अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:२७ | Colorodo: 01:42

प्रधानमन्त्री हसिनाले देश छाडेपछि बंगलादेशका सेना प्रमुख भन्छन- ‘अब अन्तरिम सरकार बन्छ’

बिआरटीनेपाल २०८१ साउन २१ गते ५:५८ मा प्रकाशित

बंगलादेशका प्रदर्शनकारीहरुले प्रधानमन्त्री शेख हसिनालाई भगाएसँगै सेना प्रमुखले हसिनाले देश छाडेको घोषणा गर्दै शान्ति कायम राख्न आग्रह गरेका छन्। सेना प्रमुख जनरल वकार–उज–जमानले प्रधानमन्त्रीले राजीनामा दिएको पुष्टि गर्दै अब सेनाले अन्तरिम सरकार बनाउने घोषणा गरेका छन्।ढाकामा ठूलोमात्रामा प्रदर्शन भएसँगै हसिनाले हेलिकप्टरमार्फत देश छाडेकी थिइन्। लाखौं प्रदर्शनकारीहरु सडकमा उत्रिएसँगै ढाका सुरक्षा नियन्त्रणभन्दा बाहिर पुगेको छ। देशका विभिन्न स्थानमा हिंसात्मक प्रदर्शन र घटनाहरु जारी छन्।

सेना प्रमुख जमानले हत्या भएका नागरिकहरुले न्याय पाउने आश्वासनसहित भाषण गरेका छन्। उनले भने, ‘हामीले सबै दलहरुसँग छलफल गरिरहेका छौँ। हसिनाले राजीनामा दिएसँगै अब हामीले अन्तिरिम सरकार बनाउने छौँ। देशमा हाम्रो नै नोक्सान भइरहेको छ। हाम्रै सम्पत्तिको क्षति भइरहेको छ, अब रोकिनुस्। मलाई यो दायित्व दिनुस् म सबै कुराहरु सम्हालेर अघि बढ्ने छु।’

हजारौँ प्रदर्शनकारीहरु प्रधानमन्त्री निवास छिरेका छन्। उनीहरुले विजयी मुद्रामा हात उठाएर खुसियाली मनाइरहेका छन्। पछिल्लो समय हसिनाले आन्दोलनकारीहरुलाई आतंककारीको संज्ञा दिएकसँगै आइतबारबाट दोस्रो चरणको आन्दोलन सुरु भएको थियो। दोस्रो दिन नै लाखौं आन्दोलनकारीहरुले उनलाई देश छाड्न बाध्य बनाए। आन्दोलनमा ३ सय बढी मानिसहरुको मृत्यु भएको जनाइएको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू