अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:२८ | Colorodo: 21:43

माओवादी पदाधिकारी बैठक- पार्टी निर्माणबारे गम्भीर समीक्षा, विचारको विकास गरी जनतामा जान सुझाव

बिआरटीनेपाल २०८१ साउन ११ गते ६:२२ मा प्रकाशित

नेकपा माओवादी केन्द्रले पछिल्लो राजनीतिक घटनाक्रम र आगामी रणनीतिबारे गम्भीर समीक्षा गरेको छ । केन्द्रीय कार्यालय पेरिसडाँडामा शुक्रबार बसेको पदाधिकारी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समग्र राजनीतिक घटनाक्रमबारे ब्रिफिङ गरेको उपमहासचिव हरिबोल गजुरेलले जानकारी दिनुभयो । ‘पछिल्लो राजनीति घटनाक्रम र पार्टी निर्माणबारे गम्भीर समीक्षा भएको छ । पार्टीलाई कसरी बलियो बनाउने भन्ने विषयमा खुला रूपले बहस भएको छ’, गजुरेलले भन्नुभयो ।

गजुरेलका अनुसार अध्यक्ष प्रचण्डसहित ६ जनाले आ–आफ्ना धारणा राखेका थिए । वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष अग्निप्रसाद सापकोटा, उपमहासचिव वर्षमान पुन, सचिव राम कार्की, हितराज पाण्डे र चक्रपाणि खनालले धारणा राख्नुभएको थियो। सबै जनाले विचारको विकास गरी जनतामा गएर पार्टी निर्माण गर्नुपर्ने धारणा राखेको गजुरेलले बताउनुभयो । यस्तै बैठकबारे जानकारी दिँदै प्रवक्ता अग्निप्रसाद सापकोटाले अध्यक्ष प्रचण्डले सुरुमै पछिल्लो राजनीतिक घटनाक्रम कसरी विकसित भयो भन्ने सम्बन्धमा सविस्तार जानकारी गराएको बताउनुभयो ।

सरकारमा बसेर भ्रष्टाचार नियन्त्रण, सामाजिक न्याय समृद्धिको पक्षमा राम्रो काम गर्दागर्दै सरकार छाड्नु परेको प्रचण्डले ब्रिफिङ गरेको उहाँले बताउनुभयो । ‘सरकारमा बसेर सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा राम्रो काम गर्दागर्दै सरकार ढल्यो । यसबाट पाठ सिकेर हामीले जनतामा जान अवसर प्राप्त भएको छ । सम्पूर्ण ध्यान पार्टीलाई बनाउन लाग्न दिशानिर्देश दिनुभयो’, प्रचण्डको भनाइ उदृद्ध गर्दै सापकोटाले भन्नुभयो । दिउँसो १ बजेदेखि बसेको बैठक चार घण्टा सञ्चालन भएको थियो । बैठक फेरि शनिबार बिहान ११ बजे बस्ने सापकोटाले बताउनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू