अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:०५ | Colorodo: 23:20

गाम्चाको चौतारो र फोटोको तिर्खा

लीलाराज दाहाल २०८१ साउन २६ गते १२:४० मा प्रकाशित

लघु नियात्रा
स्रष्टा पदयात्राको पचहत्तरऔं शृङ्खला निर्धारित समयभन्दा अगाडि सारिएको थियो । बडा दशैं पर्ने कारणले कार्तिकको पहिलो शनिवारले आराम पाउने भएको थियो । त्यसैले चौहत्तर औँ शृङ्खला सम्पन्न भएको दुई सातामा नै २०८० साल असोज २० गते शनिवारको दिन ७५ औँ शृङ्खलाको पदयात्रा गर्ने उर्दी संयोजकले ७४ औँ शृङ्खलाकै क्रममा जारी गरिसक्नु भएको थियो ।

त्यसै बमोजिमका सार्वजनिक सूचना पदयात्राको फेसबुक समूहमा पनि बारम्बार आइरहेका थिए तर जमाचो यात्रामा सिँढी उक्लने र ओर्लने क्रममा थिलथिला भएका पिँडुलाहरू पूर्णरुपमा तन्दुरुस्त भैसकेका थिएनन् । त्यसैले यो पदयात्रा चाहिँ हाप्नु पर्छ कि भनेर सोचिरहेको थिएँ । फेरि मनमा नयाँ सोचाइ आयो । आखिर यो शरीरलाई जति आराम दियो त्यति नै आराम खोजिरहन्छ । बल्खुदेखि कीर्तिपुर र कृत्तिपुरदेखि मच्छेनारायण त्यस्तो लामो दूरी पनि होइन । धेरै उकालो उक्लिनु पनि छैन भन्ने कुरा सोच्दा मात्रै पनि मन पदयात्रामा जानको लागि रौसिन थाल्यो । फेरि यो पदयात्राको विशेषता के छ भने आफूसँग यात्रा गर्दै आउनु भएका आत्मीयजनहरु सम्मानित हुनुहुँदै थियो । त्यसैले यस्तो पवित्र कार्यमा आफू पनि साक्षी बस्न पाउनु कम खुसीको कुरा थिएन ।

हतार हतार बल्खु चोक पुगेँ । आर्थिक मन्दीको बादलले बल्खुलाई पनि घप्लक्क छोपेको थियो । विभिन्न पसलका सञ्चालकहरू टुहुरा बालक जस्ता उदास देखिएका थिए । बिहानैदेखि मानिसहरूको भाग दौड भने सुरु भैसकेको थियो । कीर्तिपुर वा टौदहतर्फ जानलाई सार्वजनिक यातायातको प्रतीक्षामा रहेका मानिसहरू कल्याङमल्याङ गर्दै थिए । चौकभरि नियाल्छु, चिनेका कसैलाई देख्दिन । अलि पर शीतल दाइ एक्लै उभिइरहनु भएको देखेर नजिकै गएँ । नमस्ते पातीको काम सकिएपछि दाइले भन्नुभयो, ” भाइ, चिया पिउने भए भित्र जाऊ । ”

यसो मिठाइ पसलभित्र नियाल्छु त सबै आफ्नै मान्छे । राधा बोहरा भट्टराई, कल्पना आचार्य, मन्दिरा मधुश्री, शान्ति सापकोटा र निशा केसीको हुल । सबैका आँखा मतिर सोझिए । सबैको एकमुष्ट स्वागतले मेरो मन फुरङ्ग परेको थियो ।

मेरो आगमनले उहाँहरूको गफको डोरी चुँडियो होला भन्ने सोचेको थिएँ तर अहँ । चुँडिएको रहेनछ । गफको डोरीलाई निशा केसी दिदीले तन्काउन थाल्नु भयो । उहाँको बिन्दास जिन्दगी लोभलाग्दो थियो । भन्दै हुनुहुन्थ्यो, ” श्रीमान् र छोरा आआफ्नै तरिकाले बाँच्न थालेपछि म पनि आफ्नै तरिकाले बाँच्न थालेकी हुँ । आखिर एक दिन मर्ने नै हो, बाँचुन्जेल खुसीले किन नबाँच्ने ? ”

सबैले होमा हो मिलायौँ । यतिन्जेल यो हुलले चियाका गिलास रित्याइसकेको थियो । मिठाइ पसलभित्रको यो तित्तितो गफले पूर्णविराम पाइसकेको थियो । उहाँभित्रको मृत्यु चिन्तन र बिन्दास पाराले एउटा गहिरो जीवनदर्शन बोकेको थियो ।

हामी बाहिर निस्कियौँ । जति भेटियौँ, भेटियौँ । बाँकी पदयात्रीहरूलाई टीयु गेटमा बोलाउँदै हामी अगाडि बढेका थियौँ ।
टीयु गेट नजिकै के पुगेका थियौँ, प्रहरीको कडा चेकिङ्ममा परियो ।

“को हो तपाईँहरू ? कहाँ हिँडेको ? किन एउटै पोसाकमा हिँडेको ? के उद्देश्य हो ? ” भनेर एक जना प्रहरीले पदयात्राका संयोजक शीतल दाइलाई केरकार गर्न थाले । हामी वरिपरि झुम्मिएका थियौँ ।
“हामी स्रष्टा हौँ । हामी पदयात्रामा हिँडेका । हाम्रो पोसाक हो यो । हामी यहाँबाट कीर्तिपुर हुँदै मच्छेनारायणसम्म पुगेर फर्कन्छौँ । ” शीतल दाइले स्पष्टीकरण दिनु भयो ।

शीतल दाइको स्पष्टीकरणले पनि ती प्रहरी सन्तुष्ट भइरहेका थिएनन् । फेरि सवालको अर्को तीर चलाए, ” के हो स्रष्टा भनेको ? कति जना हुनुहुन्छ ? ”
त्यसपछि हामी केही बोलेनौँ । हाँसेर अगाडि बढ्यौँ । टीयु गेटबाट भित्र प्रवेश गरी गेट समेत आउने गरी फोटो खिचेपछि हाम्रो यात्राले निश्चित गति लिएको थियो । टीयु परिसरभित्रको सुरम्य वनको बिचैबिच सुतेको पिच सडकमा गफिँदै हिँडिरहेका थियौँ । सानो सानो समूहमा । त्रिभुवन विश्वविद्यालयको विगत र वर्तमान कोट्याउँदै अगाडि बढिरह्यौँ । हामी सबै कसै न कसै गरी यो विश्वविद्यालयसँग जोडिएकै थियौँ । त्यसमा पनि डा. यादेवी ढकाल म्याडम त यस विश्वविद्यालयकै उपप्राध्यापक । अनि गफ त हुने नै भयो ।

कीर्तिपुर, नयाँ बजार छेउ तीनकुने पुगेपछि हाम्रो यात्रा दायाँतर्फ मोडियो । हाम्रो यात्राको अगुवाइ स्रष्टा पदयात्री गङ्गाप्रसाद भेटवालले गरिरहनु भएको थियो । त्यसै बखत नेवा: एफएमका वीरेन्द्र शाक्य आइपुग्नु भयो र हामीलाई डोर्‍याएर आफ्नो एफएममा पुर्‍याउनु भएको थियो । नेवा: एफएमको ठुलो आकर्षक हल र स्टुडियोको अवलोकनपश्चात् उहाँले नेवा: एफएमको स्थापनामा ख्यातनाम स्रष्टा सत्यमोहन जोशीको योगदान, रेडियोको विगत र वर्तमान तथा नेपाल भाषा एकेडेमीको बारेमा बृहत् चर्चा गर्नु भएको थियो । नेवा: एफएमले पहिले नेपाल भाषामा मात्रै समाचार र कार्यक्रम सञ्चालन गर्ने गरेको भएता पनि विगत पाँच वर्षदेखि सबै भाषामा कार्यक्रमहरू सञ्चालन हुँदै आएको रहेछ । यो रेडियोले सबै भासाभासीलाई महत्त्व दिएको थाहा पाउँदा हाम्रो मनमा खुसीको सीमा रहेन ।

वीरेन्द्र शाक्यले कीर्तिपुर युद्ध, त्यो समयदेखि कै पानी भर्ने कुवा र पृथ्वीनारायण शाहले गरेको आक्रमणमा किर्तिपुरबासीका तर्फबाट युद्धको अगुवाइ गर्ने बिरङ्गना किर्तीलक्ष्मीका नाउँबाट यस ठाउँको नाम कीर्तिपुर रहेको भन्दै यहाँको इतिहास र संस्कृतिका बारेमा विशद चर्चा गर्नु भएको थियो ।

त्यसपछि हाम्रो समूह किर्तिपुरलाई बलम्बुतर्फ जोड्ने झोलुङ्गे पुल छेउमा पुगेर अडियो । झोलुङ्गे पुल के आइपुगेको थियोे, पदयात्रीहरुको अनुहारमा हर्षको बिजुली चम्कन थाल्योे । झोलुङ्गे पुलमा वारिपारि गर्दै, कोही बसेर त कोही उठेर, कोही समूहमा त कोही एकल फोटो खिच्ने कर्ममा तल्लीन हुँदा कम रमाइलो भएको थिएन । तल खोलाको किनारमा गणेशको मुर्ति छ भन्ने कुरा जव खोलाघरे साहिँला दाजुको मुखबाट निस्कियो तब छविरमण सिलवाल दाजु खुरुखुरु भर्याङ्ग ओर्लन थाल्नु भयो । केही पदयात्रीहरुका साथ उहाँले गणेश मन्दिरको तीर्थाटन गर्नु भएको थियोे । कथाकार हरिश कल्पित पनि पछि लागिसक्नु भएको थियोे । फर्कँदा उकालोमा गाह्रो हुन्छ भनेपछि भने उहाँले गणेश मन्दिर पुग्ने ईच्छालाई त्यागिदिनु भएको थियोे ।

धेरैबेर अलमल गर्ने छुट कसैलाई थिएन । त्यसपछि सिधा हामी ईन्द्रायणीको छेउबाट बाघभैरव मन्दिर परिसरमा दाखेल भएका थियौं । बाघभैरव मन्दिरको ऐतिहासिकता र पुरातात्त्विक महत्त्वका बारेमा अगुवा पदयात्री शीतल गिरि र हामीलाई सहजिकरण गरिरहनु भएका बीरेन्द्र शाक्यले छोटो चर्चा गर्नु भएपछि पाँच जना पदयात्रीहरुको रचनावाचन कार्यक्रम सञ्चालन भएको थियोे ।

पदयात्री दाजु वशन्त रिजालद्वारा प्रदत्त पुष्टकारीले मुख रसिलो बनाए पनि पेट भरिएको थिएन । भोकको क्रुर आक्रमणबाट जोगिन हामी एकैचोटि ” झिगु कौला छें ” होटलको शरणमा पुगेका थियौं । हाम्रो पेटमा दन्किरहेको भोकको आगो निभाउन होटल तयार भैसकेको थिएन । त्यसैले होटलका हर्ताकर्तालाई छिटो गर्नू भन्ने वारेन्ट थमाएर हामी उमामहेश्वर मन्दिरतिर उक्लियौं । मन्दिरको गेटमा रहेका विदेशी नागरिकलाई भेटिएको के थियो, हरिश कल्पित र ऋचा हिन्दी गीत गाउन र फोटो खिचाउन लालायित भैसक्नु भएको थियोे । अव यहाँ प्रवचन दिने पालो गङ्गाप्रसाद भेटवालको थियोे । उहाँले भन्दिनु भो, ” काठमाडौं उपत्यकाको सबैभन्दा अग्लो ठाउँमा रहेको मन्दिर यही हो । ”

मन्दिरका शृङ्गारिक टुँडाल हेर्दै हामी खुरुखुरु होटलतिर ओर्लियौं । होटलको छतमा रचना वाचनका साथ केही स्रष्टाहरुले रेष्टुरेन्टको आनन्द पनि लिनु भएको थियोे । पदयात्री गङ्गाप्रसाद भेटवालको वित्तियकरण सौजन्यबाट प्राप्त सुस्वादु भोजनपश्चात् हाम्रो समूह योगगुरु केशव अधिकारीको अगुवाइमा मच्छेनारायणतर्फ अगाडि बढेको थियोे । पदयात्री डा. यादेवी ढकाल जरुरी कामले भोजनपछि फर्कनु भयो भने गङ्गाप्रसाद भेटवाल र डिल्लीरमण सुवेदी कार्यक्रम व्यवस्थापनका लागि हिँडिसक्नु भएको थियोे । बाँकी हामी ( मिना रिजाल, वशन्त रिजाल, खोलाघरे साहिँलो, छविरमण सिलवाल, विमल अर्याल, डिल्लीराज अर्याल, ऋचा, शान्ति सापकोटा, बुद्धिसागर पौडेल, राधा बोहरा, शीतल गिरि, घनश्याम प्रसाईं, एनबी जनकपुरी, माधव घिमिरे ” अटल “, नानीवावा अधिकारी, कल्पना आचार्य, मन्दिरा मधुश्री, परशुराम परासर, शारदा पराजुली, अप्सरा ढकाल, निशा केसी, हरिश कल्पित, रुबी सत्याल र लीलाराज दाहाल ) यात्रारत थियौं ।

यात्राका क्रममा गाम्चा पुग्दा यात्राको छुट्टै आनन्द प्राप्त भएको थियोे । ठूल्ठूला रुखहरुको छहारीमा रहेको चौतारा मौलिक र शुन्दर थियोे । गर्मीको समयमा ताजगीको पङ्खा हम्किरहने यस चौताराले वरिपरिका वस्तीहरुको महत्त्व बढाएको रहेछ । रुखहरुका फेदमा उभिएर धेरै पदयात्रीहरुले फोटोको तिर्खा मेट्नु भएको थियो । केहीबेर सुस्ताएपछि खोलाघरे साहिँला दाइ आमन्त्रणको सिटी फुक्दै अघि लाग्नु भयो, ” अगाडि बढौं अव । ढिलो हुन्छ । ”
अनि गाम्चालाई पनि विदाइका हात हल्लाएर हामीले यात्रालाई अगाडि बढायौं ।

मच्छेनारायण मन्दिर छेउको पाटीमा स्रष्टा पदयात्राको व्यानर टाँगेर केही कुर्सीहरुको ब्यवस्थापन गरेपछि हाम्रो लक्ष्यित कार्यक्रम शुरु भएको थियोे । आजको हाम्रो कार्यक्रममा पदयात्रा मात्रै थिएन । रचना वाचन मात्रै पनि थिएन । स्रष्टा सम्मान कार्यक्रम पनि थियोे । शीतल गिरि अध्यक्ष, आयुर्वेद डाक्टर, प्रकृतिप्रेमी समूहका नाइके उमेश श्रेष्ठ प्रमुख अतिथि, स्थानिय समाजसेवी लक्ष्मीनारायण महर्जन, देवलाल श्रेष्ठ, ध्रुव बस्नेत, सानुबाबु आचार्य विशेष अतिथि रहनु भएको थियोे । स्रष्टा पदयात्राका तर्फबाट छविरमण सिलवाल, शान्ति सापकोटा, डिल्लिरमण सुवेदी,डिल्लीराज अर्याल र जसध्वज गुरुङलाई सम्मान अर्पण गरिएको थियोे ।

बिचबिचमा बाँकी स्रष्टाहरुको रचना वाचन भएको यस कार्यक्रम असाध्यै सुमधुर र उपलब्धिमूलक भयो भनेर स्थानीय व्यक्तिहरुले बताइरहँदा संयोजक शीतल गिरि भावनाको भेलमा पौडिरहनु भएको थियो । सम्मानित स्रष्टाद्वय जसध्वज गुरुङ र छविरमण सिलवालको मन्तव्यले कार्यक्रमलाई भावविह्वल मात्रै बनाएको थिएन, स्रष्टा पदयात्राले आफू स्वयमलाई सम्मानित गरिरहेको अनुभूति पनि दिलाइरहेको थियोे ।
कार्यक्रमको समापनपछि हामी त्यहाँबाट बसपार्कतर्फ लाग्यौं । बसपार्क नजिक पुगेपछि पदयात्राको एउटा ठूलो समूह प्राचीन वाघ भैरवको अवलोकनार्थ जाने भयो । जरुरी काम भएका र थाकेका हामी ( बुद्धिसागर पौडेल, लीलाराज दाहाल, छविरमण सिलवाल, शान्ति सापकोटा, मन्दिरा मधुश्री र हरिश कल्पित ) पदयात्रीहरु भने त्यहाँबाटै फर्कियौं ।

अरुको पदयात्रा प्राचीन वाघ भैरवतिर जारी रहे पनि हाम्रो यात्राको वाक्यले भने यो पटकको लागि पूर्णबिराम पाइसकेको थियोे ।

***********
वागमती ११, कर्मैया, सर्लाही