्तिको नियत अत्यन्त सफा चाहिन्छ।’

लामिछानेले न्याय प्रदान गर्ने संरचनामा पनि नियत सफा भएका व्यक्ति हुनुपर्नेमा जोड दिनुभयो। राजनीतिक स्वार्थका आधारमा दलीय भागबण्डासहित आयोग बनाउँदा पीडितको न्‍याय सुनिश्चित नहुने पनि उहाँको ठहर छ । ‘फेरि पनि राजनीतिक स्वार्थका आधारमा दलिय भागबण्डासहित आयोग बनाइयो भने त्यो आयोगले जसोतसो काम त गर्ला। तर पीडितलाई न्याय सुनिश्चित गर्न सक्दैन,’ उहाँले भन्नुभयो, ‘आयोगलाई नाममा मात्र होइन, काममा पनि स्वतन्त्र र निष्पक्ष बनाऔँ भन्ने अपील राख्न चाहन्छु। आयोगमा पीडित पक्षको पनि प्रतिनिधित्व गर्न सकेको भए झनै राम्रो हुने थियो।’

त्यसैगरी मेलमिलापका लागि पीडित पक्षले पीडितलाई दबाब र प्रभावमा पार्ने खतरा सँधै हुने उल्लेख गर्दै लामिछानेले देशभित्र टुंगिएका मुद्दामा अन्तर्राष्ट्रिय प्रश्न नउठ्ने परिस्थिति बनाउनुपर्ने बताउनुभयो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू