अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:३९ | Colorodo: 00:54

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीलाई राजीनामा दिन तीन दलको संयुक्त आग्रह

बिआरटीनेपाल २०८१ असार ३० गते ६:३३ मा प्रकाशित

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई पदबाट राजीनामा दिन नेपाली कांग्रेस, एमाले र नागरिक उन्मुक्ति पार्टी संयुक्त रूपमा आग्रह गरेका छन् । आज धनगढीमा पत्रकार सम्मेलन गरी तीन दलका नेताले प्रदेशसभामा अल्पमतमा परिसकेको अवस्थामा मुख्यमन्त्री सोडारीलाई तत्काल पदबाट राजीनामा दिन आग्रह गरेका हुन् ।कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले मुख्यमन्त्रीले तत्काल राजीनामा दिँदा नयाँ सरकार गठन र बजेट ल्याउन सहज हुने बताउनुभयो । एमाले संसदीय दलका उपनेता सन्तोष थापा शर्मा, नागरिक उन्मुक्ति पार्टीका नेता घनश्याम चौधरीले पनि मुख्यमन्त्री सोडारीलाई राजीनामा गर्न आग्रह गर्नुभयो ।

गएको वैशाख ६ मा एकीकृत समाजवादीको संसदीय दलका नेता सोडारी सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । तर संघमा नयाँ सत्ता समीकरणसँगै एमालेले गएको असार २३ गते मुख्यमन्त्री सोडारीलाई दिएको समर्थन फिर्ता लिएको थियो । एमालेले समर्थन फिर्ता लिँदै पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बोलाएपछि मुख्यमन्त्री सोडारी अल्पमतमा पर्नुभएको हो ।

एमालेले सरकारबाट बाहिरिएसँगै सुदूरपश्चिम प्रदेश सरकारले आउँदो आर्थिक वर्षका लागि ल्याएको बजेट पारित हुने वा नहुने अन्योल छ । बजेट माथिको छलफल प्रदेशसभामा अझै शुरु हुन सकेको छैन । नयाँ गठन हुने सरकारले सोडारी नेतृत्वको सरकारले ल्याएको बजेट पारित नगरेर अध्यादेशमार्फत अर्को बजेट ल्याउने तयारी गरेको कांग्रेसका प्रमुख सचेतक विक्रमसिंह धाँमीले बताउनुभयो ।५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा कांग्रेसका १८, माओवादी केन्द्रका सभामुखबाहेक १०, एमालेका ११, नागरिक उन्मुक्ति पार्टीका सात, नेकपा (एकीकृत समाजवादी) का चार, राप्रपा र स्वतन्त्र एक/एक सदस्य छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू