अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:२५ | Colorodo: 04:40

भेनेजुएलामा मादुरो र विपक्षी दुवैले राष्ट्रपतीय निर्वाचन जितेको दाबी गरेपछि तनाव

बिआरटीनेपाल २०८१ साउन १५ गते ८:०२ मा प्रकाशित

भेनेजुएलाको राष्ट्रपतीय निर्वाचन हालका राष्ट्रपति निकोलास मादुरो र विपक्षीका साझा उम्मेदवार एडमुण्डो गोन्जालेज दुवैले जितेको दाबी गरेपछि त्यहाँ तनाव बढेको छ।अन्तर्राष्ट्रिय मत सर्वेक्षकहरूले विपक्षी गोन्जालेज विजयी हुने भनेका थिए। तर मादुरोको समाजवादी पार्टीका सदस्यको नेतृत्वमा रहेको निर्वाचन गर्ने निकायले ६१ वर्षीय मादुरो निर्वाचित भएको घोषणा गर्‍यो। चुनावको नतिजा घोषणा गर्न ६ घण्टा ढिलो गर्दै सो निकायले मादुरोलाई विजयी घोषणा गरेको थियो। उसका अनुसार मादुरोले ५१ प्रतिशत मत प्राप्त गरे भने गोन्जालेजले केवल ४४ प्रतिशत भोट पाउनुभयो।

निर्वाचन गर्ने निकायले ढिलाइका लागि ‘आतंककारी’ लाई दोष दिए पनि विपक्षीले धाँधली गर्न ढिलो गरेको आरोप लगाउँदै आफ्नो उम्मेदवार विजयी भएको दाबी गरेका छन्। मादुरोले धाँधली गरेको भन्दै विपक्षीहरूले विरोध प्रदर्शन सुरू गरिसकेका छन्। सरकारले हिंसात्मक दमन गरेर विरोधलाई मत्थर पार्न खोज्यो भने आर्थिक संकट भोगिरहेको भेनेजुएला थप मुस्किलमा पर्नेछ।

सबैभन्दा लोकप्रिय विपक्षी नेता मारिया कोरिना माचादोसँग हार्ने डरले मादुरो सरकारले उनलाई चुनाव लड्न रोकेको थियो। त्यसपछि ७४ वर्षीय पूर्वकूटनीतिज्ञ गोन्जालेजका पछाडि सबै विपक्षी गोलबद्ध भएका थिए। गोन्जालेजले जितेको दाबी गर्दै विपक्षीले आफूसँग चुनावमा धाँधली भएको प्रमाण समेत भएको दाबी गरेका छन्। भेनेजुएलाका हरेक मतदान केन्द्रले त्यहाँको नतिजा कागजमा छाप्छन्। देशैभरिका मतदान केन्द्रले त्यस्तो नतिजा निर्वाचन गर्ने निकायलाई विद्युतीय माध्यमबाट पठाउँछन् र सो निकायले तिनै नतिजाहरूलाई जोडेर निर्वाचन परिणाम घोषणा गर्छ।

मतदान केन्द्रले छापेको नतिजा विपक्षीलाई पनि प्रमाणित गर्न उपलब्ध गराउनुपर्छ। तर यसपटकको निर्वाचनमा करिब ४० प्रतिशत मतदान केन्द्रले मात्रै त्यस्तो नतिजा सार्वजनिक गरेका छन्। विपक्षी नेतृ माचादोले आफ्ना कार्यकर्ताले करिब ७३ प्रतिशत मतदान केन्द्रबाट नतिजा हात पारेको र त्यसका आधारमा गोन्जालेजले मादुरोभन्दा लगभग ३५ लाख बढी मत प्राप्त गरेको दाबी गरेकी छिन्। आफूहरूसँग कागजमा छापेका ती नतिजाको ठेली रहेको दाबी गर्दै उनले विपक्षी समर्थकलाई विजय उत्सवमा सहभागी हुन आह्वान गरेकी छिन्।

मादुरोलाई निर्वाचित घोषणा गरेलगत्तै भेनेजुएलाजस्तै तानाशाही व्यवस्था भएका चीन, इरान, रूस र सिरिया जस्ता देशले उनलाई बधाई दिएका छन्। तर अमेरिका लगायत पश्चिमा देश र युरोपेली संघ अनि संयुक्त राष्ट्र संघले गम्भीर चिन्ता व्यक्त गर्दै नतिजामा पूर्ण पारदर्शिताको माग गरेका छन्।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू