अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:५४ | Colorodo: 04:09

पहिरोले त्रिशूलीमा बगाएको बसका एकजना यात्रुको शव भेटियो, अरूको खोजी चल्दै

बिआरटीनेपाल २०८१ असार ३० गते ५:१८ मा प्रकाशित

चितवनको सिमलतालमा पहिरोले त्रिशूलीमा बगाएको बसका एक जना यात्रुको शव भेटिएको छ । चितवनको भरतपुर महानगरपालिका– २८ गोलाघाटको नारायणी नदी किनारमा भारतीय नागरिक ऋषिपाल साहको शव भेटिएको चितवनका प्रहरी प्रवक्ता डिएसपी भेषराज रिजालले जानकारी दिनुभएको छ ।गोलाघाट, बस खसेको ठाउँबाट ५० किलोमिटर तल पर्छ । मृतक घोप्टो परेको र आधा शरीर बालुवामा पुरिएको अवस्थामा भेटिएका छन् । उनको साथमा भेटिएको बैंकको एटीएम कार्ड र आधार कार्डबाट परिचय खुलेको हो । उनी अस्ति रौतहटको गौर जानको लागि काठमाण्डौको जोरपाटीबाट गणपति डिलक्सको बस चढेका थिए । भेटिएको शवलाई उनकै भाइ लगायतका आफन्तले सनाखत गरिसकेका छन् ।

मुग्लिन–नारायणघाट सडकअन्तर्गत चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालमा हिजो बिहान पहिरोले बस बगाएर त्रिशुली नदीमा पुर्‍याउँदा कम्तिमा ४८ जना यात्रु बेपत्ता भएका छन् । प्रहरीले विभिन्न प्रविधि र उपकरण प्रयोग गरेर खोजी जारी राखेपनि बस र यात्रु भेटिएका छैनन् ।खोजीमा सशस्त्र प्रहरी र नेपाली सेनाका गोताखोर टोली परिचालन भएका छन् । स्थानीयले पनि प्रहरी र सेनालाई साथ दिइरहेका छन् । तर त्रिशूली निकै गहिरो रहेको र अहिले बहाव तीव्र रहेकाले पानीमुनि पुगेर खोजी गर्न समस्या भएको छ ।

चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले यात्रु खोज्न सशस्त्रका चार, नेपाल प्रहरीको एउटा मोटरबोट, गोताखोर टोलीलगायत परिचालन गरेकाे बताउनुभयो । त्रिशूली नदीमा खसेका दुई वटा बस र तिनका यात्रु नभेटिएपछि ड्रोन र सोनार क्यामेराबाट खोजी थालिएको छ । सशस्त्रका सह–प्रवक्ता, डीएसपी शैलेन्द्र थापाले दिएको जानकारीअनुसार ड्रोन र पानीभित्र पनि हेर्न मिल्ने सोनार क्यामेरा प्रयोग गरी बिहानैदेखि खोजी जारी छ । र्‍याफ्ट बोटमा जडान गरेर सोनार क्यामेराले पानीभित्रका वस्तु हेर्न सहयोग पुर्‍याउँछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू