अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:५३ | Colorodo: 00:08

देशका धेरैजसो ठाउँमा भारी बर्षा, ठाउँठाउँका खोला र नदीमा बाढी

बिआरटीनेपाल २०८१ असार २३ गते ५:०९ मा प्रकाशित

देशका धेरैजसो ठाउँमा गएरातिदेखि लगातार ठूलो पानी परिरहेको छ । विशेष गरेर बाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका सबैजसो ठाउँमा ठूलो पानी परिरहेको छ । बारा, सिन्धुली, काभ्रे, काठमाण्डौ उपत्यका, मकवानपुर, चितवन, तनहुँ, लमजुङ, कास्की, गोरखा, प्युठान, गुल्मी, पाल्पा, अर्घाखाँची, रुपन्देही, कपिलवस्तु, स्याङ्जा, पर्वत, म्याग्दी, दाङ, बाँके, बर्दिया, कञ्चनपुरलगायतका जिल्लामा अहिले पनि भारी वर्षा भइरहेको छ ।

वर्षासँगै ठाउँ ठाउँमा बाढीले सतर्कता तह पार गरेको छ । पश्चिम राप्ती, बबई, नारायणी, कालीगण्डकी र कोशी नदीमा बाढी कतै सतर्कता तह र कतै खतराकै तहमा पुगेको छ । ललितपुरको खोकनामा बाग्मती नदी, सिन्धुपाल्चोकको नाकोटे र कपिलवस्तुको बनगाईमा कोइली नदी अहिले खतराको तहभन्दा माथि पुगेका छन् । विमलनगरमा मर्स्याङ्दी नदी, चितवनको देवघाट र नारायणी पुलमा नारायणी नदी, भक्तपुरको जगातेमा हनुमन्ते खोला, पर्वतको नयाँ पुलमा मोदी खोला र झापाको निन्दा खोला सतर्कता तहमा पुगेका छन् ।

अविरण वर्षाका कारण पर्साको वीरगञ्ज, दाङको देउखुरीसहित विभिन्न क्षेत्र डुबानमा परेका छन् । वीरगञ्ज महानगरपालिकाका छपकैया, घडिअर्वा, रानीघाट, श्रीपुर, नगवा, राधेमाईलगायतका ठाउँ डुबानमा परेका छन् । यस्तै दोलखाको गौरीशङ्कर गाउँपालिका–९ डोडाङमा बाढीमा परेर एक जना बेपत्ता भएका छन् भने तीन वटा घर बगेका छन् । गएराति रोल्वालिङ खोलाको बाढीले रोल्वालिङ पदमार्ग डोडाङमा होटल सञ्चालन गर्दै आएकी ६४ वर्षीया जाङ्मु शेर्पा सम्पर्कविहीन हुनुभएको गौरीशङ्कर–९ का वडाध्यक्ष निमा गेली शेर्पाले बताउनुभयो । वडाध्यक्ष शेर्पाका अनुसार बाढीबाट भएको क्षतिको विवरण सङ्कलन भइरहेको बताउनुभयो ।

यस्तै गुल्मीमा पहिरोमा पुरिएकी एक महिलालाई जीवितै उद्धार गरिएको छ । रुरुक्षेत्र गाउँपालिका ३ अन्र्तगत थोर्गाको ठाँटीमा आज बिहान स्थानीय उजेली विकको घर पहिरोले पुरेको हो । पहिरोले पुरिएकी ४० वर्षीया उजेली विकलाई स्थानीयवासीको सहयोगमा जीवितै उद्धार गर्न सफल भएको गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले जानकारी दिनुभयो । यस्तै भारी वर्षाका कारण पूर्वी नवलपरासीको केरुङे खोलाले झन्डै २५ बिघा खेतीयोग्य जमिन बगाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू