नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा कुनै पनि हिसाबको गुटबन्दी स्वीकार्य नहुने चेतावनी दिनुभएको छ । आइतबार नवनियुक्त केन्द्रीय सदस्यहरूको शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गुटबन्दीका कारण एमाले विभाजन भएको भन्दै अव एमालेमा गुटबन्दी स्वीकार्य नहुने चेतावनी दिनुभएको हो । ‘हाम्रो पार्टीमा लामो समयदेखि गुटबन्दी थियो । या त हामीले गुटबन्दी नियन्त्रण गर्न सक्नुपर्थ्यो, सकिएन भने अन्ततः विभाजनमा जान्थ्यो हाम्रो पार्टीमा त्यस्तै भयो’, ओलीले भन्नुभयो, ‘हाम्रो पार्टीमा गुटबन्दी स्वीकार्य छैन ।
कतिपयले डेमोक्रेसीका नाममा उचाल्न सक्ने भन्दै उहाँले बैठकमा नेताहरूको भनाभन नै भएन त्यस्तो पनि डेमोक्रेसी हुन्छ ? बैठकमा भनाभन होस् । तब न केही आदानप्रदान भयो भनेजस्तो परिभाषा पार्टीमा नचल्ने ओलीको भनाइ छ । उहाँले आफू पनि नगर्ने र अरूलाई पनि गुटबन्दीको कुरा छेउ पनि पर्न नदिन निर्देशन दिनुभयो । ओलीले नवनियुक्त केन्द्रीय सदस्यहरूलाई एमालेको खेलाडीजस्तो गरी कार्यक्षेत्रमा खटिन निर्देशन दिनुभयो ।