अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:०१ | Colorodo: 18:16

गौशाला-२६ ले क्रिकेटर सन्दीपविरुद्ध पुनरावेदन नगर्ने

बिआरटीनेपाल २०८१ साउन ११ गते ६:१० मा प्रकाशित

क्रिकेटर सन्दीप लामिछानेमाथि बलात्कारको आरोप लगाएकी युवतीले पाटन उच्च अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन नगर्ने निर्णय लिएको भन्दै महान्यायाधीवक्ता र सरकारी वकिलको कार्यालयमा निवेदन दिएकी छन् ।गौशालाको रुपमा चिनिने युवतीले महान्यायाधिवक्ता र उच्च सरकारी वकिलको कार्यालयमा निवेदन दिँदै अब मुद्दालाई थप अगाडि नबढाउन आग्रह गरेकी हुन् । ती युवतीले गत बुधबार महान्यायाधिवक्तालाई भेटेर निवेदन दिएको र आज उच्च सरकारी वकिलको कार्यालयमा आफैं पुगेर निवेदन दर्ता गराएकी हुन् ।

गौशाला २६ को आफ्नै हस्तलिखित निवेदन ३३२ नम्बरमा दर्ता गरिएको पाटन उच्च सरकारी वकिलको कार्यालयले जनाएको छ । उनले आफूमाथि प्रतिवादीबाट बलात्कार नभएको र विभिन्न संस्था र ब्यक्तिका कारण मुद्दा हालेको भन्दै मुद्दाका कारण आफूलाई मानसिक तनाव भएको निवेदनमा उल्लेख गरेको बुझिएको छ ।

अहिले पनि विभिन्न व्यक्ति तथा संस्थाले प्रतिवादी विरुद्ध भ्रमपूर्ण अफहवा फैलाएर आफूमाथि दबाव बढाएको पनि उनको निवेदनमा उल्लेख रहेको सरकारी वकिलको कार्यालय स्रोतले जनाएको छ । आफूले उच्च अदालतको फैसलाको पूर्णपाठ पढिसकेकाले फैसलाका लागि लिइएका आधारहरूलाई सम्मान गर्दै अब शान्तिपूर्ण जीवन बाँच्न चाहेको पनि निवेदनमा उल्लेख रहेको बुझिउको छ ।

२०७९ भदौमा उनले हालेको बलात्कारको मुद्दामा जिल्ला अदालत काठमाडौंले सन्दीपलाई दोषि ठहर गरेको थियो भने गत जेठ २ गते पाटन उच्च अदालतका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले सन्दीपलाई निर्दोष ठहर गर्दै जिल्ला अदालतको फैसला उल्ट्याएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू