अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:०३ | Colorodo: 16:18

जनता समाजवादी पार्टीका मन्त्रीहरूले दिएको राजीनामा स्वीकृत

बिआरटीनेपाल २०८१ असार २५ गते ८:०७ मा प्रकाशित

जनता समाजवादी पार्टीका मन्त्रीहरूले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ।अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले गत असार २१ गते सरकारलाई दिएको समर्थन फिर्ता लिँदै दुई मन्त्री र एक राज्यमन्त्रीले राजीनामा पनि बुझाएका थिए। राजीनामा बुझाएको तीन दिनपछि उनीहरूको राजीनामा स्वीकृत भएको छ। उक्त मन्त्रालय अब प्रधानमन्त्री दाहाल प्रचण्डले नै हेर्नुहुनेछ ।

जनता समाजवादी पार्टीबाट संघीय सरकारमा वन नवलकिशोर साह सुडी, स्वास्थ्य मन्त्री प्रदीप यादव र स्वास्थ्य राज्यमन्त्री हसिना खान थिए। साथै यसअघि नेकपा (एमाले) ले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो। एमालेका ८ जना मन्त्रीहरूले पदबाट राजीनामा दिएका थिए। ती मन्त्रीहरूले दिएको राजीनामा असार २० गते स्वीकृत भएको थियो। ती मन्त्रालय प्रधानमन्त्री आफैले हेर्ने गरी राख्नुभएको छ ।

गत असार १७ गते नेपाली कांग्रेस र एमालेबीच राष्ट्रिय सहमतिको सरकार बनाउनेलगायत सहमति भएको थियो। लगत्तै एमालेले प्रधानमन्त्री दाहाललाई राजीनामा दिन भनेको थियो। तर प्रधानमन्त्रीले राजीनामा नदिएपछि एमालेले सरकार छाडेको हो। प्रधानमन्त्री प्रचण्डले संविधानको व्यवस्थाअनुसार यही असार २८ गते प्रतिनिधि सभामा विश्वासको मत प्रस्ताव राख्ने तयारी गर्नुभएको छ । कांग्रेस, एमालेले प्रधानमन्त्रीलाई विश्वास मत नदिने आ-आफ्नो संसदीय दल बैठकबाट निर्णय गराइसकेका छन्।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू