अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:१९ | Colorodo: 16:34

प्रधानमन्त्री प्रचण्डले १८ महिनामा ५ औँ पटक विश्वासकाे मत लिँदै

बिआरटीनेपाल २०८१ असार २८ गते ७:३५ मा प्रकाशित

प्रधानमन्त्री प्रचण्डले शुक्रबार संसद्मा विश्वासको मत लिनुहुने भएको छ । एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले  प्रतिनिधि सभामा विश्वासको मत लिँदै हुनुहुन्छ । उहाँले यो कार्यकालको १८ महिनामा ५ औँ पटक विश्वासको मत लिन लाग्नुभएको हो । २०७९ सालको मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभाको चुनावपछि संसद्‍मा तेस्रो ठूलो दल बनेको नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड २०७९ साल पुस ११ गते तेस्रो कार्यकालका लागि प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो ।

प्रधानमन्त्रीमा नियुक्त भएको १५ दिनपछि विश्वासको मत लिँदा उहाँले २ सय ६८ जनाको मत प्राप्त गर्नुभएको थियो । एमालेलगायतका दलले समर्थन फिर्ता लिएपछि २०७९ साल चैत ६ गते दोस्रोपटक विश्वासको मत लिँदा उहाँले १ सय ७२ मत प्राप्त गर्नुभयो । यस्तै २०८० साल फागुन ३० गते कांग्रेससँगको गठबन्धन तोडेर एमालेसहितको गठबन्धन बनाएपछि तेस्रोपटक विश्वासको मत लिँदा प्रचण्डले १ सय ५७ मत प्राप्त गर्नुभएको थियो । त्यस्तै जनता समाजवादी पार्टी नेपालले समर्थन फिर्ता लिएपछि गएको जेठ ७ गते विश्वासको मत लिँदा उहाँले १ सय ५७ मत प्राप्त गर्नुभयो ।

यसैवीच, नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विश्वासको मतको विपक्षमा मतदान गर्न ुह्विपु जारी गरेको छ । कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले बैठकमा अनिवार्य उपस्थित भई विपक्षमा मतदान गर्न ह्विप जारी गर्नुभएको हो । यसअघि हिजो नेकपा एमालेले पनि प्रधानमन्त्री प्रचण्डको विश्वासको मतको विपक्षमा मतदान गर्न ह्विप जारी गरेको थियो । यस पटक भने प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाउने सम्भावना नरहेको दलहरू बताउँछन् । विश्वासको मत नपाएमा उहाँ स्वतः पदमुक्त हुनुहुने छ । त्यसपछि एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने कांग्रेस र एमालेबीच सहमति भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय