नेपाली कांग्रेसको संसदीय दलको बैठकले कांग्रेस–एमालेबीच सत्ता सहकार्यका लागि भएको सम्झौता अनुमोदन गरेको छ। शनिबार नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बसेको संसदीय दलको बैठकले सत्ता सहकार्यका लागि एमालेसँग भएको सम्झौता अनुमोदन गरेको कांग्रेसका मुख्य सचेतक रमेश लेखकले जानकारी दिनुभयो।
उहाँले सञ्चारमाध्यममा आएजस्तो संविधान संशोधन सुझाव कार्यदलका लागि कुनै पनि व्यक्तिको छनौट नभएको जानकारी दिनुभयो। यसअघि सञ्चारमाध्यममा संविधान संशोधनका लागि पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठको संयोजकत्वमा सुझाव कार्यदल बनाउने कांग्रेस–एमालेबीच सम्झौता भएको सार्वजनिक भएको थियो। यस विषयमा अनौपचारिक छलफल भएरनभएको विषयमा भने लेखकले केही बताउनुभएन ।
असार १९ गते बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठनको सहमति अनुमोदन गरेको थियो।
