अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:५३ | Colorodo: 10:08

राप्रपा: आगामी निर्वाचनअघि नै महाधिवेशन, राजेन्द्र लिङदेनकै निरन्तरतामा एकमत

बिआरटीनेपाल २०८१ साउन १९ गते ७:१३ मा प्रकाशित

राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०को दुई दिने जिल्ला अध्यक्षहरुको भेला सकिएको छ । काठमाडौंमा भएको भेलाले जनचाहना र कार्यकर्ताको भावनाअनुरुप पार्टीलाई एकताबद्ध बनाएर अगाडि बढाउनुपर्ने निष्कर्ष निकालेको छ । सबल र सुदृढ राप्रपा बनाउने साझा र शक्तिशाली संकल्पका साथ भेला सकिएको प्रवक्ता मोहन श्रेष्ठले बताउनुभयो ।उहाँले भन्नुभयो, ‘यो भेलाले पार्टी संगठनलाई चुस्त दुरुस्त राख्दै २०८४ को निर्वाचनको तयारीमा लाग्नुपर्छ भन्ने निष्कर्ष निकालेको छ । सुस्त भएको पार्टी संगठनलाई चलायमान बनाउनुपर्छ भन्ने उद्देश्यले भेला राखेका थियौं, यो भेलाले पार्टीमा उत्साह थपेको छ ।’ आगामी निर्वाचन र पार्टीको महाधिवेशन एउटै समयमा पर्ने भएकाले त्यहीअनुसार तयारी गर्न पार्टी पंक्तिलाई भेलाले निर्देश गरेको छ । निर्वाचनलाई केन्द्रित गर्नेगरी अधिवेशनहरुलाई चाँडै सक्ने लक्ष्य पार्टीले लिएको छ । २०८२ बैशाख मसान्तसम्म हरेक स्थानीय तहको अधिवेशन सक्ने लक्ष्य लिएको छ । सक्रिय सदस्यता वितरण र पार्टी प्रवेशलाई अभियानकै रुपमा लानुपर्नेमा नेताहरुको जोड छ ।

‘राजेन्द्र लिङदेन पार्टीको अध्यक्ष भइसकेपछि एक सीटबाट १४ सीटमा पुगेको छ । त्यसलाई जोगाउँदै पार्टीभित्रको असन्तुष्टिलाई पनि सम्बोधन गर्दै अघि बढ्नुपर्ने चुनौती छ’, राप्रपाका एक नेताले भनेका छन्, ‘पार्टी सञ्चालनको क्रममा सांगठनिक कमीकमजोरी छन् भन्ने कुरा पनि आएको छ । त्यसलाई सच्याउन दबाब पनि छ ।’ अहिलेको सरकार गठन राम्रो मनसायले नभएको भेलाले निष्कर्ष निकालेको छ । भेलामा जिल्ला अध्यक्षहरुले आर्थिक समस्याको कारणले पार्टी चलाउन समस्या भएको गुनासो राखेका छन् । भेलामा निर्वाचनमा पार्टीले गर्ने चुनावी तालमेलको विषयमा समेत ख्याल गर्नुपर्नेमा जोड दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू