अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:४६ | Colorodo: 16:01

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन माओवादी केन्द्रको ह्वीप

बिआरटीनेपाल २०८१ असार २७ गते ६:४० मा प्रकाशित

नेकपा(माओवादी केन्द्र)ले प्रधानमन्त्री पुष्पकमल दाहालले असार २८ गते लिने विश्वासको मतका लागि ह्वीप जारी गरेको छ । बुधबार बसेको माओवादी केन्द्रको संसदीय दल बैठकले प्रधामन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिन ह्वीप जारी गर्ने निर्णय गरेको हो ।

त्यस्तै बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिन प्रतिनिधि सभामा रहेका अन्य राजनीतिक दलहरुलाई अपील गरेको छ । बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले संविधानको रक्षा, संविधानको कार्यान्वयन र जनताको हित चाहने राजनीतिक दल तथा स्वतन्त्र सांसदहरुलाई प्रधानमन्त्रीलाई विश्वासको मत दिन आह्वान गर्ने निर्णय भएको जानकारी दिनुभयो । उहाँले आगामी दिनमा वामपन्थी शक्तिहरुको बीचमा एकता र समाजवादी मोर्चालाई पनि अगाडी बढाउने विषयमा प्रधानमन्त्री दाहालले स्पष्ट पार्नुभएको बताउनुभयो ।

प्रधानमन्त्री दाहालले एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूसँग सरकारलाई निरन्तरता दिने वचन दिएर काँग्रेससँग सरकार बनाउने सहमती गरेको भन्दै ओलीले ढाँटछल गरेको ब्रिफिङ गर्नुभएको प्रमुख सचेतक पाण्डेले जानकारी दिनुभयो । पाण्डेले प्रधानमन्त्रीले विश्वासको मत नपाएको अवस्थामा संविधानको धारा ७६(३) बमोजिमको सरकार बन्ने जिकिर गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू