अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:४३ | Colorodo: 21:58

न्यूयोर्कमा मिथिला चित्रकला प्रदर्शनी सुरु

बिआरटीनेपाल २०८१ साउन ३ गते ८:५८ मा प्रकाशित

न्यूयोर्क । संयुक्त राष्ट्र सङ्घको मुख्यालय, न्यूयोर्कमा मिथिला चित्रकला प्रदर्शनी सुरु भएको छ । संयुक्त राष्ट्र सङ्घको दिगो विकास लक्ष्यका लागि मिथिला हेरिटेज भन्ने नाराका साथ बिहीबारबाट प्रदर्शनी औपचारिक रूपमा सुरु भएको हो ।

मिथिला सेन्टर अमेरिका, नेपाली स्थायी नियोग र नेपाली महावाणिज्य दूतावास न्यूयोर्कको संयुक्त आयोजनामा सुरु भएको प्रदर्शनी जुलाई १७ सम्म चल्नेछ ।

संयुक्त राष्ट्रसङ्घीय महासभाको ७८औँ सत्रका अध्यक्ष डेनिस फ्रान्सिसले प्रदर्शनीको औपचारिक उद्घाटन गरेका हुन् । अध्यक्ष फ्रान्सिसले मिथिला चित्रकला प्रदर्शनीले आफुलाई गम्भीर बनाएको भन्दै मानवताको रक्षाका लागि विश्व एक भएर अघि बढ्नु पर्नेमा जोड दिए ।

प्रदर्शनीमा स्थायी र पर्यवेक्षक नियोगका प्रतिनिधिका साथै दिगो विकास लक्ष्य कार्यक्रममा सहभागी हुन आएका अधिकांश देशका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । समारोहलाई सम्बोधन गर्दै स्थायी नियोग प्रतिनिधि एवं राजदुत लोक बहादुर थापाले मिथिला चित्रकलाले सांकेतिक रूपमा दिएको सन्देशलाई गम्भिररूपमा लिनुपर्ने बताए । उनले जलवायु परिवर्तनले पारेको प्रभाव न्यूनीकरणका लागि गम्भीर हुन उच्च नेतृत्वलाई आग्रह पनि गरे । समारोहमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष भीम बहादुर श्रेष्ठलगायतले धारणा राखेका थिए ।

मुख्यालयमा जारी हाई लेभल पोलिटिकल फोरम अन सस्टेनेवल डेभलपमेन्टलाई लक्षित गरी आयोजना गरिएको प्रदर्शनीले दिगो विकास लक्ष्य हासिल गर्नका लागि अपनाउनु पर्ने नीतिका बारेमा दबाब दिने अपेक्षा गरिएको मिथिला सेन्टर अमेरिकाका अध्यक्ष अमित प्रताप शाहले जानकारी दिए । उनले जलवायु परिवर्तन, वातावरणीय चेतनासँगै दिगो विकास लक्ष्य हासिल गर्न सांस्कृतिक सम्पदाको भूमिका महत्त्वपूर्ण हुने भएकोले संयुक्त राष्ट्र सङ्घको मुख्यालयमा प्रदर्शनीको आयोजना गरिएको बताए ।

मिथिला कला प्रकृतिसँग जोडिएको र यसले पारेको प्रभाव चित्रकलाबाट प्रस्तुत गरिएको मिथिला चित्रकार प्रतीक रायमाझीले जानकारी दिए । उनले भने, मिथिला कला र संस्कृति प्रकृतिसँग प्रत्यक्ष सम्बन्ध राख्ने तथा वर्तमान सन्दर्भमा जलवायु परिवर्तनले पारेको असर चित्रकला मार्फत प्रस्तुत गरेका छौँ । प्रदर्शनीले मिथिला कला र नेपाली संस्कृतिको प्रवर्द्धनमा टेवा पुग्ने रायमाझीको विश्वास छ ।

निकै अर्थपूर्ण र कलात्मक रूपमा कोरिएका मिथिला चित्रले संयुक्त राष्ट्र सङ्घको मुख्यालयमा उपस्थित भएका संसारभरका उच्चपदस्थ प्रतिनिधिहरूको ध्यानाकर्षण गरेको छ । प्रदर्शनीमा मिथिला चित्रकारहरू स्वयम्ले यसको बारेमा व्याख्या गरिरहेका छन् ।

दक्षिण नेपालका साथै उत्तरी भारतको मिथिला क्षेत्रको गौरव, इतिहास, कला, सभ्यता, परम्परा र मौलिकतालाई दर्शाउने मिथिला चित्रकला साहित्यिक ज्ञान र कथाहरूसँग जोडिएको छ । सबैभन्दा पुरानो जीवित संस्कृति र सभ्यता मध्येको एक यो सम्पदाले मानव समाजमा शान्ति, स्थिरता, मित्रता, सद्भाव र समृद्धिमा योगदान पुर्‍याउने सेन्टरका अध्यक्ष शाहले दाबी गरे ।
नेपाली महावाणिज्य दूतावास न्यूयोर्कका कार्यवाहक महावाणिज्य दुत चक्र सुवेदीले मिथिला सभ्यता नेपालको ऐतिहासिक पहिचान भएको भन्दै जलवायु परिवर्तनले पारेको असर र यसमा सम्पूर्ण विश्वलाई गम्भीर बनाउने उद्देश्यसहितको प्रदर्शनी आफैमा महत्त्वपूर्ण भएको दाबी गरे ।

मिथिला सेन्टर अमेरिकाको पहलमा गत वर्ष पनि यस्तो प्रदर्शनी गरिएको थियो । जुलाई ८ तारिखबाट अनौपचारिक रूपमा सुरु भएको प्रदर्शनी बिहीबार औपचारिक रूपमा उद्घाटन गरिएको हो । यो प्रदर्शनी जुलाई १७ सम्म चल्नेछ । प्रदर्शनी संयुक्त राष्ट्र सङ्घको मुख्यालय, न्यूयोर्कमा जारी दिगो विकास लक्ष्य (एसडीजी)को उच्चस्तरीय सम्मेलनलाई लक्षित गरी आयोजना गरिएको हो ।

प्रदर्शनीमा एस के सुमन, प्रतीक रायमाझी, नुपुर निशिथ, शैली झा, शिभांगी सिंह, मनीषा शाह लगायतका चित्रकार को चित्रकला प्रदर्शनी गरिएको छ । त्यस्तै जनकपुर महिला विकास केन्द्रका कलाकारहरू सेलो यादव, सुधिरा कर्ण, कोमल पूर्वे, निर्मला राम, मञ्जुला ठाकुर, सेब्ती मण्डल र अमृता दत्तको कला पनि प्रदर्शनी गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू