गृहमन्त्री रमेश लेखकले यस वर्ष सरदरभन्दा बढी वर्षात् भएकाले मनसुनजन्य घटना बढेर ठुलो जनधनको क्षति हुन गएको बताउनुभएको छ । आइतबार सिंहदरबारस्थित संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले यस वर्षको तथ्याङ्कमा हालसम्म सरदरभन्दा ४८दशमलव ५ प्रतिशत बढी वर्ष भएको जानकारी दिनुभयो। गृहमन्त्री लेखकले जेठ २८ गते नेपाल प्रवेश गरेयता पहिरो, बाढी र चट्याङमा परी १७० जनाको मृत्यु, ४४ जना बेपत्ता र १९७ जना घाइते भएको जानकारी दिनुभयो। जसमध्ये पहिरोबाट १०९ को मृत्यु र ३९ जना बेपत्ता, बाढीबाट ३५ जनाको मृत्यु र छ जना बेपत्ता तथा चट्याङबाट २४ जनाको मृत्यु भएको गृहमन्त्री लेखकले जानकारी दिए। यसबिच एक हजार २१२ घटना मनसुनी घटना भएको पनि उहाँले बताउनुभयो ।
यस्तै विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको २३ औं बैठकले मनसुन पूर्व तयारी तथा प्रतिकार्य योजना स्वीकृत गरी कार्यान्वयनमा लगेको पनि गृहमन्त्री लेखकले बताउनुभयो। ‘जल तथा मौसम विज्ञान विभागसँगको समन्वयलाई प्रभावकारी बनाई जोखिमका सूचनाहरू निरन्तर आदान प्रदान गर्ने गरिएको छ,’ गृहमन्त्री लेखकले भन्नुभयो, ‘सोही आधारमा प्राधिकरणले गत साउन २२ गते उच्च सर्तकताका लागि सूचना जारी समेत गरेको छ।’ विपद्को प्रतिकार्यका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी गरी १८ हजार ७७७ सुरक्षाकर्मी खटिएको उहाँले जानकारी दिनुभयो।