अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:५१ | Colorodo: 05:06

भेनेजुएलाको राष्ट्रपतिमा तेस्रो पटक निकोलस मदुरो विजयी

बिआरटीनेपाल २०८१ साउन १४ गते ७:५१ मा प्रकाशित

भेनेजुएलाका वर्तमान राष्ट्रपति निकोलस मदुरो आउँदो कार्यकालका लागि पनि निर्वाचित हुनुभएको छ । आज बिहान सकिएको मतगणनामा मदुरो ५१ दशमलव २० प्रतिशत मत प्राप्त गरेर विजयी हुनुभएको समाचार संस्था रोयटर्सले जनाएको छ । राष्ट्रिय निर्वाचन परिषद्का प्रमुख एल्विस अमोरोसोले मदुरोले ५१ दशमलव २० र उहाँका मुख्य प्रतिस्पर्धी एडमन्डो गोन्जालेजले ४४ प्रतिशत मत पाएको घोषणा गर्नुभएको छ । तर विपक्षी पार्टीले चुनावमा धाँधली भएकाले परिमाण अस्वीकार गर्ने चेतावनी दिएको छ ।

चुनावअघिका जनमत सर्वेक्षणले गोन्जालेजलाई मदुरोभन्दा निकै अघि रहेको देखाएका थिए । लगातार तेस्रो कार्यकालका लागि पनि निर्वाचित भएपछि निकोलस मदुरोले आफ्नो जीतलाई शान्ति र स्थिरताको जीत भएको बताउनुभएको छ । उहाँले भेनेजुएलाको निर्वाचन प्रणालीको प्रशंसा गर्दै विपक्षीले हरेक चुनावमा भन्ने गरेको धाँधलीलाई अनावश्यक चिच्याहटको संज्ञा दिनुभएको छ ।

भेनेजुएलाको सबैभन्दा नजिकको मित्रदेश क्युबाले मदुरोलाई बधाई दिँदै यसलाई नागरिक र क्रान्तिको विजयीका रूपमा व्याख्या गरेको छ । तर अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले भने घोषित परिणामले भेनेजुएलाका नागरिकको इच्छा वा मत प्रतिबिम्बित नगर्नेमा संयुक्त राज्य अमेरिकालाई गम्भीर चिन्ता रहेको बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू