अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०२ | Colorodo: 19:17

संवैधानिक परिषद्‌मा बहुमत पुर्‍याउन उपसभामुखको पत्र लिक गरियो : रास्वपा

बिआरटीनेपाल २०८१ साउन १० गते ६:४५ मा प्रकाशित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संवैधानिक परिषद्‌मा बहुमत पुर्‍याउने उद्देश्यले उपसभामुखले अमेरिकी दूतावासलाई लेखेको पत्र सार्वजनिक गरिएको निष्कर्ष निकालेको छ । बिहीबार बसेको रास्वपा केन्द्रीय समिति बैठकले उपसभामुखको पत्रको आशय पनि गलत नभएको र कसैले लाभ पनि नपाएको निष्कर्ष निकालेको हो । कार्यवाहक प्रवक्ता मनिष झाले आशंका गरिए जस्तो आर्थिक चलखेल पनि नभएको दाबी गर्नुभयो ।

अनौपचारिक च्यानलबाट बुझ्दा यो पत्र अमेरिकी दूतावासमा दर्ता नै नभएको पाइएको भन्दै उहाँले भन्नुभयो, ‘यसमा आशय पनि गलत छैन, नियत पनि गलत छैन र यसको प्रभाव पनि कतै परेको छैन ।’ बरु अहिले संवैधानिक परिषद्‌मा बहुमत पुर्‍याउन १८ महिना पुरानो पत्र लिक गरिएको रास्वपाको निष्कर्ष छ । रास्वपा कार्यवाहक प्रवक्ता झाले भन्नुभयो, ‘संवैधानिक परिषद्का बहुमत पुर्‍याउन यो पत्र लिक गरिएको हो ।’ यद्यपि यसरी पत्र लेख्नु गलत अभ्यास भएकाले आगामी दिनमा सजग हुनुपर्ने रास्वपाले बताएको छ । उपसभामुख अहिले पार्टीको सदस्य नभएको भन्दै झाले भने, ‘संसद सचिवालय र राज्य व्यवस्था समितिमा परेको उजुरीमा के छलफल हुन्छ भनेर हामी सचेत भएर बसेका छौं ।

उपसभामुख इन्दिरा राना मगरले फागुन २०७९ मा अमेरिकामा हुने एक कार्यक्रममा जान आफ्नो सहयोगी भनेर असम्बन्धित व्यक्तिलाई भिसाका लागि लिइने अन्तर्वार्ताका लागि अमेरिकी दूतावासलाई पत्र लेखेको सार्वजनिक भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू