प्रतिनिधि सभा बैठकमा मन्त्रीहरु अनुपस्थित भएपछि बैठक स्थगित भएको छ ।प्रतिनिधि सभाको बैठक आज(बिहीबार) दिउँसो ४ बजे बस्नेगरी बोलाइएको थियो । करिब डेढ घण्टा ढिलोगरी बसेको बैठकमा कोहीपनि मन्त्री उपस्थित नभएपछि बैठक भोलि(शुक्रवार) बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको हो ।
बैठक प्रारम्भ हुनासाथ नेपाली काँग्रेसका सांसद रामहरी खतिवडाले बैठकमा प्रधानमन्त्री तथा सरकारका मन्त्रीहरु अनुपस्थित भएको भन्दै सभामुखको ध्यानाकर्षण गराउनुभएको थियो । उहाँले संसद बैठक चलेको दिन प्रधानमन्त्री र मन्त्रीहरु उपस्थित हुनुपर्छ भन्ने कुरा जानकारी छ कि छैन ? भनेर प्रश्न समेत गर्नुभएको थियो । उहाँले सभामुखलाई प्रधानमन्त्री र मन्त्रीहरु उपस्थित नभएको बैठक चल्छ कि चल्दैन भनेर प्रश्न समेत गर्नुभएको थियो ।
लगत्तै सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा नियमावली २०७९ को नियम ६ को उपनियम(५) बमोजिम बैठकमा मन्त्रीको उपस्थिति अनिवार्य रहेको जानकारी गराउनु भयो । उहाँले बैठकमा कुनैपनि मन्त्रीको उपस्थिति नरहेको भन्दै बैठक भोलि(शुक्रबार) बिहान ११ बजे बस्नेगरी स्थगित भएको घोषणा गर्नुभयो ।