अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:४६ | Colorodo: 01:01

गायक योगेश्वर अमात्‍यको जग्गा किर्ते प्रकरणमा ८ जनालाई कैद सजाय सुनाइयो

बिआरटीनेपाल २०८१ असार ३१ गते ७:१० मा प्रकाशित

गायक योगेश्वर अमात्यको जग्गाको कागजात किर्ते गरेको प्रकरणमा विशेष अदालतले ८ जना प्रतिवादीलाई कैद सजाय सुनाएको छ। विशेष अदालतका न्यायाधीशहरू खुशीप्रसाद थारू, तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले सजाय निर्धारण गरेको हो। सम्पत्ति शुद्धीकरणसम्बन्धि कसुरमा २०८० असार २१ गते अदालतमा मुद्दा दर्ता भएको थियो।

उक्त मुद्दामा अदालतले गत असार २३ गते कसुर ठहर गरेको थियो। त्यही कसुरमा इजलासले आइतबार सजाय निर्धारण गरेको हो। मुक्तिनाथ गौतम र एसकुमार महर्जनलाई दुई(दुई वर्ष कैद सजाय निर्धारण गरेको छ। बिल्वा भूमि वन प्रालिका नक्कली प्रतिनिधि रेशमबहादुर सिलवाल र मेरलाइन इन्टरप्राइजेजका उविन्‍द्रराज शाक्यलाई चार(चार वर्ष कैद सजाय सुनाएको छ।

मेरलाइन इन्टरप्राइजसहित अन्य चार जनालाई ७ करोड ६० लाख रुपैयाँ जरिवाना पनि उक्त इजलासले सुनाएको छ।त्यसैगरी रामप्रसाद अधिकारी, ईश्वर पोखरेल, शोभा शाक्य र कुशन प्रधानलाई प्रति व्यक्ति एक वर्ष सजाय र ३ करोड ८० लाख जरिवाना सुनाएको हो। यस कसुरमा कुल बिगो १९ करोड माग गरिएको थियो।

बारामा रहेको १२ बिघा जग्गाको किर्ते कागजात बनाएर १९ करोड रूपैयाँ ठगी गरेको आरोपमा प्रहरीले २०७८ कात्तिकमा चार जनालाई पक्राउ गरेको थियो। त्यसमा संलग्न भई फरार रहेका दुई जनालाई गत जेठ ३२ गते सिआइबीले पक्राउ गरेको हो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू