अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:३४ | Colorodo: 12:49

उपसभामुख रानामाथि छानविन गर्न सांसदहरुको माग

बिआरटीनेपाल २०८१ साउन ९ गते ५:०९ मा प्रकाशित

सांसदहरुले प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानामाथि छानविन गर्न माग गरेका छन् ।बुधबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा बोल्दै सांसदहरुले उपसभामुख रानामाथि आर्थिक लेनदेन गरेर मानव तस्करीको आरोप लागेको भन्दै छानवीन गर्न माग गरेका हुन् । सांसदहरुले उपसभामुखमाथि गम्भीर आरोप लागेपछि प्रतिनिधि सभाको गरिमामाथि नै प्रश्न उठ्ने भन्दै तत्काल छानविन गरी सत्यतथ्य पत्ता लगाउनुपर्ने बताएका छन् ।

बैठकमा बोल्दै नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेले उपसभामुखमाथि मानव तस्करीको आरोप लाग्नु लज्जास्पद विषय भएको बताउनुभयो । उहाँले उपसभामुखमाथि प्रश्न उठ्नुले सांसदहरुको शीर निहुरिएको बताउनुभयो । उहाँले छानविन गरी निर्दोष भए दोषबाट मुक्त गराउनुपर्ने र दोषी देखिएमा कानूनी कठघरामा उभ्याउनुपर्ने बताउनुभयो ।बैठकमा बोल्दै नेपाल कम्युनिस्ट पार्टी९एमाले०का सांसद वासुदेव घिमिरेले उपसभामुखको विषय सिंगो संसदसँग जोडिने विषय भएको भन्दै यस प्रकरणमा छानवीन गर्नुपर्ने बताउनुभयो । उहाँले दोषि देखिएमा कानूनी कारबाही गर्नुपर्ने बताउनुभयो ।

नेकपा (एमाले)को सांसद रघुजी पन्तले उपसभामुख रानाको सम्बन्धमा राज्य व्यवस्था तथा सुशासन समितिमा उजुरी समेत आएको भन्दै यस विषयलाई गम्भीरतापूर्वक लिएर समितिले कदम चाल्नुपर्ने बताउनुभयो । उहाँले कानूनी र राजनीतिक पक्षलाई समेत हेरेर विषय अगाडि बढाउनुपर्ने बताउनुभयो । उहाँले समितिको काममाथि प्रश्न नउठ्ने गरी उपसभामुखमाथिको यस प्रकरणमा समितिले काम गर्नुपर्नेमा जोड दिनुभयो । उपयुक्त आधारसहित मात्रै उपसभामुखमाथि छानवीनको निर्णय गर्नुपर्ने उहाँको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू