अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:१८ | Colorodo: 11:33

बाढी, पहिरोबाट देशभर १ सय ३२ वटा सडक प्रभावित

बिआरटीनेपाल २०८१ असार २८ गते ६:४३ मा प्रकाशित

बाढी, पहिरोका कारण देशभर एक सय ३२ वटा सडक खण्डको यातायात सेवा प्रभावित भएको छ । सडक विभागको तथ्याङ्कअनुसार आज १३ सडक खण्ड पूर्णरूपमा तथा एक सय १९ वटा सडक खण्ड एकतर्फी रूपमा सञ्चालनमा आएका छन् ।विभागका प्रवक्ता सुनिल पोखरेलका अनुसार बीपी राजमार्ग, पृथ्वी राजमार्ग, पुष्पलाल (मध्य पहाडी) राजमार्गलगायत एक सय १९ सडक खण्डमा एकतर्फी रूपमा यातायात सेवा सञ्चालन भएको छ । डुम्रे–बेसीशहर–चामे, विराटनगर–इटहरी–धरान, तानसेन–रिडी–कोरालालगायत सडक खण्ड पूर्णरूपमा अवरुद्ध छन् ।

मौसम पूर्वानुमान महाशाखाले पर्सि शनिवार बिहानसम्म देशका धेरैजसो क्षेत्रमा मनसुन सक्रिय हुने सम्भावना रहेको जनाउँदै आवश्यक सतर्कताका लागि आग्रह गरेको छ । महाशाखाकाअनुसार अहिले मनसुन न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ अर्थात् नेपालको दक्षिण भू–भाग आसपास रहेको छ । अब यो रेखा अझ नेपालतिर सर्ने सम्भावना देखिएको महाशाखाले जनाएको छ ।

यस्तै आजदेखि नेपाल आसपास क्षेत्रको उपल्लो वायुमण्डलमा पश्चिमी न्यून चापीय प्रणाली विकसित हुने सम्भावना देखिएको छ । यी दुवै प्रणालीको प्रभावले शनिवार बिहानसम्म नेपालमा मनसुन सक्रिय हुने सम्भावना देखिएको छ । आजदेखि तीन दिनसम्म कोशी, मधेश, बाग्मती, गण्डकी, लुम्बिनी प्रदेशका धेरै ठाउँमा तथा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू