अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:२८ | Colorodo: 22:43

फेरी एक होऔं, शक्तिशाली कम्युनिस्ट पार्टी बनाऔं – वामदेव गौतम

बिआरटीनेपाल २०८१ साउन १२ गते ६:११ मा प्रकाशित

नेकपा एकता अभियान नामक समूह चलाइरहेका नेकपा एमालेका पूर्व उपाध्यक्ष बामदेव गौतमले देशलाई शक्तिशाली कम्युनिस्ट पार्टी चाहिएको बताउनुभएको छ । शनिबार पुष्पलाल स्मृति प्रतिष्ठानले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै गौतमले त्यसका लागि पुनः कम्युनिस्ट घटक जोडिनुपर्ने ठहर गर्नुभयो । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसमेत उपस्थित रहेको कार्यक्रममा गौतमले फेरी कम्युनिस्ट घटकबीच एकताको पनि आह्वान गर्नुभयो ।

‘हामीलाई एउटा शक्तिशाली कम्युनिस्ट पार्टी चाहिएको छ कि छैन? शक्तिशाली कम्युनिस्ट पार्टी चाहिएको छ भने कुनै पार्टीबाट निर्णय गरेर त्यो अभियानको रूपमा सञ्चालन गर्नुपर्छ। एउटै पार्टी बन्नुपर्छ,’ गौतमले भन्नुभयो, ‘भएको पार्टी फुट्दै जाने, फुट्दै जाने अनि एउटाले समाजवादी क्रान्ति गर्ने, अर्को के क्रान्ति गर्ने ? अर्कोले के क्रान्ति गर्ने हो ? हुन्छ त्यसरी क्रान्ति ?’

मतभिन्नता छ भने सँगै बसेर हल गर्न सकिने गौतमले दाबी गर्नुभयो। उहाँले भन्नुभयो, ‘त्यसो भएर म यहाँ प्रस्ताव राख्छु, तपाईंहरूलाई मन्जुर छ भने अलिखेर तपाईंहरूले उठेर नेपालको कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्नको निम्ति हामीले आज पुष्पलाल प्रतिष्ठानबाट आयोजना गरिएको यो जन्मशताब्दी कार्यक्रममा हामीले एउटा प्रस्ताव पारित गरौँ।’ गौतमले त्यो प्रस्तावमा ‘नेपालको कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्न गर्नेछौँ र एउटै कम्युनिस्ट पार्टी बनाएर समाजवाद निर्माण गर्नेछौँ’ भन्ने प्रस्ताव रहेको खुलासा गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू