अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:०६ | Colorodo: 18:21

निम्छरो

युवराज मैनाली २०८१ साउन ३ गते ८:४८ मा प्रकाशित

लघुकथा

चरा हो वा चरी भुरुरु उडेर आयो । टपक्क टिपेर गयो । काइँला बा चिन्तित बने । नबन्नु पनि किन ? आफूले सुकाएको विस्कुन गेडागेडा गरेर घट्दै जान थालेपछि जे कुरा पनि जोखेर, नापेर, तौलेर व्यवहार चलाउन बानी नै परिसकेका काइँला बाले पहिले त होस् यिनीहरूले टिपेर कति नै टिप्छन् र भन्ने उदारता पनि नदेखाएका होइनन् । बानी नै न हो, मानोमा भर्दा चारै दिनमा चौथाई घटेपछि चिन्ताको विषय बन्ने नै भयो । अब भएन भनेर चौतारी भर्न छोडेर विस्कुन रुङ्न बसे । यसरी बसेर पनि के गर्नु ? एक्लैको रुङ्गाई अलिअलि न्यानो भएपछि झपक्क निन्द्रा परिहाल्ने । यही मौकामा चराले टपक्क टिपिहाल्ने । चराको चर्तिकलाको अगाडि काइँला बा विचरा नै बने ।

एकदिन त काइँला बाले लामो लठ्ठी नै लिएर रुँगे । चतुरो चरो पनि के कम ? लौरो हल्लिएसम्म परै बसेर प्वाँख हल्लाउँदै गीत सुनाउने अनि लौरो हल्लिन छोडेपछि खुसुक्क विस्कुनतर्फ मौका छोपिहाल्ने । यो देखेर काइँला बालाई साह्रै रिस उठ्यो । आँखा झिमिक्क पनि गरेनन् । लौरो चल्याचल्यै । यस्तोमा पनि चराको चर्तिकला नरोकिएपछि रिसले मुर्मुरिँदै काइँला बाले लौरो नै बजाए तर लौराले चरालाई लाग्नुको साटो एक टुक्रा उछिट्टिएर काइँला बालाई टुटुल्को उठ्ने गरी बज्रियो । त्यसबेला काइँला बाको मुखबाट पीडाका आवाज बर्सिए– निम्छरो ।