नेकपा एमालेले पार्टीका सबै जिल्ला कमिटीलाई साउन महिनाभित्रमा पार्टी सदस्यता नविकरण गरेर भदौसम्म संगठन विभागबाट प्रमाणीकरण गरिसक्न निर्देशन दिएको छ ।बुधबार बसेको पार्टीको सचिवालय बैठकले सो निर्णय गरेको पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले बताउनुभयो । उपमहासचिव ज्ञवालीकाअनुसार अधिवेशन गर्न बाँकी ११ वटा जिल्लामा आगामी कार्तिकभित्र अधिवेशन गरिसक्नुपर्ने निर्णय भएको छ । अहिले भएको कमिटीलाई संगठन कमिटीमा रुपान्तरण गर्ने, समन्वय कमिटीलाई प्रभावकारी बनाउन २० प्रतिशतसम्म सदस्य मनोनयन गर्न पाउने र त्यहाँभित्र सचिवालय बनाउन पाउने निर्णय भएको पनि बताउनुभयो ।
उपमहासचिव ज्ञवालीले पार्टीले सहकारी तथा गरिबी निवारण विभागको सचिवको जिम्मेवारी परितोष पौडेललाई दिने र भूमि व्यवस्था विभागको सचिवको जिम्मेवारी विजय सुवेदीलाई दिने निर्णय गरेको बताउनुभयो । बैठकले प्रदेश कमिटीले अनुमोदनका लागि पठाएका प्रश्तावलाई अनुमोदन गरेको बताउनुभयो ।
त्यस्तै, बैठकले गत वर्ष एक वर्षका लागि पार्टीका सबै केन्द्रिय सदस्यहरुलाई सम्बन्धित भूगोल भन्दा बाहिरको जिम्मेवारी दिएकोमा अब आफ्नै भूगोलको जिम्मेवारीमा फर्काउने निर्णय गरेको बताउनुभयो । उहाँले नयाँ कार्यविभाजनको आधार अब केन्द्रिय सदस्यलाई सबैभन्दा तल्लो इकाइका रुपमा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन क्षेत्रको जिम्मा दिने, जिल्ला वा प्रदेशको पनि लिनसक्ने व्यवस्था मिलाइने बताउनुभयो । सबैभन्दा आधारभुत इकाइ निर्वाचन क्षेत्र समन्वय कमिटी (निर्वाचन क्षेत्र) लाई आधार बनाएर कार्यविभाजन गर्ने बताउनुभयो ।
उपमहासचिव ज्ञवालीले बैठकमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले एमालेलाई सत्ता बाहिर राख्न विभिन्न कदम चालेको बारे बैठकमा जानकारी गराउनुभएको बताउनुभयो ।