अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:५४ | Colorodo: 18:09

१५५ वटा नेपाली फिल्ममा एक अर्ब ८७ करोड लगानी घोषणा

बिआरटीनेपाल २०८१ साउन ८ गते ७:०२ मा प्रकाशित

नेपालमा फिल्म निर्माणपूर्व चलचित्र विकास बोर्डमा लागत घोषणासहित निर्माण अनुमति लिनुपर्ने प्रावधान छ । बोर्डको तथ्याङ्कमा आर्थिक वर्ष २०८०/०८१ (गत वर्षको साउनदेखि यो असारमसान्तसम्म)  बोर्डबाट निर्माण अनुमति लिने फिल्मको सङ्ख्या १ सय ५५ रहेका छन् । ती सबै फिल्मले निर्माण इजाजत लिँदा घोषणा गरेको निर्माण लागत जोड्दा एक अर्ब ८६ करोड ५२ लाख रुपैयाँ हुन आउँछ । नेपालमा फिल्म निर्माणका लागि यति लागत भए पुग्छ भन्ने छैन । नेपालमा निर्माण हुने फिल्म अनुसार निर्माण लागत फरक–फरक छन् । गत आर्थिक वर्ष चलचित्र विकास बोर्डबाट निर्माण इजाजत पत्र लिने १ सय ५५ फिल्ममा धेरै फिचर र केही भाषाभाषीका चलचित्रसमेत छन् । ती फिल्ममा प्रत्येक फिल्मको निर्माण लागत फरक–फरक छन् । तथ्याङ्क अनुसार सबैभन्दा थोरै १० लाखदेखि सबैभन्दा बढी ५ करोडसम्मका फिल्म निर्माण घोषणा भएको देखिन्छ ।

पारिजात नेपाल रेकर्डिङ स्टुडियो प्रालिले सबैभन्दा थोरै १० लाख निर्माण लागत घोषणा गर्दै फिल्म ‘दायाँ बायाँ’ का लागि इजाजत लिएको देखिन्छ भने सबैभन्दा बढी ५ करोड निर्माण लगानी घोषणा गर्दै आर्ट मुभिज प्रालिले फिल्म ‘सिड्नी ब्लुज’ र स्वर्णिमा फिल्मस् प्रालिले फिल्म ‘हृदयको यात्रा’ का लागि इजाजत लिएको देखिन्छ । फिल्म निर्माण जतिबढी लगानी त्यति बढी जोखिम छ । यो नेपाली निर्माता निर्देशकले राम्रोसँग बुझेको विषय हो । तर पनि आँखा चिम्लिएर लगानी गर्ने निर्माता पनि छन् । गत आर्थिक वर्षमा चलचित्र विकास बोर्डबाट निर्माण इजाजत पत्र लिने फिल्मको सूचीले पनि यस्तै देखाउँछ । यो सूचीमा एकै फिल्मका लागि ४ देखि ५ करोड लगानी घोषणा भएको देखिएको छ । ५ करोड निर्माण लागत घोषणा भएका ‘सिड्नी ब्लुज’ र ‘हृदयको यात्रा’ पछि ४ करोड निर्माण लागत घोषणा गर्ने फिल्मको सङ्ख्या पनि दुईवटै छन् । ती फिल्म हुन् ‘ब्ल्याक हर्स पिक्चर्स प्रालीको ‘बेहुली फ्रम मेघौली’ र सम्पदा संस्कृति फिल्मस् प्रालिको ‘प्यार के लिए’ रहेको छ ।

तथ्याङ्क अनुसार गत आर्थिक वर्षमा ३ करोड निर्माण लागत घोषणा गर्ने फिल्म ६ वटा छन् । ती फिल्ममा पद्मा ईश्वर इन्टरटनमेन्ट प्रालिको ‘यो मन त मेरो नेपाली हो’, उतरगाया म्युजिक एण्ड फिल्म प्रोडक्सनको ‘कंगारु’, सिनेमा आर्ट प्रालिको ‘फेरि रेशम फिलिली’, गलबन्दी प्रोडक्सनको ‘बसन्त’, एविड्ज नेपा प्रालिको ‘मेयर सिंह’, एम मिडिया प्रालिको ‘लाँकुरी’ रहेका छन् ।यी मध्ये ‘यो मन त मेरो नेपाली हो’, ‘फेरि रेशम फिलिलि’ निर्माण पुरा भएर प्रदर्शनको पर्खाइमा छन् भने अन्य फिल्म निर्माण प्रक्रियामा छन् ।

चलचित्र विकास बोर्डमा निर्माण इजाजत लिने फिल्मको सङ्ख्या बर्सेनि औसत १५० देखि १६० सम्म हुने गरेको छ । तर निर्माण भएर प्रदर्शनमा आउने फिल्मको सङ्ख्या ८० देखि एक सयसम्म मात्र छन् । चलचित्र विकास बोर्डका प्रवक्ता केएल बुढाथोकी पनि बोर्डमा दर्ता भएका सबै फिल्म नबन्ने गरेको बताउनुहुन्छ ‘केही आइडिया आयो, नाम राम्रो लाग्यो भने फिल्म दर्ता गर्छन्’, बुढाथोकीले भन्नुभयो, ‘बिना तयारी दर्ता गर्नेले पनि छन् ।’ मिडियामा छाउन र चर्चा कमाउन फिल्म घोषणा गर्ने समेत रहेको बुढाथोकीको धारणा छ । ‘कतिपयले राम्रो नाम ओगट्नसमेत दर्ता गर्ने र हराउने गरेका छन्’, बुढाथोकीले भन्नुभयो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू