अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:०५ | Colorodo: 18:20

नेपालमा हुने हवाई दुर्घटनाबारे अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा चर्चा

बिआरटीनेपाल २०८१ साउन ११ गते ५:५१ मा प्रकाशित

अमेरिकाको चर्चित पत्रिका ‘न्युयोर्क टाइम्स’ ले नेपालमा निरन्तर हवाई दुर्घटना भइरहनुमा अघिल्ला दुर्घटनालाई बेवास्ता गर्नु मुख्य कारण भनेको छ । हरेक दुर्घटनापछि छानबिन समिति बन्ने भए पनि त्यस्ता समितिले दिने प्रतिवेदन र त्यसको कार्यान्वयनमा गम्भीर कमजोरी भइरहेको पत्रिकाले जनाएको छ ।अनुसन्धान गर्ने समितिहरूले मौसम, जटिल भू–भाग, पाइलटको अत्यधिक खटाइ, पुराना विमानलगायतलाई कारण देखाए पनि समस्याको मुख्य जरोबारेमा सम्बोधन नै नभएको न्युयोर्क टाइम्सको निष्कर्ष छ । नेपालको हवाई क्षेत्रमा देखिएका समस्याको मुख्य कारण स्वार्थको द्वन्द्व रहेको उल्लेख छ ।

एउटा टाउकोमा दुई वटा ‘ह्याट’ लगाउँदा समस्या भइरहेको भन्दै पत्रिकाले हवाई सेवा प्रदान गरिरहेका व्यक्ति नै नियामक निकायमा हुनुले घटना दोहोरिएको जनाएको छ । समस्या आउँदा नागरिक उड्डयन प्राधिकरणलाई अनुसन्धान गर्न दिने तर प्राधिकरण हवाई सेवा प्रदायक भएकोले गल्तीका सूचनाहरू लुकाउने जोखिम रहने निष्कर्ष छ ।यस्तै बीबीसीले पनि अनुसन्धान गर्ने स्वतन्त्र निकाय नहुँदा समस्या दोहोरिरहेको जनाएको छ । एक त समितिले दिने प्रतिवेदनमाथि नै शङ्का रहने र दिएका प्रतिवेदन कार्यान्वयन पनि कसले गर्ने भन्ने प्रश्न रहन्छ । स्थायी प्रकृतिको जाँच तथा सुझाव कार्यान्वयन आयोग चाहिने विज्ञहरूलाई उल्लेख गर्दै बीबीसीले जनाएको छ । अन्तर्राष्ट्रिय उड्डयनसम्बन्धी सिकागो महासन्धिले पनि हरेक देशमा विमान दुर्घटनापछि स्वतन्त्र रूपमा अनुसन्धान गर्ने निकाय हुनुपर्ने कुराको परिकल्पना गरेको छ ।

बुधवार भएको सौर्य एअरलाइन्स विमान दुर्घटनापछि पनि सरकारले पाँच सदस्यीय जाँच आयोग गठन गरेको छ । झन्डै साढे सात दशक लामो नेपालको उड्डयन इतिहासमा बुधवार भएको दुर्घटना एक सय आठाैँ हो । अहिलेसम्म यी दुर्घटनाहरूमा नौ सय ५९ जनाले ज्यान गुमाएको सरकारी विवरण छ । न्युयोर्क टाइम्सले आफ्नो लेखमा नेपालको हवाई क्षेत्रले मानिसको ज्यान जाने जस्तो कुरामा पनि बेवास्ता गरिरहेको टिप्पणी गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू