अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:३९ | Colorodo: 14:54

युक्रेनलाई थप शक्तिशाली हतियार र मिसाइल प्रतिरक्षा प्रणाली सहयोग गर्ने अमेरिकी राष्ट्रपति बाइडेनको घोषणा

बिआरटीनेपाल २०८१ असार २७ गते ७:४४ मा प्रकाशित

अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई थप शक्तिशाली हतियार र मिसाइल प्रतिरक्षा प्रणाली सहयोग गर्ने घोषणा गर्नुभएको छ । उत्तर एटलान्टिक सन्धी संगठन नेटोको भेलालाई वासिङटनमा सम्बोधन गर्दै बाइडेनले रुसको क्रुर आक्रमणलाई जवाफ दिनको लागि युक्रेनलाई थप अत्याधुनिक हतियार र प्रतिरक्षा प्रणाली सहयोगको घोषणा गर्नुभएको हो ।गएको सोमवार रुसले युक्रेनको राजधानी कीभसहितका शहरमा गरेको आक्रमणमा ४१ जना भन्दा धेरैको ज्यान गएपछि अमेरिकासहित नेटोका देशहरुले युक्रेनलाई थप सहयोग गर्ने वाचा गरेका थिए । अमेरिकी राष्ट्रपति बाइडेनले अबको सहयोग प्याकेजमा प्याट्रियट मिसाइल र कम्पोनेन्टसहित हवाई रक्षाका उपकरण समावेश हुने बताउनुभयो ।

जर्मनी, नेदरल्याण्ड, रोमानिया र इटाली लगायतका पाँच वटा देशले यस वर्षको अन्त्यसम्ममा हवाई रक्षा प्रणाली सहयोग गर्न सक्ने बताइसकेका छन् । अमेरिकी अधिकारीहरूकाअनुसार बेलायत, क्यानडा, नर्वे र स्पेन लगायतका अन्य मित्र राष्ट्रहरूले पनि अबको केही महिनामै युक्रेनलाई दर्जनौँ अन्य सामरिक वायु रक्षा प्रणालीहरू प्रदान गर्नेछन् । नेटो सम्मेलनमा सम्बोधनका क्रममा सबैजसो देशका नेताहरुले रुसलाई रोक्न नसकेमा युक्रेन मात्रै नभएर पुरै पश्चिमा देशको लागि खतरा नजिकै आइरहेको बताएका रोयटर्सको खबरमा उल्लेख छ ।

नेटोमा ३२ वटा देश सदस्य रहेकोमा युक्रेनलाई पनि सदस्य बनाउने तयारी चलिरहेको छ । तर युक्रेनलाई नेटोमा सहभागि गराउने विषयकै कारण रुसले आक्रमण थालेकाले यो विषय थप जटिलतातर्फ गइरहेको विज्ञहरुले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू