अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:५४ | Colorodo: 01:09

आरोहणमा थप ५७ हिमाल खुला गरिँदै

बिआरटीनेपाल २०८१ असार २४ गते ७:३० मा प्रकाशित

सरकारले थप ५७ हिमाल आरोहणका लागि खुला गर्ने भएको छ । पर्यटन विभागले विभागीय मन्त्रालयमा ५७ नयाँ हिमाल आरोहण खोल्ने गरी सिफारिस गर्न लागेको जानकारी दिएको छ । यसरी सिफारिस गर्न लागिएका हिमालमा ५ हजार मिटरबाट माथि ६ हजार ५ सय मिटरसम्म उचाइका छन् । विभागको सिफारिसमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यो प्रस्ताव मन्त्रिपरिषद्‍मा लैजाने छ । त्यहाँबाट स्वीकृत भएपछि हिमालहरू आरोहणका लागि खुला हुनेछ ।पर्यटन विभागले पूर्व ताप्लेजुङदेखि पश्चिम डोल्पा र हुम्लासम्मका विभिन्न चुचुरो आरोहणका लागि खुला गर्न लागिएको जनाएको छ । आरोहणयोग्य हिमाल क्रमशः खुला गर्दै जाने सरकारको नीति बमोजिम नयाँ हिमाल आरोहण खुला गर्न लागिएको हो । सरकारले चालु आर्थिक वर्ष २०८०/८१ को बजेटमा आरोहणयोग्य हिमाल क्रमशः खुला गरिने उल्लेख छ ।

बजेटको बुँदा नम्बर ७० मा यो नीति समेटिएको छ । सरकारले आरोहणलाई सगरमाथामा मात्र प्राथमिकता दिने गरेको र अन्य हिमाल प्रवद्र्धनमा ध्यान दिन नसकेको गुनासोबीच थप ५७ हिमाल आरोहण खुला गर्न लागिएको हो । पर्यटन विभाग निर्देशक राकेश गुरुङका अनुसार नेपाल पर्वतारोहण संघ (एनएमए) सँगको सहकार्यमा थप हिमाल खुला गर्ने गरी सूची छनोट गरिएको हो । ‘हिमाल प्रवर्द्धनमा निजी क्षेत्रको अनुभव छ, त्यसकारण एनएमएसँगको सहकार्यमा खुला गर्ने हिमाल छनोट गरिएको हो,’ गुरुङले भन्नुभयो। यसमा पहिलो आधार २०८०/८१ को नीति तथा कार्यक्रम र सरकारको ‘माइलस्टोन’ मा उल्लेख भएको कार्यक्रम पूरा गर्ने दायित्वलाई लिइएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू