अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:११ | Colorodo: 01:26

सङ्गतले भत्काएको सपना

गोपी मैनाली २०८१ साउन १८ गते ८:५० मा प्रकाशित
हरि नामजस्तै असल थियो । साथीसँग होस् वा बाबाआमासँग उसले कहिल्यै नमिठो बोलेन । गुरुहरूको त हरि आँखाको नानी थियो । हुने बिरुवाको चिल्ला पात भने झैँ हरि सानैदेखि हरिजस्तै थियो ।
खोटाङ र काठमाडौंको दूरी त धेरै थिएन तर यातायात सुविधा राम्रो नभएकोले दुुर्गम थियो । जयरामघाटमा हिउँदमा फड्के हालेर काठमाडौ आउने बाटो जोडिन्थ्यो । खोटाङेहरूका लागि शहर आउने भनेको नै हिउँद थियो । जयरामघाटमा अस्थायी पुल पनि हुने, फुर्सद पनि हुने ।
यो हिउँदमा हरिका बाबा पण्डित जीवनाथ वर्षभरिको किनमेल र स्वास्थ्य उपचारको लागि काठमाडौं आउने कार्यक्रम हरिले थाहा पाएको थियो । बाबाले एकपाथीजति घिउ, पाँचसात पाथी बोडी बोकेपछि हरि आफू पनि शहर आउन पछि लाग्यो ।
‘जाओस् न त जाओस् । स्कुल बिदा छ क्यार ! अस्पताल जान साथी पनि हुन्छ । कति घरमा कोचिएर बसोस् ।’
पण्डितनीको पनि जोडदार आग्रह भएपछि जीवनाथले हुन्छ नभनी सुखै पाएनन् । बाटोको साथी पनि हुन्छ, शहरको चेतना पनि पाउला भनेर पनि हरिलाई ल हिँड् त भने । दश नकाटेको बच्चा आफै घाँडो बने के गर्ने भन्ने चिन्ता पनि थियो ।
आफूले जोहो गरेको पैसा र घिउ र बोडी बेचेर आउने पैसाले आफ्नो दीर्घरोग दमको उपचार गर्ने, छोरी सुनितालाई घाँगर, छोरो हरिलाई प्यान्ट सर्ट र पण्डितनीलाई फरिया चोलो ल्याउने सोच  जीवनाथले राखेका छन् । यही बहानामा पशुपति दर्शन गर्ने पनि उनको इच्छा छ ।
हरि फुरुक्क छ । बिदाको वेलामा शहर घुम्न जान पाएकोमा मनमनै मख्ख छ । पाए पशुपति, स्वयम्भू, भक्तपुर घुम्ने र सिनेमा पनि हेर्ने उसको इच्छा छ । नेपालीका गुरुले पशुपति, स्वयम्भू र सिनेमाको निबन्ध लेख्न दिएका थिए, हरिले यी कुरै नदेखी निबन्ध लेखेको थियो । स्याबासी त पायो तर आफूले लेखेको कुरामा आफैले विश्वास गर्न सकेको थिएन । आफूूले लेखेका निबन्ध र प्रत्यक्ष देखेको पशुपतिबीच कति फरक होला ? मनमनै गमेको छ ।
जीवनाथ र हरि शहर लागे । पहिलो चोटि खुर्कोट आएर बस चढ्दा हरिको खुसीको सीमा रहेन । सिङ्गै घर बाटोमाथि हिड्ने, तलतिर सुनकोशी, माथितिर पहाड, केही बेरमा दुम्जा, रोशी, मङ्गलटारको फलामे साँघु । यहीको नेवारबस्तीमा सेल, चिया र दही चिउरा खानेको भीड छ । हरिको आँखाले धेरै दृश्य कैद गर्‍यो, मनले के के सँगाल्यो के के ? सुनकोशी र रोशी जस्तै कञ्चन पानीमा मन डुबुल्की मादै अर्को दिन बाबाको हात समाउँदै हरि काठमाडौं खाल्टोमा छिर्‍यो ।
‘भोक लागेको छ ? के खान्छस् बाबु ?
बाटाभरि मोटर, मोटर साइकल, ट्रक, टेक्सी हेरेर रमाएको मनले के सुुन्थ्यो ? आफूअघि रोकिएको साझा बस गौर गरेर हेरिरहेको थियो ।
‘हरि केही नखाने भनेको ?’ बाबाको अलि ठूलै स्वर सुनेपछि बल्ल हरि झल्यास्स भो– ‘हुन्छ । खाने ।’
बागबजारको समोसा पसलको स्वाद हरिका लागि अमिट बन्यो । चम्चाले होइन, हातैले समातेर घ्वाप्प खान खोज्यो, बाबातिर फर्केर हे¥यो । ‘हातैले खाए पनि हुन्छ’ । बाबाको आदेश पाएपछि उसलाई के चाहियो ?तर समोसाभित्र के थियो, हरिले अनुमान गरेको थिएन । बाबाले भनेपछि खाने हो, अटाउने जति मुखमा हाल्यो ।आलु, बदाम, तरकारी, अचार सबै मिसिएको स्वाद । गाउँमा फुलौरा त आमाले धेरै पटक खुवाएकी छन् तर एउटा जातको हुन्थ्यो–कि फापरको, कि गहूँको, कि चामलको । राई तामाङ साथीकोमा भोल्टा पनि खाएको हो ।  समोसा त पीठो, तरकारी, अचार सबैको यौगिक रहेछ । त्यसैले शहरका मानिस रातापीरा भएका । मनमनै कुरा खेलाउँदै हरि कता हरायो कता ।
पुरेतको छोरा राघवको डेरा बागबजारमा आश्रय लिएका बाबाले गोडामा जिउ गरेर एक माने गोल्टिन बट्टाको घिउ पनि दिए । राघवले स्टोभ बालेर चम्सुुर पालुुङ्गोको साग, दाल र भात खाना पकाएर हरि र जीवनाथलाई खुवायो ।
राघवले खाना पकाएको देखेर हरि अचम्म पर्‍यो । मटितेलको स्टोभ, प्लास्टिकको पोकाको मसला, नून, प्लास्टिककै पाकेटमा दूध ..। बालक हरिको लागि कौतूुहलको विषय बन्यो । आमाले त सिलौटो पिध्नुहुन्थ्यो ।
भोलिपल्ट वीर अस्पतालमा बाबाको दम परीक्षण झनै आश्चर्य । अस्पतालका मेसिनहरू छोइएला कि भनेर कुुचुक्क परेर बाबाको पछि लाग्यो ।
बाबालाई औषधि, सुनितालाई कुुर्था, आमालाई पिलपिले फरिया र आफूलाई जीनको दर्‍हो पाइन्ट किने । त्यसपछिको प्राथमिकता डुल्ने थियो । अर्कोदिन खाना नखाई बाबासाथ हरि पशुपति लाग्यो । उसले निबन्धमा लेखेको धेरै कुरा मिलेको थियो । ठूलो सुनको साँढे, सिँढी, ब्रह्मनाल, बिरूपाक्ष, चौसट्ठी जोगिनी, श्लेषमान्तक वन आदि । दिउँसो स्वयम्भू पनि गयो । त्यहाँको सिँढी उक्लने क्रममा जीवनाथलाई दमले असजिलो बनायो ।
शहरमा रहँदा हरिले अर्को आश्चर्य पनि अनुुभव ग¥यो । राघवले माया गरेर उसलाई कलम, कापी र हिन्दी कमिकको रङ्गिन किताब पनि किनिदिएको छ । तीन चार पटक गुलाफ जामुन, दूधबरी, रसवरी, समोसा पनि ख्वाएको छ ।
राघवको व्यवहारले प्रश्न नसोधी हरिको मन मानेन । ‘बाबा त्यो राघव दादाले मलाई कति माया गरेको ?’
‘बाबु उनी ज्ञानी छन् । कलिलै उमेरमा मालपोतका खरिदार भए । पहिला गाउँका सचिव थिए । हाम्रा माननीयले मालपोतमा सरुवा गरिदिएका’ ।
‘सचिव भन्दा मालपोतको खरिदार राम्रो हो ?’
‘तँ अहिले बुुझ्दैनस् बाबु । मालपोतमा धेरै कारोवार हुन्छ के ।’
‘कारोवार भनेको के नि बाबा ?’
‘किनमेल के लाटा ।’
‘के किनमेल हुन्छ बाबा ?’
‘जग्गा, घर । के कत्ति सोधेको गोरु । आफूपनि धेरै पढ्नु अनि रावघ दाइजस्तै मालपोतको खरिदार बन्नू ।’
उसको मनले भन्न थाल्यो –मिठाइजस्तै जग्गा किन्ने ठाउँ । उसो भए मालपोतमा धेरै घर जग्गा हुन्छ ।
मनमा जे जस्ता कुराले रोटेपिङ खेलेपनि शहर घुमेर हरि मख्ख छ । बेग्लै आनन्द र अनुुभवमा छ ।
फर्किंदा सकी नसकी लुुगाको पोको हरिले बोक्यो । सुनिता, आमा र आफ्ना लागि किनिएका लुुगा, नयाँ लुुगाको वासना पनि आएको छ ।
शहरबाट फर्केपछि सुनिताले पनि दाइलाई धेरै माया गर्न थालेकी छ । साथीहरू पनि हरिलाई बेग्लै नजरले हेर्न थालेका छन् । आमा पनि छोरामा चेतना फैलिएकोमा दङ्ग छिन्, तर हरिमा कुने परिवर्तन छैन । उसको स्वभाव, काम, होमवर्क, खेल्ने बानी केही परिवर्तन छैन ।  मनमा भने एउटा अदवको विम्बले ठाउ जमाएको छ । शहर–मालपोत–भीडभाग–सिनेमा–पशुपति–समोसाको सगोल विम्ब ।
गाउँमा सबैको माया पाएको हरिले पढाइ पनि राम्रै गर्दै गयो । मायामा मातिएर बिग्रेन । सर मिसले पनि राम्रो गर्नेलाई माया गर्ने रहेछन् । हरिलाई मायाले सफलता मिल्यो, सफलताले माया मिल्यो । बाबाआमा पनि यतात्यता हरिको प्रशंसा सुनेर दङ्ग छन् ।
प्रवेशिकापछि गाउँमा पढ्ने कलेज छैन । खोटाङ जिल्लाले केही अघिदेखि सरकारी जागिरमा वर्चस्व देखाएको थियो, त्यो पनि काठमाडौ, विराटनगर र बनारस पढेर । पण्डित जीवनाथले पनि जजमानी र खेती गरेर सँगालेको सानोतिनो रकमले हरिलाई काठमाडौं पठाउने निधो गरे । हरि कुलतमा फस्दैन भन्नेमा उनी ढुक्क छन् ।
नामजस्तै हरि सबैका लागि हरि थियो । साथीहरू हरिसँग छुटिन परेकोमा दुःखी थिए । सबै आआप्mना अभिभावकको खटनमा जीवन बनाउन लाखापाखा लागे । कोही विराटनगर, कोही धरान, कोही व्यापार व्यवसायमा । धेरैले पढाइ छाडेर खेती किसानीमा परिवारलाई सघाउन थाले ।  हरिको छापले भने कसैलाई छाडेन ।
छर छिमेक र गाउँमा हरिको प्रशंसा फैलियो –त्यो पुरेत जीवनाथको छोरा हरि सज्जन ।
पधेर्नीहरू पनि गफ गर्छन् –हरि धेरै सज्जन । त्यतिलाई लोग्ने पाउने भाग्यमानी हुन्छे ।
गोठाला जाने दौतरी भन्दैछन् –त्यसले हामीलाई त भुल्दैन होला नि !
प्रेमलालको छोरोले गाउँमा उधुम मच्चाएपछि गाली गर्दै भन्दै थिए–छोरो हुनुत हरिजस्तो पो ! मैले के पाप गरेँ र तँजस्तो धुन्धुकारी जन्माएँ ।
हो उसको अनुहार नै धपक्क बलेको, निर्दोष चेहरा, विनम्र बोली, विनयशील व्यवहार । कहिले कसैलाई चित्त दुखाएन । ईख राखेन । यति सहनशील र बेईख हुनुुले त कहिले असजिलो पनि पर्छ । वनपातमा पनि सिधा रूख काटिनेमा पहिलो हुन्छ ।
हरि काठमार्डौ गएपछि सबैले आआफ्ना प्रतिक्रिया दिइरहेका छन् ।
जीवनाथ छोरालाई त्रिचन्द्र कलेजमा भर्ना गरेर खोटाङ फर्के । डेरा भने पहिला समोसा खाएको ठाउँ बागबजारमा, छिँडीको कोठा कायम भयो । आफैँले खाना बनाउने, कुचो लगाउने, भाँडा सफा गर्ने जिम्मेवारी थपिएको छ । मनमनै सोच्यो – काठमाडाँै त पहिला आउँदा भन्दा बदलिएछ । भीडभाड निकै बढेछ । मोटरहरू थोत्रा भएछन् । रहरले पहिलाकै पसलमा समोसा खान गयो । समोसा नमिठो नभएपनि पहिलाजस्तो स्वादिलो छैन । रत्नपार्कलाई त सहिद पार्क भनिएछ तर पहिलाजस्तो रङ्गीचङ्गी छैन । यात्रुु ओराल्ने–उकाल्ने ठाउँ बनेछ । जताततै भीडैभीड । खुलामन्च पनि खुला रहेनछ, सैनिकमञ्चको छेउमा फोहोरको थुप्रोले बाहिरबाट केही नदेख्ने भएछ । एउटा बुढो घण्टाघर, बीचको रानी पोखरी र अर्को किनारमा रहेको दरबार स्कुलका भानुभक्त बाजे भने हातमा किताब लिएर शहरका साक्षी बनिरहेका छन् । समयले साक्षीलाई भने परिवर्तन गरेको छैन ।
कलेजका रामहरि, नवराज र केशवहरू रामेछाप, भोजपुर र ओखलढुङ्गाका थिए । पहाडिया साथीसँग हरि छिटै घुलमिल भयो । कलेजले परिचय कार्यक्रम पनि राखेको थियो । विस्तारै साथीको वृत्त फराकियो ।
राम्रो पढ्ने साथीका वरिपरि साथीहरू भैहाल्ने । पढ्नभन्दा राजनीति गर्न पनि साथीहरू तम्सिएका देख्दा हरिलाई अचम्म लाग्थ्यो ।
यज्ञ पढ्न पनि उम्दा, जागिर पनि खान्थ्यो । घरबाट सामल खर्च नल्याईकन पढ्ने हरिको इच्छा । यज्ञ शालीन थियो तर महत्त्वाकाङ्क्षी पनि ।
काठमाडौंको व्यस्त, जटिल र आआफ्नै धन्दाका मानिस भएको वातावरण हरिलाई मन परेको थिएन । गाउँको सादगीपन र सहयोगी भावना शहरमा थिएन । सब आआफ्नै ध्याउन्नमा दौडिएका छन् । त्रिचन्द्र कलेजको पहिलो भवनबाट तलतिर हेर्दा हरिलाई अत्यास लाग्थ्यो–फटाफट हिँडेका मानिस, सडकमा प्याँप्याँ पीँपीँ गर्दै तछाडमछाड गरिरहेका मोटरहरू, सडक किनारका संस्तो बजार, छेउको प्रहरी कार्यालयको माइकिङ । प्रहरी सडक निगरानीमा छ, नगरपालिलका फुटपाथ निगरानीमा, सडक बालबालिका आँखा झिम्क्याउन नपाई सामान उडाउने दाउमा छन् । शहरले हरिलाई भित्रैबाट माया गरेन, हरिले पनि शहरलाई रुचाएको छैन, । हार्दिक पनि नहुने, छुटिन पनि नसक्ने बाध्यताको सम्बन्ध । त्यसो त शहरले भित्रैबाट कसलाई माया गर्छ र ?
सँगै उभिएको यज्ञतिर हेर्दै हरिले भन्यो– ‘सुन त यज्ञ कति उराठ र स्वार्थी छ शहरको वातावरण । कसैको कसैलाई मतलव नै छैन’ ।
‘होइन हरि यो शहर हो । सबै आआफ्नै ध्याउन्नमा हुनुु नै शहर हो ।’
‘मलाई त शहर भनेको सुन्दर, सभ्य र शालीन हुन्छ भन्ने थियो ।’ 
‘यसरी पनि बुुझ न हरि । वाँच्नका लागि मानिस व्यस्त छन् । श्रममा रमाएका छन् । गाउँमा जस्तो होइन । आफ्नै खुट्टामा उभिन पर्छ । त्यसो भएर पो शहर ।’
यज्ञको भनाइपछि हरिको भावना बदलिन थाल्यो । सोच्न थाल्यो बाँच्नका लागि मानिस गाउँमाभन्दा शहरमा परिश्रमी हुँदा रहेछन् । सबै परिश्रममा दौडिरहेका छन्, भीडभाड त जीविकाको लागि पो रहेछ । रिक्सा, नोल, डोको डालो, ठेला, भारी, टेम्पो, पेटी बजार, कुल्फीबरफ, साइकल, मोटरसाइकल, बस मिनीबस सबै परिश्रमका रूप ।
गाउँमा पनि श्रम छ तर सहयोग छ । धेरै कुरा आफै उब्जाउछ, छरछिमेकबाट सहयोग पनि । कहिले पढाइ सकेर जागिरमा लागौँला परिश्रम गरौँला । बाबा आमाको भार हटाउला, सुनितालाई मन पर्ने कपडा किनौला । बाबा आमाको भार कति दिन बन्ने । यज्ञको जस्तो सानोतिनो जागिर भएपनि बाबा आमाको भार घट्थ्यो ।
‘यज्ञ बि ए पास गरेपछि शाखा अधिकृत भएर राम्रो उदाहरण दिनुपर्छ बुुझ्यौ । तिम्रो कुराले मलाई धेरै क्लिक गर्‍यो ।’
‘पास गर्न मिहेनत गर्नुपर्छ । सकिन्छ तर ६–८ महिना पढ्नुपर्छ । मेरो पनि चाहना त्यही छ ।’
‘बिग्रेको ठाउँ, समस्या भएको ठाउँमा खासा काम गर्नुपर्छ । सरहरू मालपोत, श्रम, अध्यागमन, यातायातमा बेथिति बढेर जनताले दुःख पाएको कुरा गर्नुहुन्छ, त्यस्तै ठाउँ सपार्नुपर्छ ।’
पछिल्तिर बसेका घले, रञ्जन, माने, विलेहरूलाई हरि र यज्ञको कुराकानी सुनेर आश्चर्य लागेछ । मानेले भनिहाल्यो –‘ओ बाहुन चरी तिम्रो कुरा त बडा आदर्शको छ । आफू त जागिर पास गर्न सकियो भने हानिन्छ ठूलै । मोज गरिन्छ मोज । तिमीहरूलाई जीवनको मोज भन्ने थाहा छैन क्या’ ।
यी साथीहरू बाउको सम्पत्ति उडाइरहेका छन्, जीवन बर्बाद गरिरहेका छन् । पर्खालमा बसेर खैनी खाने, केटी जिस्क्याउने कामले उनीहरूलाई कति आनन्द दिएको ? तर एउटा कुरा भने राम्रो छ, यस्ता दब्स साथीहरू लुकाएर कुरा गर्दैनन्, डाढ आरिस गर्दैनन् । हरि मनमा कुरा खेलाउँछ ।
यस्ता धेरै कुराकानीमा आफ्ना दब्स ग्रुपका साथीहरूलाई हरि सम्झाउँथ्यो र थाक्थ्यो पनि । नीति कथा सुनाउँथ्यो र आफै उपहासको पात्र बन्थ्यो । उसलाई दब्सहरू हा गरेर उडाइदिन्थे । कलेजको पर्खाल चढेर समय काट्ने साथीहरू पहाडी चरो भनेर चरोको भाकामा खिज्याउँथे पनि । यसले हरिको पढाइ यात्रालाई ऊर्जा नै दिन्थ्यो ।
यज्ञ हरिलाई भन्दैथियो – ‘हरि मलाई त यी साथीहरूको मुख देखेर कलेज आउनै मन लाग्दैन । छोडूँ छोडूँ  लाग्छ । सके त तिमीलाई जिस्क्याएको देख्दा पकापक हानिदिन्थे ।’
‘त्यसो भन्नुहुन्न यज्ञ ! तिम्रो रगत अलि तातो रहेछ । साथीहरू हुन् । तिनीहरूले भित्री माया गर्छन् के । साथीले पनि अर्को साथीको कुुभलो गर्छन् र ? त्यो हसी मजाक हो । त्यसै गर्दा उनीहरूलाई मजा आयो । मजा मानून् । कुनै दिन बुद्धि फिर्ला नि !’
स्नातकको परीक्षाफल पनि प्रकाशित भयो । राजनीति गर्ने र बरालिने धेरै साथीहरू फेल भएछन् । यज्ञ र हरि उच्च अङ्कमा पास भए ।
यज्ञ एउटा खुुट्किलो पार गरियो । बाबाआमा कति खुुसी हुनुभएको होला । अब शाखाअधिकृत तयारी गरौँ ।
‘हुन्छ हरि ! मसँग मनिराम अग्रवालको सामान्य ज्ञान, कम्पिटिशन सक्सेस, कानूनका किताब छन् । हामीले पढेको नेपाल परिचयहरू पनि काम लाग्छ । ज्ञानेश्वरको बृहत् ज्ञान कोश, मैनालीको राज्यसञ्चालनका आधारहरू पनि छ मसँग, लगेर हेर्दै गर ।’
‘लोकसेवा पास गर्नु कलेजजस्तो सजिलो छैन भन्छन् ।’
‘केही असजिलो हुँदैन हरि । मैले ना.सु.सम्म पास गरेको आधारमा असजिलो छैन । तिमीजस्तो मिहेनतीका लागि त झनै असजिलो छैन । अलि फरक शैलीमा दृष्टिकोण र व्यावहारिकता दिन सक्ने गरी लेख्न सकियो भने झनै सजिलो छ । सबै घोक्छन् । हामी लेखन अभ्यास पनि गरौं ।’
‘यज्ञ इन्स्टिच्यूटमा तयारी कक्षा लिनुपर्छ भन्छन् । बाबासँग कति पैसा माग्नु ?’
‘जरुरी छैन । समय किन बर्वाद पार्ने ? आफै अभ्यास गरौं न ।’
हरि यज्ञले दिएको किताब र पुराना प्रश्न पत्रमा अभ्यास गर्न थाल्यो । राम्रो गरेर अधिकृत पास हुने र राम्रै गरेर राष्ट्रसेवा गर्ने हरिको अभीष्टले हरिलाई तान्दै लग्यो ।
अर्को वर्ष हरि र यज्ञ दुवै लोकसेवा पास भए । हरिको नाम त योग्यता क्रमको सिरानमा थियो ।
‘ए हरि तैंले हानिछस् नि । हामी त बिए.मै ड्याङ खायौं’ । अखिलका सभापति केशवले भने ।
नेविसङ्घका रामहरि पनि बधाई दिन आइपुुगे । केशव र रामहरिको पानी बाराबार पनि तोडियो, त्यो पनि लुरे साथी हरिलाई बधाई दिने निउँमा ।
रामहरिले पनि माला लगाइदिएर भन्यो– ‘हामी त बिग्र्यौं । नभूल नि !’
‘तिमीहरू राजनीति गर्ने साथीहरू । मन्त्री भएर आउला । म त सामान्य कर्मचारी । मिलेर सुधार्नुपर्छ । हामी आआफ्नै फिल्डबाट प्रयास गरौं । के बिग्रनु, राजनीति त उम्दा नीति हो । राजनीतिले धेरै बाटो बिराएको छ । मेरोभन्दा तिमीहरूको भूमिका धेरै हन्छ ।’
फेरि रामहरिले थप्यो–‘हो असल मानिस जता पनि खाँचो छ । अहिले झन् खाँचो हुन थाल्यो । नभएको कुराको खाँचो हुने रहेछ ।’
पास फेल अलग कुरा तर रामहरिको कुराले हरिलाई अर्को क्लिक दियो । हो त नि राम्रा मानिस शिला खोज्नुपर्ने अवस्था छ । राम्रा मानिस जता पनि खाँचो छ । श्रम गरोस् कि जागिर खाओस् वा राजनीति गरोस् । इमान्दारिता छ भने राष्ट्रसेवा त्यही हो ।
हरि मनमनै सोच्न थाल्यो । जाने कहाँ होला ? कलेजका साथीहरूको, सरहरूको कुराहरू सम्झ्यो । सेवा निकायमा सेवाग्राही भीड हुने बेथिति भएको कार्यालयमा जाने निधो ग¥यो ।
‘यज्ञ तिमी कहाँ जाने भयौ?’
‘भनेको कहाँ हुन्छ ? तिमी भर्खर जागिरमा आएका छौ, पछि थाहा पाउला । पाए त म सिडिओ कार्यालय जाने । तिमी नि ?’
‘म त पाए मालपोत गएर त्यहाँका कमजोरी सुधार गर्ने इच्छा छ ।’
नभन्दै हरिको योग्यता क्रमका कारण रोजेकै कार्यालयमा पदस्थापन भयो । कमजोरी हटाएर सेवाग्राहीलाई मन जित्नेगरी सेवा गर्ने सोचले सार्थकता पायो । डेरामा पनि एक्लै भएकोले कार्यालयको काममा मनग्गे ध्यान दिन सजिलो भयो । सकेजति सुधारका काममा लाग्यो । सेवाग्राही आउने बित्तिकै फिसिक्क हाँसेर नमस्कार गर्दै ‘यहाँलाई के सेवा गरौं’ शिष्टाचारबाट काम थाल्ने हरिको व्यवहारले केही हप्तामै यहाँ पनि सबैको हरि बन्यो ।
बद्री, मनोहर र शिवसँग हरिको हेलमेल थियो तर साथीहरू हरिलाई तौलिँदै थिए । हरिको सेवामुखी भावना र सुधार शैलीलाई विरोध पनि गर्न सक्दैनथे, अन्तरात्माले स्विकार्न पनि सक्दैनथे । साथीहरू बिचौलियासँग राम्रै हिमचिममा थिए । हाकिम पनि हरिलाई तौलिँदै थिए ।
एकदिन हाकिमले अनायास बोलाएर हरिलाई भने–‘हरिजी तपाईंको काम राम्रो छ । अलि व्यावहारिक पनि बन्नुपर्छ । सेवाग्राहीलाई धेरै लिफ्ट दिनुहुन्न, टाउकोमा टेक्छन् । साथीहरूको कुरा पनि सुन्नुहोस् । उनीहरू धेरै अनुुभवी छन् । हामी पनि राष्ट्रसेवा नै गरिहेका छौं । सेलिब्रेटी बन्नुहुँदैन ।’
‘केही गल्ती भयो ?’
‘त्यसो भनिन । साथीहरूसँग मिल्नुस् । लेखनदासहरूले पनि सेवा व्यवस्था सहजीकरण नै गरिरहेका छन् । उनीहरूलाई पनि महत्व दिन सिक्नुहोस् मात्र भनेको हो ।’
हाकिमको भनाइपछि हरिको मन पिङ मच्चिएझैँ भयो । बाटोभरि पनि साथी, बिचौलिया, हाकिम र सेवाग्राहीका आकृतिहरू आइरहे । बागबजारको ओसिलो छिँडी कोठामा पुुगेको पनि थाहा भएन ।
‘साथी र बिचौलिया त ठीक छैनन् तर हाकिमले किन त्यसो भनेका होलान् ।’
बाबासँग पहिलो पटक शहर आउँदा राघवले दाइले सहयोग गरेको, मीठामीठा परिकार खान दिएको, बाबाले उहाँले धेरै पैसा कमाएको भनेको चित्रहरूएकएक गरी आउँदै फेरिँदै गरे ।
मनका पानाहरू पल्टाउँदै गयो – सुधार गर्न सकिँदैन । निकै कठिन छ । एक्लो परिन्छ । एक्लो बृहस्पति झुटो । ममात्र किन आदर्श बन्ने ? अर्को मनले मानेन–अझ कडा हुनुपर्छ । नबिराउनु नडराउनु । राम्रो काम गर्दा मन्त्री, सचिव, महानिर्देशक सबैले सहयोग गर्नुपर्छ । सुधारबाट पलायन हुने होइन ।
हरिलाई थाहा छ, उसका साथीहरू राम्रा छैनन् तर सङ्गत छाड्न सकेन । बोलचाल गर्ने, उठबस गर्ने अरू विकल्प थिएन । मनले नस्विकारेका साथीहरूसँग नै साँझ, बिहान, चिया खाजा गर्दै रह्यो ।
हरि कार्यालयमा व्यस्त थियो, बद्री र शिवले खाजा खान जान आग्रह गरे । ‘हरिजी खाजा खाने होइन ? कति खटेको भन्या ? छातीले तक्मा नधान्ला नि ।’
‘मोठ भिडाउँदै छु । यो काम सक्न देऊ । पाँच सात मिनेट ।’
खाजा घरमा हरि शिव र बद्रीको बीचमा बसेको थियो । सबैजना सेलरोटी र तरकारी खान थाल्यो । यत्तिकैमा एउटा कागजको ठूलोखाले खाम हरिलाई राखिदिनुस् त भन्दै बद्री एक लेखनदासजस्तो देखिने मानिससँग बाहिरियो । पाँच मिनेटपछि उनीहरू आएर खाजा खान थाले । खाना सकिने बित्तिकै अख्तियारको टोलीले बद्री, शिव र हरिलाई अख्तियारको टोलीले नियन्त्रणमा लियो । हरिलाई उसले राखिदिएको कागजको खाम ब्याग खोल भन्ने आदेश टोलीले ग¥यो । हरिले यो मेरो होइन, बद्रीजीको, एकछिन समाइदेऊ भनेर शौचालयतिर जानुभएको .. भन्दै थियो तर उसको आग्रहको कुनै अर्थ रहेन । व्याग खोल्दा डेढ लाख रुपैयाँ भेटियो । टोलीका मानिसहरूले सोको प्रकृति मुचुल्का बनाए । तिनैजनालाई टोलीले कार्यालयतिर लग्यो ।
एक घण्टा नबित्दै अनलाइन पत्रिकाका पानाभरि मालपोत अधिकृतहरू रङ्गेहात पक्राउ, सुशासनका लागि थप प्रयास, बिचौलिया र प्रशासनको सेटिङमा सेवाग्राही बिचल्ली आदि शीर्षकले रङ्गिइसकेका थिए ।
टिभीको स्क्रोल न्यूजमा हेरेर गाउँमा बाबाआमा, सङ्गीता छाँगाबाट खसेसरह भएका थिए । साथीहरू पनि सुधारको कुरा गर्ने दैवजस्तो मानिसलाई के भएको ? के उसको मन नै बिग्रिएको हो ? जस्ता चर्चा गर्न लागे ।
प्रारम्भिक वयानमा हरि दोषी ठहरियो । बद्री र शिवले उससँग खाजा खान गएको, त्यहाँभन्दा बढी केही थाहा नभएको वयान दिए । बद्री विभागीय मन्त्रीको मानिस थियो, पटक पटक पावर लगाएर त्यहाँ गएको । शिव पनि मन्त्रीका निजी सचिवालयमा पकड जमाउँदै आएको मान्छे । उनीहरूलाई कसले छुने ? चलाखी र धुत्र्याइँ जानेका थिए ।
हरिले यथार्थ कुरा कडा शब्दमा भन्यो तर त्यसको कुनै अर्थ रहेन । उल्टो बद्री र शिवले उल्टोसुुल्टो भनेर आफूहरू पानी माथिको ओभानो बने ।
हरिले अल नरम हुँदै भन्यो–होइन सर म त काम गर्दै थिएँ, साथीहरूले खाजा खान अनुरोध गरे । खाजा खान मन पनि थिएन, सेवाग्राहीको भीड थियो । शौचालय गएको वेलामा यो हेर है दुई मिनेट भनेर राखिदिएको मात्र हूँ । यसमा मेरो के दोष ? सेवाग्राहीलाई सोध्नुहोस् न मैले कसरी काम गरेको छु ।’
प्रहरीले त्यो केही सुनेन । ‘सबै घुस्याहा यसै भन्छन्’ ।
‘ए म घुस्याहा ?’
‘अनि को त ? कसको थैलोबाट पैसा निस्कियो ? तिमी मालपातेहरूको सबै कुरा थाहा छ । अभिनय नगर । अपराधीहरू अभिनय खुवै गर्छन् ।’
‘अपराधी’ शब्दले हरिको मन मरे सरह भयो । उसका सपना चक्नाचुर भएको थाहा पायो । फसेको थाहा पायो । हाकिमले व्यावहारिक भनेको पनि थाहा पायो ।
हरिको निष्ठा अपहरण भइसकेको थियो । बचाउने कोही थिएन । कारागारभित्रै आत्महत्या गर्ने प्रयास ग¥यो । कुप्रिएका वृद्ध बाबा र दुःखले निधार धाँजा परेकी आमाका अनुहार उसका अगि आए । हरिले मुुद्दा हा¥यो । बिगो दण्ड तिर्न पनि खोटाङकै पाखो बेच्नुप¥यो । दण्ड तिरेर बाँकी पैसाले सानोतिनो व्यापार गरेर काठमाडौं नै बस्ने निधो ग¥यो र बाबा आमालाई पाल्दै सुनितालाई धोको पुुगुञ्जेल पढाउने अठोट ग¥यो ।
बाबा आमालाई भन्दै थिए–‘हरिजस्तो मेरो हरिलाई कसले बिगारे, कसले फँसाए? तिनीहरूलाई राम्रो हुँदैन । यो कलियुुग, पाप छिटै धुरीबाट कराउँछ ।’
आमा भन्दै थिइन् ‘जे भन्नुहोस् हरिका बाबा । हाम्रा सपना एकैसाथ डँढेलो लागिहाल्यो ।’
दुवैको गला अवरुद्ध भयो । हरिले सुनेर बाहिर आएर भन्यो – ‘हजूरहरू कुनै पीर नमान्नुहोला । म छु नि म । सत्य कहिल्यै हार्दैन । मेरो निष्ठा कहिल्यै हार्दैन’ ।
आजभोलि हरि त्यै मालपोत कार्यालयको अगिल्तिर चिया सेल, समोसाको खाजा पसल थापेर बसेको छ । धेरै मानिसहरू, मालपोतका बिचौलियाहरू, आफ्नै साथी भनाउँदाहरू पनि खाजा खान आउँछन् । बद्री र शिवलाई भने चिया पसल पस्न सक्दैनन् । लजाएर हिँड्छन् । पसल राम्ररी चलेको छ । कतिले पसलको नाम नै सुशासन चिया घर भनेका छन् ।
सर्वोच्च अदालतले हरिलाई निर्दोष फैसला ग¥यो तर हरिलाई जागिर फर्केर हेर्न मन लागेन । मनमनै गम्यो – ‘शहर र साथीहरू त निष्ठा र सपनाका हत्यारा रहेछन् । मेरा सपना र निष्ठा अपहरण गर्नेहरू …शहरले मजस्ता कतिलाई भत्कायो होला ?’ (मैनालीको हालै लोकार्पित विशृंखलित सपना कथासंग्रहबाट)
००
मैनाली निवास, क्षितिज मार्ग
शङ्खमूल, काठमाडौं ।