आम जनता पार्टी ९आजपा०का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले नेपाली कांग्रेस र नेकपा ९एमाले०को दुई दलीय सिन्डिकेटले लोकतन्त्र मात्रै नभई दलतन्त्र पनि खतरामा परेको टिप्पणी गर्नुभएको छ । एमाले र कांग्रेसको दुई दलीय सिन्डिकेट तोड्न अब आईटी आर्मी अगाडी आउनुपर्ने निर्देशन समेत उहाँले दिनुभयो । आजपा निकटको आईटी आर्मीको काठमाडौँ उपत्यका भेलाको तयारी बैठकलाई आज पार्टी केन्द्रीय कार्यालय काठमाडौँमा सम्बोधन गर्दै अध्यक्ष साहले जनताको शासन स्थापित गर्न र लोकतन्त्र जोगाउनका लागि आईटी आर्मी फ्रन्टलाइनमा आउनुपर्ने आवश्यक रहेको बताउनुभयो । दलीय सिन्डिकेट तोड्नका लागि तेस्रो जनआन्दोलन आवश्यक रहेको कुरा समेत उहाँले जिकिर गर्नुभयो ।
‘एक त देशमा लोकतन्त्र नै छैन । लोकतन्त्र देखाउने दाँत मात्रै छ । दलतन्त्र रहेको अवस्थामा यो एमाले र कांग्रेसको दुई दलीय सिन्डिकेटले अब लोकतन्त्रसँगै दलतन्त्र समेत खतरामा परेको छ । यसले मुलुकमा थप सङ्कटको सङ्केत गरेको छ’ आजपा अध्यक्ष साहले भन्नुभयो, ‘लोकतन्त्रको रक्षाका लागि अहिले आईटी आर्मीको महत्त्वपूर्ण भूमिकाको आवश्यकता परेको छ । यस्तो अवस्थामा आईटी आर्मी फ्रन्टलाइनमा आएर प्रतिकार गर्नुपर्छ । जस्तालाई त्यस्तै जवाफ दिनुपर्छ ।’
लोकतन्त्र बचाउनका लागि कांग्रेस र एमालेसँग जनताले आफ्नो भोट फिर्ता माग्नुपर्ने समेत उहाँले बताउनुभयो । आम निर्वाचनमा छुटाछुटै गठबन्धनबाट सहभागी भएका कांग्रेस र एमालेले जनतासँग भोट माग्ने बेलामा एउटा प्रतिबद्धता गरेको तर उनीहरू आफ्नै प्रतिबद्धता विपरीत सत्ता स्वार्थमा डुबेकाले जनताले आफ्नो भोट फिर्ता माग्नुपर्ने शाहले बताउनुभयो । ‘के भोट माग्ने बेलामा एमालेले कांग्रेसको नेतृत्वमा सरकार बनाउँछौ भन्या थियो ? के कांग्रेसले एमालेको नेतृत्वमा सरकार बनाउँछु भन्या थियो ? तर आज के भइरहेको छ, सङ्घदेखि प्रदेशसम्म उनीहरूले आफ्नै प्रतिबद्धता वितरित काम गरिरहेका छन् । यस्तो अवस्थामा उनीहरूले जनताको भोट फिर्ता गर्नुपर्दैन ?’ साहले प्रश्न गर्नुभयो ।