अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:४५ | Colorodo: 18:00

सौर्य एयरको विमान दुर्घटना : मृतक १८ जना सबै एअरलाइन्सका कर्मचारी र परिवार, पाइलटको जिवितै उद्धार

बिआरटीनेपाल २०८१ साउन ९ गते ५:२७ मा प्रकाशित

त्रिभुवन विमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ । बुधबार बिहान ११ बजे काठमाडौंबाट पोखराका लागि उडान भरेको नाइन एन(एएमईरसिआरजे टु हन्ड्रेड विमान उडान भर्नासाथ रनवे नजिकै खसेर दुर्घटना भएको हो । दुर्घटनामा परी ज्यान गुमाउनेहरु सबै सौर्य एअरलाइन्सका कर्मचारी र उनीहरुका परिवारका सदस्य रहेका छन् । दुर्घटनामा मृत्यु हुनेहरुमा अमितमान महर्जन, सागर आचार्य, दिलिप बर्मा, मनुराज शर्मा, अश्विन निरौला, सुदिपलाल जोशी, सर्वेश मरासैनी, श्याम बिन्दुकार रहेका छन् । यसैगरी, नवराज आले, राजाराम आचार्य, प्रिजा खतिवडा, अधिराज शर्मा, उद्धव पुरी, यज्ञप्रसाद पौड्याल, सन्तोष महतो, पुण्यरत्न शाही र अरेफ रेडा रहेका छन् । रेडा यमनी नागरिक भएको बुझिएको छ । यस्तै मृतकहरु मध्ये मनुराज शर्मा, प्रिजा खतिवडा र अधिराज शर्मा एकै परिवारका हुन् ।

विमानका पाइलट एमआर शाक्यलाई भने जिवितै उद्धार गरिएको छ । पाइलट शाक्यको सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भईरहेको छ । उहाँको अवस्था खतरामुक्त रहेको जनाइएको छ । अग्नि नियन्त्रकहरुले विमानको आगो निभाएपछि सुरक्षाकर्मीहरुले दूर्घटनाग्रस्त विमानबाट शव निकालेका थिए । मृतकहरुको शव पोस्टमार्टमका लागि टिचिङ अस्पताल महाराजगञ्जमा राखिएको छ । शवहरु पुरै जलेकाले पोस्टमार्टमका लागि समय लाग्ने अस्पतालले जनाइएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलाको रनवे जिरो टु बाट उडान भर्ने क्रममा विमान रनवेबाट ओभरसुट हुँदै उडेको थियो । अलिकति माथि पुग्ने वित्तिकै खसेको विमान जमिनमा बजारिएपछि दुई पटक उछिट्टिएको थियो भने रनवे भन्दा केही पर रहेको कन्टेनर समेत घिसारेको थियो । विमान जमिनमा बजारिने वित्तिकै आगो लागेको थियो । अग्नि नियन्त्रकहरूले विमानमा लागेको आगो तत्काल निभाए पनि विमानका पाइलट बाहेक कसैको पनि ज्यान जोगिन सकेन ।

विमान मर्मतका लागि पोखरा लगिंदै गरेको बुझिएको छ । यसैबीच, दुर्घटनाको सूचना पाएसंगै प्रधानमन्त्री केपी ओली, गृहमन्त्री रमेश लेखकलगायत पनि त्रिभुवन विमानस्थलस्थित विमान दुर्घटनास्थल पुग्नुभएको थियो । दुर्घटनापछि बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उद्धारसकिएपछि पुनः सञ्चालनमा आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू