विभिन्न राजमार्गका २० ठाउँमा सडक अवरुद्ध रहेको छ । मनसुन भित्रिएपछिको बाढी तथा पहिरोका कारण राजमार्गको ३१ वटा सडकका दुई सय १५ ठाउँमा अवरुद्ध भएको थियो । जसमध्ये २० ठाउँका सडक अहिले पनि अवरुद्ध रहेका सडक विभागले जनाएको छ ।एक सय आठ ठाउँमा सडक एकतर्फी सञ्चालनमा रहेको छ । ८७ ठाउँको सडकबाट भने अबरोध हटाएर पूर्ण रूपमा सञ्चालनमा आएका छन् ।
अहिले तानसेन–रिडी कोरला खण्डको गुल्मी, महेन्द्र राजमार्गको कञ्चनपुर र मध्यपहाडी राजमार्गको डोटीमा सडक अवरुद्ध रहेको छ । कालीगण्डकी करिडोरको बागलुङ खण्डमा ३ दिनदेखि गाडी चलेका छैनन् ।यस्तै दैलेखको सियालमा कर्णाली राजमार्ग, कालीकोटको मोफ्ला बजार नजिक हुम्ला सडक, दैलेखको तालपोखरी नजिक दैलेख–नाम्चेनाम्ला सडक, कालिकोटको स्मोड र त्यसको नजिकै कर्णाली राजमार्ग अवरुद्ध छन् ।
धनकुटाको ओख्रेमा भेडेटार–रवि–राँके सडक, सिन्धुलीको कुदुलेमा मध्यपहाडी राजमार्ग, सिन्धुपाल्चोकको कोदारीमा अरनिको राजमार्ग र सङ्खुवासभाको समाटारमा कोशी राजमार्ग अवरुद्ध छन् ।केही ठाउँमा वर्षा कम भएकाले पहिरो पन्छाउने प्रयास भइरहेको विभागले जनाएको छ । कतिपय ठाउँमा भने वर्षा भइरहेकाले सडक खुलाउन केही दिन लाग्ने भएको छ । प्रहरीले यात्रा गर्नुअघि बाटोको अवस्था बुझ्न आग्रह गरेको छ ।