सांसदहरूले कास्कीको पोखरा महानगरपालिका–२१ मा दुर्घटनामा परेको विद्यार्थी बोकेको स्कुल बसको विषयबारे सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधि सभाको आजको बैठकको आकस्मिक समयमा सांसद शिव नेपालीले तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको निष्कर्ष रहेको उल्लेख गर्दै विद्यालयको बसको गति सीमित बनाउने नियम बनाउन र नियमन गर्न सरकारलाई सुझाव दिनुभयो ।
कास्कीको पोखरा महानगरपालिका–२१ मटिखान नजिकै एलपी देवकोटा मेमोरियल इङ्लिस बोर्डिङ स्कुलको बस आज बिहान दुर्घटनामा परेको थियो । दुर्घटनामा ६ वर्षीय प्रिन्स विक र ३३ वर्षीया आरती विकको ज्यान गएको छ । दुर्घटनामा विद्यार्थीसहित २३ जना घाइते भएका छन् ।
सांसद नेपालीले उड्नेबाट यात्रा गरे शव नै नचिनिने र गुड्नेबाट यात्रा गरे शव नै नभेटिने अवस्था रहेकाले दुर्घटना न्यूनीकरणमा सरकारको ध्यान जानुपर्ने बताउनुभयो । यस्तै सांसद अब्दुल खानले पोखरामा भएको स्कुल बस दुर्घटनामा परेका विद्यार्थीको उपचारमा ध्यान दिन सरकारसँग माग गर्नुभयो ।