अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:०० | Colorodo: 21:15

यो सरकार ढाल्न कुनै समस्या छैन : पुन

बिआरटीनेपाल २०८१ साउन २६ गते ५:५३ मा प्रकाशित

नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले नेपाली कांग्रेस र नेकपा ९एमाले०बीचको वर्तमान गठबन्धन सरकार धेरै दिन नटिक्ने बताउनुभएको छ । शनिबार काठमाडौंमा आयोजित एक भेलामा उनले सरकार लामो समय नचल्ने जिकिर गर्नुभयो । सरकारमा भएर पनि कांग्रेस–एमालेपंक्तिको मनोबल खस्किएको पुनले उल्लेख गर्नुभयो । दुवै दलका नेताले आफूहरूसँगको अनौपचारिक कुराकानीमा सरकार हनिमुन अवधि ९१०० दिन० कटाउन मुस्किल रहेको बताउन थालेको उहाँको भनाइ थियो ।

आफूहरूको प्राथमिकतामा सरकार नरहेको उनले बताए । तर, चाहेको अवस्थामा यो सरकार ढाल्न कुनै समस्या नभएको पुनले जिकिर गर्नुभयो। “कांग्रेस–एमालेकै नेताहरूले हामीलाई सरकारले हनिमुन पिरियड कटाउँछ कि कटाउँदैन भन्न थालेका छन् । संसद्मा र बाहिर पनि एमाले–कांग्रेस दुवै हामीसँग नरम व्यवहार गरिरहेका छन्,” पुनले भन्नुभयो, “किनभने, संसद्को अंकगणितका कारण कुनै पनि बेला माओवादी हामीलाई चाहिन्छ भन्ने उनीहरूले बुझेका छन् । सरकारका लागि हामीलाई कुनै हतारो छैन । कुनै अप्ठेरो पनि छैन । चाह्यौँ भने हामी छिट्टै सरकारमा जान सक्छौँ । अहिलेको गणित कसैले बदल्न सक्दैन ।”

नयाँ सरकार बनेपछि कांग्रेस–एमालेमा आन्तरिक किचलो बढेको उहाँको बुझाइ छ । एमालेले लुम्बिनी प्रदेशमा दलका नेताबाहेकका व्यक्तिलाई मुख्यमन्त्री बनाएको, त्यसपछि दलका नेताले राजीनामा दिएको, नेकपाकालमा केपी ओलीविरुद्धको संघर्षमा माधव नेपाललाई साथ दिएका नेताहरूलाई पाखा लगाइएको र कांग्रेस–एमाले दुवै दलले केही गरौँ भन्ने भावना भएकालाई रोकेर विवादित पृष्ठभूमिका र राज्य दोहनमा संलग्नहरूलाई मन्त्री बनाएका कारण असन्तुष्टि चुलिएको उहाँको भनाइ थियो ।

कांगेसका दुवै महामन्त्रीले एमालेसँग गठबन्धन गर्नुको अर्थ उसका कमजोरीको भारी बोक्ने होइन भन्दै गिरिबन्धु टी–इस्टेट प्रकरणको छानबिन हुनुपर्ने अडान लिनुले ओली सरकारको जग हल्लिन थालेको तर्क पुनले गर्नुभयो । भ्रष्टाचार, तस्करी, अनियमितता, राज्यदोहनविरुद्ध र सुशासनका पक्षमा उभिएका कारण आफ्ना अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार ढालिएको पनि उहाँले जिकिर गर्नुभयो ।

“भुटानी शरणार्थी प्रकरणमा सँगै सरकारमा भएका दलका नेता जेल जाने अवस्था बन्यो । सत्तारूढ पार्टीका समर्थकसम्मलाई पनि कानुनले छुँदैन थियो । तर, वरिष्ठ नेताहरूसम्म पनि जेल जाने परिस्थिति बन्यो । आफूलाई कानुनभन्दा माथि ठान्नेहरू पनि प्रहरीमा बयान दिन जानुपर्ने अवस्था आयो । नेपालमा योभन्दा पहिले यस्तो भएको थिएन,” उहाँले भन्नुभयो। पुनले गिरिबन्धु टी–इस्टेट, नक्कली भुटानी शरणार्थी प्रकरण, सरकारी जग्गा हिनामिना र सतहमा आएका राज्यदोहनका विभिन्न घटनामाथि छानबिन नगरिए सरकारविरुद्ध जनप्रतिरोध हुने चेतावनी दिनुभयो । त्यसको नेतृत्व माओवादीले गर्ने उहाँको भनाइ थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू