चितवनको सिमलतालमा पहिरोले बगाएर दुईवटा गाडी त्रिशूली नदीमा पुर्याएको घटना अध्ययन गर्न गठित कार्यदलले मंगलबार प्रतिवेदन बुझाएको छ । दुर्घटनास्थलको अनुगमन तथा अध्ययन, दुर्घटनामा भएका लापरवाही, सडक सुरक्षामा जोडिएका अन्य निकाय, दुर्घटना हुन नदिन अपनाउनुपर्ने सावधानी, मृत्यु भएका र घाइतेलाई दिने राहत एवं बिमा लगायतका विषय समेटेर तयार पारिएको प्रतिवेदन मंगलबार कार्यदलले गृहमन्त्री रमेश लेखकलाई बुझाएको हो ।
गत असार २८ गते सिमलताल पहिरोमा लेदोले बगाउँदा दुईवटा यात्रुबाहक बस त्रिशूलीमा खसेर बेपत्ता भएको थियो । असार ३१ मा गृहमन्त्रीको शपथ लिएर कार्यभार सम्हालेलगत्तै रमेश लेखकले कार्यदल गठन गर्नुभएको थियो । लेखकले प्रतिवेदन बुझ्दै कार्यदलको सिफारिश र सुझावलाई अक्षरशः पालना गर्ने र प्रतिवेदनले अन्य निकायको समेत ध्यानाकर्षण गराएकाले सम्बन्धित निकायमा पनि प्रतिवेदन कार्यान्वयनका लागि पठाइने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘ठूला हवाई दुर्घटना वा अन्य विपद्मा सरकारले आयोग बनाएको सर्वविदितै छ, सम्भवतः एउटा स्पेसिफिक दुर्घटनामा कार्यदल नै बनाइएको यो पहिलो होला, कार्यदलले दिएका सिफारिश र सुझावको अक्षरशः पालना हुन्छ ।’ गृहसचिव एकनारायण अर्यालले आगामी दिनमा सडकमा सवारीसाधनको कागजपत्र, यात्रुको विवरण र चालकको अवस्थाका बारेमा कडाइका साथ चेकजाँच हुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘कार्यदलले दिएको सुझावका आधारमा अब सडकमा ट्राफिक प्रहरीले सवारीसाधनको चेकजाँचमा कडाइ गर्नेछन् ।’
गत असार २८ गते बिहान काठमाडौंबाट रौतहटको गौर गइरहेको गणपति डिलक्स र वीरगञ्जबाट काठमाडौं आइरहेको एञ्जल डिलक्स बस सिमलतालमा बाढीसहित आएको लेदोले धकेल्दा त्रिशूली नदीमा खसेको थियो । दुवै बसमा सवार चालकदलका सदस्यसहित ६५ जना यात्रुमध्ये तीनजनाले हामफालेर ज्यान जोगाए पनि ६२ यात्रु बेपत्ता भएका थिए । नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरी लगायतको सहयोगमा २४ वटा शव फेला परेको थियो । जसमध्ये १९ जनाको सनाखत भएपनि अन्यको हुन सकेको छैन । अन्य यात्रु र बस अझै बेपत्ता छन् ।
गृहका सहसचिव छवि रिजालको संयोजकत्वमा गठित कार्यदलले सडक सुरक्षासम्बन्धी एकीकृत सुरक्षा प्रणाली विकास नभएकाले सडकको अवस्थाबारे सवारी चालक र सुरक्षा निकायले पूर्वानुमान गर्न नसक्दा दुर्घटना निम्तिएको प्रतिवेदनमा उल्लेख गरेको छ । गत असार ८ गते नै सिमलतालमा थुनिएको कल्भर्ट समयमै सफा नगर्दा थप डेब्रिजका कारण बसलाई धकेलेर त्रिशूलीमा हुत्याइदिएको कार्यदलको निष्कर्ष छ । कार्यदलले स्थानीय तहले सडक बनाउँदा निस्किएको माटो व्यवस्थापन नगरी भीरबाट फालिदिँदा थुप्रिएर बसेको र वर्षातका कारण तल बगाएर ल्याउँदा बसलाई धकेलेको प्रतिवेदनमा उल्लेख छ ।
‘कुनै पनि टेवा पर्खाल निर्माण गर्दा वा सडक बनाउँदा निस्केको डेब्रिजको उचित व्यवस्थापन नहुँदा पानीले ठूलो परिमाणको लेदो बगाएर ल्यायो र त्यति नै बेला बसलाई धकेल्दा त्रिशूलीमा खस्न पुग्यो,’ प्रतिवेदनमा भनिएको छ, ‘पटक–पटक सडक आवागमनमा अवरोध गरिरहेको सडकखण्डमा सवारी चलाउन दिनु नै दुर्घटनाको मुख्य कारण बन्न पुग्यो ।’ सुरक्षाका दृष्टिकोणले निकै जोखिमपूर्ण मानिएको सिमलताल सडकमा ठूलो वर्षा भइरहेको र रातको समयमा सवारी चलाउँदा चालकले ‘पहिला सुरक्षा’ भन्ने मूल कुरामा ध्यान नदिई असावधानीपूर्ण चलाउँदा दुर्घटना निम्तिएको ठम्याई कार्यदलको छ ।
प्रतिवेदनबारे संक्षिप्त जानकारी दिँदै कार्यदलका संयोजक रिजालले भन्नुभयो, ‘दुर्घटना हुन नदिन पहिला सुरक्षा अनि मात्रै सवारी भन्ने मूल कुरामा चालकले ध्यान दिएको देखिएन ।’ कार्यदलले प्रतिवेदनमा सडक दुर्घटना न्यूनीकरणमा गृह मन्त्रालयको भूमिकाका बारेमा समेत प्रस्ट पारेको छ । जोखिमयुक्त सडकमा भारी वर्षातको समय विशेष गरी रातको समयमा सवारी आवागमनलाई निषेध गर्नका लागि ‘रेड अलर्ट नोटिस’ जारी गर्न गृहलाई सुझाव दिइएको छ । त्यस्तै खोज तथा उद्धारका लागि आधुनिक उपकरणको व्यवस्था गर्न र शीघ्र उद्धार गरी स्वास्थ्योपचारको व्यवस्था मिलाउन भनिएको छ ।
दुर्घटना नियन्त्रणका लागि नियमनकारी क्षमता अभिवृद्धि गर्ने तालिमका विषयमा समेत सचेत रहन प्रतिवेदनमा सुझाव दिइएको छ । ‘यातायात मजदुरहरूलाई विपद् जोखिमसम्बन्धी तालिम प्रदान गरी विपद् जोखिम सम्बन्धमा खोज तथा उद्धारका लागि सुरक्षाकर्मीलाई समेत पर्याप्त तालिमको व्यवस्था गर्नुपर्ने देखियो,’ प्रतिवेदनमा भनिएको छ, ‘राजमार्ग क्षेत्रमा सडक सुरक्षासम्बन्धी पूर्वसूचना प्रणाली स्थापना गरी सडक सुरक्षासम्बन्धी एकीकृत सूचना प्रणालीको विकास गर्नुपर्ने देखियो ।’ ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालकलाई कारबाही गर्न र राजमार्गमा राखिएका ट्राफिक संकेतको मर्मत तथा थप गर्नुपर्ने संकेतहरूका बारेमा तत्काल काम गर्न प्रतिवेदनले सुझाव दिएको छ ।