उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले संविधानबाट प्राप्त अधिकारको कार्यान्वयनमा जोड दिनुपर्ने बताउनुभएको छ ।ललितपुरमा आइतवार राष्ट्रिय युवा परिषद्द्वारा आयोजित एक कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री सिंहले यस्तो बताउनुभएको हो । उहाँले २०७२ को संघीय लोकतान्त्रिक गणतन्त्रात्मक र समावेशी संविधान जारी भइसकेपछि प्राप्त गरेका अधिकारहरुलाई सुरक्षित राख्दै र परिमार्जित गर्दै कार्यान्वयन पक्षमा जोड दिनुपर्ने बताउनुभयो ।
उपप्रधानमन्त्री सिंहले अहिले भएका अधिकारहरु कसरी कार्यान्वयन गर्ने ? बढी भन्दा बढी देशका लागि फाइदा कसरी गराउने भन्नेतिर लाग्नुपर्ने बताउनुभयो । उहाँले प्राप्त अधिकारलाई उपयोग गर्नेतर्फ लाग्नुपर्नेमा जोड दिनुभयो । उपप्रधानमन्त्री सिंहले भन्नुभयो, ‘हामीले अहिले पोलिटिक्स राइट्सहरु प्राप्त गरेका छाँै । जुन २०७२ को संघीय लोकतान्त्रिक गणतन्त्रात्मक र समावेशी संविधान जारी भइसकेपछि हामीले प्राप्त गरेका अधिकारहरुलाई अब हामीले सुरक्षित राख्दै, परिमार्जित गर्दै कार्यान्वयन पक्षमा केही कमी कमजोरी भएको छ भने त्यसमा के गर्दा हुन्छ, भन्नेकुरामा हामीले हेर्नु राम्रो होला ।’
उपप्रधानमन्त्री सिंहले देशमा बेरोजगारीको समस्या अहिले ठूलो रुपमा रहेको बताउनुभयो । उहाँले ब्लेम गेम गरेर मात्रै समाज र देशको अवस्था नसुध्रिने बताउनुभयो । अधिकारको कुरा मात्रै गर्ने तर जिम्मेवारी र दायित्व बिर्सिने कुरा राम्रो नभएको बताउनुभयो ।