नेपाल कम्युनिस्ट पार्टीका माहासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले बिआरआई परियोजनाको बारेमा स्पष्ट रुपमा जनतालाई बुझाउन जरुरी रहेको बताउनुभएको छ ।बिहीबार नेपाल कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागले आयोजना गरेको बिआरआई वास्तविकता र भ्रम विषयक अन्तरक्रियामा बोल्दै महासचिव विप्लवले यस्तो बताउनुभएको हो ।महासचिव विप्लवले बिआरआई परियोजनाको बारेमा विभिन्न कोणबाट टिकाटिप्पणी हुने गरेको भन्दै यथार्थ कुरा जनतालाई बुझाउनुपर्ने आवश्यकता रहेको बताउनुभएको हो । उहाँले चीनले विकासलाई मानव जातिसँग जोड्नका लागि बिआरआई परियोजना अगाडि बढाएको रुपमा शुरुवाती चरणमा नेपालीको बुझाइ भएको भन्दै पछिल्लो समय बुझाइमा फरक पर्न थालेको बताउनुभयो ।
महासचिव विप्लवले बिआरआई मार्फत चीनले सैन्य दृष्टिकोणसहित नेपालमा आफ्नो आर्थिक लगानी गर्न खोजेको हो भने यसबारेमा छलफल हुने बताउनुभयो । उहाँले असंलग्न परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्त अनुसार विकास र समृद्धिका लागि मात्रै बिआरआई अगाडी बढेको हो भने यो कुरा जनतालाई बुझाएर जानुपर्ने बताउनुभयो । उहाँले बिआरआईका बारेमा अपव्याख्या हुँदा त्यसको मार पनि नेपाली जनताले भोग्नुपर्ने बताउनुभयो । महासचिव चन्दले मध्यपूर्वको तनाव र युक्रेन युद्धपछि बिआरआईको व्याख्या बदलिँदै गएको बताउनुभयो । ठूल्ठूला शक्ति राष्ट्रहरु चिनसँग डराइरहेका उहाँको भनाई छ ।